कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मुख्यमन्त्री पौडेलले भने राजधानी सर्दैन, ढुक्क हुनुस् 

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गृह जिल्ला मकनापुरवासीलाई प्रदेशको राजधानी नसर्ने भन्दै ‘ढुक्क हुन’ आग्रह गरेका छन् । 

मुख्यमन्त्री पौडेलले भने राजधानी सर्दैन, ढुक्क हुनुस् 

हेटौंडा उपमहानरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै उनले राजधानीबारे धेरै टीकाटिप्पणी जरुरी नभएको तर्क गरे । ‘अस्थायी राजधानी नै स्थायी हुने हो, राजधानी सर्दैन भन्ने कुरामा म विश्वस्त तुल्याउन चाहन्छु,’ नगरपालिकाका पूर्वमेयरसमेत रहेका पौडेलले भने, ‘कसैले राजधानी मागेको नै छैन, औपचारिक छलफलमा यो आएको नै छैन, हामीलाई चाहिन्छ भन्न र सार्नु हुँदैन भनेर धेरै हल्ला गर्नु आवश्यक छैन ।’ उनले भौतिक पूर्वाधार, संरचनामा धेरै खर्च भइसकेको भन्दै सबै हिसाबले हेटौंडा उपयुक्त भएको बताए ।


शनिबार धुलिखेल नगरपालिको कार्यक्रममा सहभागी भएका उनले काभ्रेमा राजधानी राख्नुपर्छ भन्ने माग पनि आएकाले विधि र प्रक्रियाबाट सबै कुरा टुंगिने कुरा राखेको बताए । ‘केही साथीहरूको कुरा काभ्रेमा राजधानी सार्नुपर्छ भन्ने रह्यो,’ पौडेलले भने, ‘संविधानमा भएको व्यवस्थाअनुसार विधि, प्रक्रियाबाट सबै कुरा टुंगो लाग्छ भन्ने कुरा राखेको छु ।’ ‘मु्ख्यमन्त्रीसँग राजधानी साट्यो भनेर भ्रम फैलाउनेहरू नै यहाँ राजधानी राख्न चाहँदैनन्,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘प्रदेशको राजधानी र मुख्यमन्त्री फरक/फरक विषय हो ।’


प्रदेशको अधिकार र स्रोत नै अस्पष्ट भएको भन्दै केही समय ऐनकानुन निर्माणमा समय खर्च हुने बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा विकास निर्माणका काम अघि बढ्ने दाबी गरे । उनले कर्मचारीले प्रदेशमा काम गर्न नचाहेको स्विकार्दै सिंहदरबारकै ‘पेरिफेरी’मा काम गर्ने मानसिकतामा रहेको आरोपसमेत लगाए । केन्द्रीय राजधानीसहितको प्रदेश भएकाले चुनौती र अवसर दुवै रहेको भन्दै उनले नमुना प्रदेशका रूपमा विकास गर्ने अठोट व्यक्त गरे । उपलब्ध स्रोतको अधिकतम उपयोग गरेर प्रत्येक जिल्लामा नमुना सहर बसाउने उद्घोषसमेत गरेका छन् । उनले सरकारले खटाएका १० प्रतिशत कर्मचारीहरू पनि प्रदेशको मन्त्रालयमा नआएकामा आक्रोश व्यक्त गरेका थिए ।


उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हेटौंडालाई देशकै उत्कृष्ट नगर बनाउने अठोट गरे । उपप्रमुख मीना लामाले प्रदेशस्तरीय नमुना सहर निर्माणको अवसर हेटौंडाले पाउने विश्वास व्यक्त गरिन् । उक्त नगरसभामा उपमहानगरपालिकाको कार्यपालिका बैठकले गठन गरेको कानुन मस्यौदा समितिबाट पारित ५ विधेयक निर्णयार्थ लामाले प्रस्तुत गरेकी थिइन् ।


प्रस्तुत विधेयकमा सहकारी विधेयक २०७४, कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७४, न्यायिक समिति कार्यविधि विधेयक २०७४, शिक्षा विधेयक २०७४ र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक रहेका छन् । उपमेयर लामाले पहिलो नगरसभाबाट स्वीकृत विनियोजन ऐन २०७४ मा उल्लेख भएअनुसारका केही खर्च शीर्षकहरूका विनियोजन भएको रकम अपुग भएको, केही शीर्षकको रकम सबै खर्च नहुने भएकाले बजेट रकमान्तर गर्न नगरसभामा प्रस्तुत गरेकी थिइन् । विधेयकका मस्यौदा र बजेट रकमान्तर गर्नेबारे छलफल गर्न मंगलबार नगरसभाको बैठकको मिति तोकिएको छ


पदवहाली गर्न कर्मचारी छैनन्

प्रदेश ३ मन्त्रिपरिषद् विस्तार कम्तीमा २ साता पर धकेलिएको छ । प्रदेश प्रमुख अनुराधा कोइराला फागुन १८ गतेसम्म स्वास्थ्य उपचारका लागि भारतमा रहने भएपछि सरकार विस्तारसमेत प्रभावित हुने भएको हो । प्रदेश प्रमुखले नै शपथ ग्रहण गराउनुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तार भए पनि मन्त्रीहरूले पदबहाली गर्न पाउनेछैनन् । फागुन ६ गतेदेखि बिदा बसेकी कोइराला ७ गते भारत प्रस्थान गर्नेछिन् ।


कोइरालाका स्वकीय सचिव शशांकश्री न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फागुन १८ गतेसम्म बिदा स्वीकृत गराएर स्वास्थ्य उपचारका लागि जान लागेको जानकारी दिए । ‘उहाँ १८ गते मात्रै फर्कनुहुन्छ, पेटसम्बन्धी समस्याको उपचारका लागि जान लाग्नुभएको हो,’ उनले भने, ‘प्रदेश प्रमुख नियुक्त हुनुअघि पनि उपचारकै क्रममा हुनुहुन्थ्यो, फेरि समस्या देखिएकाले उपचारका लागि जाँदै हुनुहुन्छ । प्रदेश ३ मा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले मात्रै शपथ लिएर पदबहाली गरेका छन् ।


माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री जमरकट्टेलले चाँडै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे । ‘मन्त्रिपरिषद् विस्तार चाँडै नै हुन्छ,’ उनले भने, ‘गठबन्धनमाा पनि छलफल भइरहेको छ, आआफ्नो पार्टीमा छलफल गरेर टुंग्याउने कुरा भएको छ ।’ प्रदेश सरकारका अधिकारबारे संविधानमा स्पष्ट व्यवस्था भएको भन्दै व्यवस्थापकीय काम सकाएर कानुन निर्माणमा लाग्ने दाबी गरे ।


मन्त्रालयमै कर्मचारी अभाव

कर्मचारी अभावका कारण पनि मन्त्रिपरिषद् विस्तार प्रभावित हुने देखिएको छ । केही मन्त्रालयमा सचिव नै आएका छैनन् भने सचिव भएका मन्त्रालयमा पनि कम कर्मचारी कार्यरत छन् । ‘मन्त्रालय व्यवस्थापन गर्न नै समस्या भयो,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘मन्त्रिपरिषद् विस्तार भएर पदबहाली भइहाले काम गर्ने कर्मचारी छैनन् ।’ सामान्य प्रशासन मन्त्रालयले तत्कालका लागि १ सय ७ कर्मचारी खटाएकामा ३० जना मात्रै कार्यरत छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ४१, आर्थिक मामिला तथा योजना विकासमा १८, भौतिक पूर्वाधार विकासमा २४, सामाजिक विकासमा ३०, उद्योग, पर्यटन तथा वन वातावरणमा २९ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दी भए पनि अधिकांश कर्मचारी हाजिर भएका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, मुख्यमन्त्री कार्यालयमा ८, आन्तरिक मामिलामा ४, आर्थिक मामिलामा ३, उद्योगमा ६ र भूमि व्यवस्थापन मन्त्रालयमा ५ र संसद् सचिवालमा ४ जना कर्मचारी मात्र कार्यरत छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?