कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले फागुनको १२, १३ र १४ गते देशका २४ जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउने भएको छ । सरकारले आम औषधि कार्यक्रमअन्तर्गत रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष यो रोगको औषधि खुवाउँदै आइरहेको छ ।

यसका लागि यस वर्ष ३८ करोड ३५ लाख २१ हजार बजेट विनियोजन गरेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले आम औषधि सेवनमार्फत सन् २०२० सम्ममा विश्वलाई हात्तीपाइले रोगमुक्त बनाउने लक्ष्यका साथ काम गरिरहेको छ । संसारका ७१ हात्तीपाइले रोग संक्रमित देशमध्ये १९ देशबाट यो रोग उन्मूलन भइसकेको छ । संगठनको तथ्यांकअनुसार विश्वका ५२ देशका करिब ८६ करोड मानिस यो रोगको जोखिममा छन् । सन् २००० सम्म करिब १२ करोड हात्तीपाइले संक्रमित र ४ करोड व्यक्ति यसैका कारण अंगभंग भइसकेका छन् ।


यो रोग पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । शरीरमा परजीवी प्रवेश गरेर लक्षण देखिन थालेपछि भने निको पार्न सकिँदैन । यसले शारीरिक रूपमा अशक्त र कुरूप पनि बनाउँछ जसका कारण बिरामीहरू सामाजिक विभेद समेत खेपिरहेका छन् ।


हात्तीपाइले देशभर जनस्वास्थ्यको रूपमा देखिएपछि सरकारले वर्षको एकपटक गरेर ६ वर्षसम्म लगातार औषधि खुवाउँदै आइरहेको छ । विश्वभर करिब ५० करोड मानिसले यो रोगको पूर्ण उपचार पाएका छन् भने हालसम्म ६७ अर्बले हात्तीपाइलेको औषधि खाइसकेका छन् । नेपाल लगायत दक्षिणपूर्वका मुलुकहरू यो रोगको जाखिममा रहेको महाशाखाका प्रमुख डा. भीम आचार्यले बताए । नेपालका ३७ जिल्लामा भने यो रोगको औषधि सेवन अभियान पूरा भइसकेको उनले बताए । हात्तीपाइले रोगको औषधि सेवनबारे समुदायमा गलत धारणा उब्जिएका कारण अभियान पूरा गर्न चूनौती थपिरहेको उनी बताउँछन् । भन्छन्, ‘शिक्षित व्यक्ति नै औषधि खान मान्दैनन्, सहरी क्षेत्रमा औषधि सेवन प्रगति न्यून छ ।’ उनले भने । औषधि खुवाउन घरदैलोमा पुग्ने स्वास्थ्यकर्मीमाथि समेत दुव्र्यवहार हुने गरेको छ ।

हात्तीपाइलेको औषधि खाँदा शरीरमा सामान्य फेरबदल देखिए तापनि केही घण्टामा हराएर जान्छ । यसको कुनै दीर्घकालीन असर नहुने डा. आचार्य बताउँछन् । केही भइहालेमा आकस्मिक उपचारका लागि स्वास्थ्यकर्मी खटाइएको उनले बताए । शरीरमा धेरै परजीवी भए औषधि खाँदा टाउको दुुख्ने, वाकवाकी लाग्ने अथवा पेट दुख्ने सामान्य समस्या देखिन सक्छ । गर्भवती, सुत्केरी, जन्डिस, कलेजोका दीर्घरोगी, सिकिस्त बिरामी, छारे रोग, मुटु रोग, मृगौला जस्ता कडारोगी र पाँच वर्षमुनिका बालबालिकाले भने यो औषधि खान नहुने भनिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?