प्रतिमूर्ति संग्रहालय बन्ने

कान्तिपुर संवाददाता

भक्तपुर — विश्वप्रसिद्ध पशुपतिनाथको मन्दिरबाट सन् १९८३ मा आठौं शताब्दीको उमामहेश्वर मूर्ति चोरी भयो । सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीका अनुसार त्यो मूर्ति अमेरिकाको एक म्युजियममा सजिएको छ ।

प्रतिमूर्ति संग्रहालय बन्ने

हालसम्म उमामहेश्वरको मूर्ति फिर्ता गर्न सकिएको छैन । पुरीले मूर्तिको प्रतिमूर्ति बनाएर ‘द ह्यारिटेज ग्यालरी’ मा राखेका छन् । काठमाडौं भगवान बहालबाट सन् १९८२ मा १२/१३ औं शताब्दीको बासुकी नागको मूर्ति चोरी भयो ।


उक्त मूर्ति पाश्चात्य मुलुकको कुनै एक संग्रहालयमा सजिएर बसेको उनी बताउँछन् । करिब ३६ वर्षअघि चोरी भएको बासुकी नागको प्रतिमूर्ति बनाएर सोही ग्यालरीमा राखेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरबाट सन् १९८२ मा १५ औं शताब्दीको सूर्यको मूर्ति चोरी भयो । सांस्कृतिक जीवनसँग जोडिएको सूर्यको मूर्ति खोजीको विषय कहिल्यै बनेन । विभिन्न स्रोत जुटाएर सम्पदा संरक्षणकर्मी पुरीले भने त्यस मूर्तिको प्रतिमूर्ति तयार गरेका छन् । यस्तै देउपाटनबाट ७ औं शताब्दीको भक्तिनीको मूर्ति सन् १९८५ मा चोरी भयो ।


त्याृ मूर्ति कुनै विदेशी संग्रहालयमा संगृहीत छ । करिब ३३ वर्षअघि चोरी भएको मूर्तिको प्रतिमूर्ति बनिसकेको बताउँदै पुरीले नेपालबाट चोरी भएका हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित ५० मूर्तिको प्रतिमूर्ति बनाएर संग्रहालयमा राख्ने तयारी गरेको बताए । नेपालबाट चोरी भई विदेशी संग्रहालयमा संगृहीत मूर्ति फिर्ता गर्ने, मूर्ति चोरी रोक्ने/संरक्षण गर्ने, सम्पदा जोगाउन जनचेतना फैलाउनका लागि हराएका मूर्तिको प्रतिमूर्तिको ‘म्युजियम अफ स्टोलन आर्ट’ संग्रहालय स्थापना गर्न लागेको सम्पदा संरक्षणकर्मी पुरीले बताए ।


संग्रहालयमा मूर्तिको इतिहास, कहिले चोरी भयो, मूर्तिसँग जोडिएको मानवीय धर्म तथा आस्थालाई सजीवता दिने उनको आशा छ । ‘चोरी भई विदेशी भूमि पुगेका मूर्तिको प्रतिमूर्ति संग्रहालयमा देखेपछि कुनै पनि नेपालीका आँखा नरोओस्,’ उनले भने, ‘संग्रहालय छिरेर फर्केपछि सम्पदा र संस्कृति जोगाउने भावना पैदा हुनेछ ।’ प्रतिमूर्ति सम्पदा जोगाउने अभियान भएको समेत उनले बताए । पुरीले ७ कालिगढ राखेर चोरी भएका मूर्तिको प्रतिमूर्ति तयार गरिरहेका छन् ।


नेपाल कला र सम्पदाकै धनी देश भएको र विगत केही दशक अघिदेखि नेपालको यही ऐश्वर्यमाथि निरन्तर हस्तक्षेप भइरहेको उनी बताउँछन् । ‘जसरी नेपालका बहुमूल्य कला आधारित पुरातात्त्विक सामान मूर्ति, हस्तलिखित ग्रन्थ धमाधम

चोरी भइरहेका छन्, यसले सम्पदा रित्तिने नै डर छ,’ उनले भने, ‘यसलाई केवल सामान्य चोरी मात्र मान्न सकिँदैन ।’ कला, संस्कृति र सम्पदासँग निथ्रुक्कै भिजेको दैनिक जीवनशैलीकै चोरी भइरहनु दु:खद् भएको उनको गुनासो छ ।


संग्रहालय, राष्ट्रिय अभिलेखालय जस्ता स्वयं जिम्मेवार निकायभित्रैबाट दिनदहाडै यस्ता पुरातात्त्विक कला र सम्पदाको चोरी भएका प्रमाणको आधारमा प्रतिमूर्ति तयार गरी संग्रहालयमा प्रदर्शन गर्ने जनाएको छ ।


पुरातात्त्विक कला र सम्पदाको चोरी रोक्न ‘रवीन्द्र पुरी फाउन्डेसन’ को पहलमा प्रतिमूर्ति बनाइरहेको फाउन्डेसनका अध्यक्षसमेत रहेका पुरी बताउँछन् । उक्त संग्रहालयका लागि सन् २०१८ भित्र सबै प्रतिमूर्ति तयार हुने जनाइएको छ । कालिगढले हालसम्म २६ मूर्ति तयार गरिसकेको उनले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?