महिला टेम्पो चालकलाई अझै असहज

विद्या राई

काठमाडौँ — कलंकीकी ३७ वर्षीया रूपा गिरी खड्काले सफा टेम्पो चलाउन थालेको डेढ दशक भयो । सुमित्रा दंगालले खुला मञ्चमा सिकाएको देखेर रहर जागेको थियो, उनलाई । उनका बुवा सानैमा बितेका थिए । दाजुबाट ७ हजार रुपैयाँ खर्च पाएपछि सिक्ने अवसर मिलेको थियो । महिलाले चालक बन्नु ‘फलामको चिउरा चपाउनु’ सरह थियो । आरएनएसी त्रिपुरेश्वर कालिमाटी छाउनी स्वयम्भू रुटमा टेम्पो चलाउने उनी एक मात्र महिला चालक थिइन् । अन्य रुट गरेर ७ महिला चालक थिए ।

महिला टेम्पो चालकलाई अझै असहज

सुरुका वर्षमा पुरुष चालकले हेप्थे । ट्राफिक प्रहरीले नियतबस अपशब्द बोल्थे । चालक भएको भनेर समाजले कुरा काट्थ्यो । ‘महिला चालक भएर बिक्न गाह्रो हुन्छ भन्ने गर्थे, महिलाले चलाएको रहेछ भनेर टेम्पोमा चढेका यात्रु पनि ओर्लन्थे,’ उनी आफ्ना संघर्ष दिन सम्झन्छिन् । मिहिनेत र निरन्तरताले गर्दा टेम्पो चालक अचेल पेशा बनेको छ, उनका लागि र उनी जस्तै धेरै महिलाका लागि । चालकको काम गर्दागर्दै उनको विहे भयो ।

उनका पति माइक्रो चलाउँछन्, ८ र ५ वर्षका दुई छोरा छन् । छोरालाई आफ्नै कमाइबाट बोर्डिङमा पढाएका छन् । ‘दुईचार पैसाका लागि कसैलाई माग्न परेको छैन, बच्चाको फी तिर्न पतिको भर पर्नुपरेको छैन,’ उनी गर्वका साथ भन्छिन् । बिहे भएपछि घरपरिवारले पेसा छाड्न आग्रह नगरेका पनि होइनन् । परिवार, समाज र कार्यक्षेत्रसँग संघर्ष गर्नुपरेको बताउँछिन् । उनी चालकमा प्रवेश गर्दा महिला र पुरुषलाई तलबमा समेत विभेद थियो ।

सुरुमा साहुको टेम्पो चलाउँथिन् । अचेल आफ्नै टेम्पो छ । पतिले चलाएको माइक्रो पनि आफैले किनेका हुन् । टेम्पो चलाएर उनी एक्लैले महिनामा ५० हजार रुपैंयासम्म कमाइ गर्छिन् । ‘पहिले माटोको सानो घर थियो, पक्की घर बनाएका छौँ, यसै पेसाबाट,’ आफ्नो फेरिएको जीवनशैलीबारे उनी भन्छिन् । महिला भएर पनि दृढताका साथ काम गरेको, यात्रुको सेवा गरेको भनी समाज कल्याणले सम्मानसमेत गरेको थियो । सबैभन्दा खुसीको क्षणका रूपमा उनी सम्झन्छिन्, उनी यसलाई ।

दाङकी २९ वर्षीया विष्णु रोका सीतापाइला बसेर टेम्पो चलाउँछिन् । दुई वर्ष भयो उनले टेम्पो चलाउन थालेको । उनको रुट आरएनएसी–सीतापाइला हो । दैनिक यसै रुटमा टेम्पो चलाउन व्यस्त भेटिन्छिन् । महिलाले चालकको काम गर्न थालेको वर्षौं बिते पनि उनको पालामा पनि लैंगिक विभेद कायमै छ । पुरुष चालक, ट्राफिक प्रहरी र समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको उनको अनुभव छ । घरको आर्थिक अवस्था कमजोर थियो, दुई कक्षाभन्दा बढी पढ्न पाइनन् ।


उनको १७ वर्षकै उमेरमा विवाह भयो । आयस्रोत केही थिएन् । छोराछोरी जन्मिए । पति भारत गएका थिए । परिवारले छुट्टाएर एक्लै बसेकी थिइन्, छोराछोरी हुर्काएर । पतिसँगको सम्बन्ध पनि राम्रो थिएन । उनी ८ वर्षअघि छोराछोरीलाई माइती दोलखामा छोडेर काठमाडौं आइन्, केही गर्ने ईख लिएर । काठमाडौं उनका लागि सपनाको सहर थियो । कमाउनुपर्ने बाध्यता थियो । बालुवा चालिन्, सिमेन्ट राखेर मसला घोलिन्, रंग लगाइन्, ज्यामी काम गरिन् ।

‘बाँसको खट चढेर पनि रंगको काम गरेको थिएँ, तर सधैं काम पाइँदैनथ्यो, महिलाले पनि टेम्पो चलाएको देख्थें । मलाई पनि चलाउने रहर भयो,’ उनलाई जुनसुकै काम गर्ने इच्छा हुन्छ भन्छिन्, ‘ज्यामीको काम गर्दा पुरुषले मिस्त्रीको काम गर्थे । महिलाले छुन हँुदैन भन्थे । उनीहरू काम छोडेर खाजा खान गएको बेला मिस्त्रीको काम गर्न समेत सिक्थें ।’ अचेल बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म व्यस्त हुन्छिन् । मजदुरीको कमाइले माइतमा बस्दै आएका १२, ११ र ९ वर्षका छोराछोरीको पढाइ खर्च धानेकी छन् ।

चालकको कामलाई पहिले पुरुषले मात्रै गर्न सक्ने काम भनिन्थ्यो । महिलाले चालक बन्छुभन्दा मात्रै पनि घृणाले हेरिन्थ्यो । महिलाले चाहँदा परिवार, समाज र कार्यक्षेत्रमा संघर्ष गरेर जीवनशैली फेर्न सक्छन् भन्ने गतिला उदाहरण हुन् खड्का र रोका । एक सेट चलाउँदा मासिक ६ हजार रुपैंया तलब पाउँछन् । एक दिन चलाएपछि साहुलाई ४ सय १० बुझाउनुपर्छ । कहिलेकाही एक ट्रिपमा ६ सयसम्म कमाइ हुन्छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बाग्मती अञ्चलका सचिव तथा सफ टेम्पोका संयोजक कमल सापकोटाका अनुसार महिलालाई काम गर्न र अर्थोपार्जनमा टेवा पुगेको छ । ‘एकल महिला, दु:ख भोगेकाहरूलाई राहत मिलेको छ, यही आश्रयबाट बालबच्चा पढाएका छन्,’ उनले भने । सफा टेम्पो समितिका अनुसार अनुसार काठमाडाै‌ र ललितपुरमा ७ सय २० टेम्पो चल्छन् । चालक एक हजार छन् । पुरुष चालक ६ सय ५० र महिला चालक ३ सय ५० छन् ।

महिला चालक मैत्री बनाउन सफा टेम्पोको अवधारणा ल्याइएको थियो । महिला चालकलाई हेर्ने दृष्टिकोण अझै फेरिएको छैन । महिला चालकका अनुसार सफा टेम्पो विद्युत्बाट चल्ने भएका कारण दिनभर करेन्टसँगै काम गर्नुपर्छ । करेन्टले गर्दा कमजोरी हुने, पाठेघरको समस्या, धुलोधुवाँले किड्नीको समस्या हुने गर्छ । ब्रेक लगाइरहनुपर्ने कारण घुँडा दुख्ने हुन्छ । महिनावारी भएको बेला धेरै गाह्रो हुन्छ । कतिपय रुटमा सार्वजानिक शौचालय छैनन्, सीतापाइलादेखि स्वयम्भू पुग्दा निक्कै समस्या छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?