आत्मविश्वास फर्काउँदै कृत्रिम आँखा

स्थायी कृत्रिम आँखा प्रत्यारोपण गरेकाले हरेक वर्ष फलोअप उपचारका लागि अस्पताल पुग्नुपर्ने हुन्छ
फातिमा बानु

काठमाडौँ — जन्मँदै उनको एक मात्र आँखो थियो । अर्को आँखाका परेला मात्रै देखिन्थे । भक्तपुरका १९ वर्षीय एक युवाका लागि हुर्कंदै जाँदा बिग्रिएको आँखा प्रगतिको बाधक बन्यो । भन्छन्, ‘स्कुल पनि कहिलेकाहीँ मात्रै जान्थें, साथीहरूसँग कहिल्यै खेलिनँ ।’

उनी हिँडदा पनि कसैले देखिहाल्छ कि भनेर निहुरेर हिँड्थे । कलेज पनि भर्ना भए । पढ्न गएनन् । जब उनले कृत्रिम आँखा प्रत्यारोण गरे, जीवन बदलियो । अघिल्लो वर्ष मात्रै उनले तिलगंगा आँखा अस्पतालमा कृत्रिम आँखा हालेका हुन् ।

भन्छन्, ‘अब आत्मविश्वास पलाएको छ, सधैं पढ्न जान्छु, साथीहरूसँग पनि समय बिताउँछु ।’ उनी जस्तै एउटा आँखा बिग्रिएको वा फुटेको र दृष्टिविहीन हजारौंका लागि कृत्रिम आँखा प्रत्यारोपणको प्रविधि आत्मविश्वास र प्रेरणाको कारण बनेको छ । कृत्रिम आँखा दुई थरीका हुन्छन्, रेडिमेट र स्थायी । रेडिमेट आँखा बजारमा तीन सयदेखि एक हजार रुपैयाँमा किन्न पाइन्छन् । स्थायी कृत्रिम आँखा भने अस्पतालका विशेष प्रयोगशालमा बन्ने पशुपतिस्थित तिलगंगा आँखा प्रतिष्ठानको कृत्रिम आँखा विभागका प्रमुख कुमार श्रेष्ठले बताए ।

भन्छन्, ‘एउटा आँखा बनाउन तीन दिन लाग्छ, बिरामी तयार भएपछि मात्रै बनाउन सुरु गर्छौं ।’ यसका लागि १० हजार रुपैयाँसम्म लाग्छ । रेडिमेट आँखाले भने धेरैखाले समस्या ल्याउन सक्ने प्रतिष्ठानका आँखा विशेषज्ञ डा.बेन लिम्बूले बताए । भन्छन्, ‘सबै बिरामीको आँखा अनुसार साइज मिल्दैन, आँखामा चिप्रा लागिरहन्छ, दैनिक निकाल्नुपर्छ, तीन महिनामा आफैं फुटेर जान्छ ।’ यस्ता समस्याका कारण बिरामी रेडिमेट लगाएको केही दिनमै निकाल्न आउने गरेको डा. लिम्बू बताउँछन् ।

स्थायी आँखा भने कृत्रिम हो भनेर अरूले ठम्याउन पनि नसक्ने केही बिरामीहरूले आफ्नो अनुभव सुनाए । स्थायी कृत्रिम आँखा प्रत्यारोपण गरेकाले हरेक वर्ष फलोअप उपचारका लागि अस्पताल पुग्नुपर्ने हुन्छ । अधिकांश बिरामी फलोअप उपचारका लागि नआउने गरेको डा. लिम्बू बताउँछन् । ‘सफा नगर्दा फोहोर जमेर संक्रमण हुन्छ, आँखै बिग्रिएपछि मात्रै आउँछन्,’ उनले भने । प्रतिष्ठानले विगत ७ वर्षदेखि कृत्रिम आँखा प्रत्यारोपणको सेवा दिँदै आइरहेको छ ।

नेपालमा केही निजी अस्पतालबाहेक सरकारी अस्पतालमा कृत्रिम आँखा प्रत्यारोपण प्रविधि भित्रन सकेको छैन । यसबारे जनचेतना पनि निकै कम छ । अर्धदृष्टिविहीनहरू थाहा नभएकै कारण फर्किन सक्ने आत्मविश्वास गुमाएर बसेका छन् । प्रतिष्ठानबाट ७ वर्षको अवधिमा ३ हजार २ सय ९४ ले कृत्रिम आँखा प्रत्यारोपणका लागि परामर्श लिए । जसमध्ये दुई हजार चार सय ५६ ले स्थायी कृत्रिम आँखा प्रत्यारोपण गरेका छन् भने करिब पाँच सयले रेडिमेट आँखा लगाएका छन् ।

सन् २०१७ मा मात्रै प्रतिष्ठानबाट सात सय ८१ जनाको आँखा प्रत्यारोपण भएको छ । प्रत्यारोपणको खर्च धान्न नसक्ने बिरामीका लागि प्रतिष्ठााले नि:शुल्क सेवा पनि दिने गरेको छ । हालसम्म प्रतिष्ठानबाट १७ जनाले नि:शुल्क आँखा प्रत्यारोपण सेवा लिएका छन् । प्रतिष्ठानमा दैनिक १० जना आँखा प्रत्यारोपणबारे सेवा लिन आइपुग्ने गरेको विभागका प्रमुख श्रेष्ठले बताए । प्रतिष्ठानले भने सातामा ६ जनाको मात्रै कृत्रिम आँखा प्रत्यारोपण गर्ने गरेको छ ।

श्रेष्ठ भन्छन्, ‘ल्याब सानो छ, दक्ष जनशक्ति पनि कम छन्, आए जतिलाई सेवा दिन सकिएको छैन ।’ कसैले त दुर्घटना र आँखाको क्यान्सरका कारण आँखासहित आधा गाला पनि गुमाएका छन् । त्यस्ता बिरामीका लागि कृत्रिम छालासहित आँखा प्रत्यारोपण गर्न सकिने श्रेष्ठ बताउँछन् ।

‘यस्तो सेवा पनि सुरु गर्ने योजना छ, तालिमका लागि अस्पतालकै जनशक्ति विदेश पठाउनुपर्ने छ,’ उनले भने । नेपालमा दृष्टिविहीनका कारणबारे खासै अध्ययन गरिएको छैन ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?