२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

निर्माण नसकिँदै भाँच्चियो लार्चाको पुल

अनिश तिवारी

सिन्धुपाल्चोक — सीमावर्ती क्षेत्र तातोपानी जोड्ने लार्चाको बेलीब्रीज निर्माण कार्य नसकिँदै भाँचिएको छ । भदौदेखि सुरु गरिएको बेलीब्रीज निर्माण अन्तिम चरणमा पुग्ने क्रममा मंगलबार दिउँसो भाँच्चिएको हो । पुलको दुवैतर्फको फाउन्डेशनको काम आधा सकेर ब्रिज हालिँदै थियो ।

निर्माण नसकिँदै भाँच्चियो लार्चाको पुल

वारिपट्टिको बेलीब्रीजमा अत्यधिक र पारि कम ब्रीज हालिएकाले बेलीब्रीज लच्किएर बीचैमा भाँचिएको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए । ‘इन्जिनियर र ठेकेदारको बेवास्ताले यस्तो हुन गएको हो,’ प्रमुख पौडेलले भने, ‘ निर्माण कार्यमा निगरानी राख्दाराख्दै ठेकेदारको लापरबाहीले गर्दा यस्तो हुन गयो ।’


प्रमुख पौडेलले बेलीब्रीज राख्ने फाउन्डेशनको जगमा ढुंगाको कमजोर पर्खाल लगाइएकाले दाँयापट्टिको बेलीब्रीजमा चरम लापरबाही गरिएको सुनाए । निर्माणको चरणमा थोरै समस्या आएकाले पुल भाँचिएको ठेकेदार बन्धन भगवती निर्माण कम्पनीका प्रमुख मुकेश पन्तले बताए । उनले मापदण्डअनुसार बेलीब्रीज निर्माण गरिए पनि वारिपारिको ब्रीज सन्तुलन नमिलेकाले बेलीब्रीज भाँच्चिन गएको हो ।


साता दिनअघि बेलीब्रीज जोड्ने दुवैतिर गाह्रौं ढुंगा चाङ लगाएर कमजोर पर्खाल बनाएको पाइएपछि स्थानीयले निर्माण कार्यको विरोध गरेका थिए । दुई करोडबराबरको लागतमा आर्थिक अभावको कारणले पुल निर्माणले गति नपाएको ठेकेदार पन्तले बताए । पाङ्सेर्पु पहाड खसेर ध्वस्त भएको ९० मिटर लामो लार्चा मोटरेवल पुलको स्थानमा ५० मिटरको बेलीब्रीज निर्माण गरिँदै थियो । अहिले भत्किएको पुल पुनर्निर्माणको लागि थप रकम लाग्ने देखिएको छ ।


डिभिजनका इन्जिनियर र ठेकेदारले वास्ता नगरेकाले बेलीब्रीज निर्माणमा सुस्तता र फाउन्डेशन वाल कमजोर लगाएकाले बेलीब्रीज क्षतिग्रस्त भएको स्थानीयको आरोप छ । अरिनको राजमार्गअन्तर्गतको बाह्रबिसे बजार हुँदै ओमपार्क जोड्ने ग्रामीण सडक ग्राभेल र कालोपत्रे गनुपर्ने ठेक्का पाएकाले ठेकेदार उतै व्यस्त भएको स्थानीयको भनाइ छ ।

बेलीब्रीज बिम राख्न लगाइएको वाल पर्खालको संरचना निकै कमजोर निर्माण गरिएको छ । प्लम कंक्रिट पर्खालमा मापदण्डविपरीत ठूला ठूला ढुंगा आपसमा जोडेर जग उठाइएकाले पुलको बिम राखिने भाग कमजोर हुने देखिएको छ । गारोमा सिमेन्ट र गिट्टीको मात्रा मिलाएर ढुंगाको लेयर छापिएको छैन ।

सीमापारि जोड्ने लार्चा मोटरेवल पुल निर्माणमा भएको मनमौजीका कारण कमजोर पुलले गाडीको भार थाम्न नसक्ने कार्यरत इन्जिनियरको भनाइ छ । ‘नाका खुलेर सडक सञ्चालनमा आएलगत्तै संरचनानुसारको पक्की मोटरेवल निर्माण हुनेछ, तत्कालैको लागि बेलीब्रीज निर्माण भएको हो ,’ एक इन्जिनियरले भने ।


बेलीब्रिज निर्माणमा ढिलाई भएपछि भोटेकोसी हाइड्रोपावर कम्पनीले हिमपाइप प्रयोग गरेर अस्थायी रुपमा गाडी वारपार गर्ने व्यवस्था गरिरहेको छ । पाङ्सेर्पु पहाड खसेर लार्चा मोटरेवल पुल भासिएपछि केही समय तुइनद्वारा आउजाउ गरिएको थियो । स्थायी रुपमा यातायात चलाउन बेलीब्रीज निर्माण कार्यमा भएको ढिलाइले समस्या भइरहेको छ ।


प्रकाशित : फाल्गुन ८, २०७४ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?