३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फोहोर पानी व्यवस्थापन केन्द्र निर्माण हुँदै

दैनिक १० करोड १० लाख लिटर प्रदूषित पानी प्रशोधन गरिने 
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले उपत्यकाका १८ नगरपालिकाको घरबाट उत्पादन भएको फोहोर पानी विर्षजनका लागि ४ फोहोर पानी प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ । प्रत्येक दिन उपत्यका नदी र खोला प्रदूषित हुँदै गएको उल्लेख गर्दै दैनिक १० करोड १० लाख लिटर पानी प्रशोधन गरेर नदीमा विसर्जन गर्न ती प्रशोधन केन्द्र निर्माण गरिने आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक त्रिरेशप्रसाद खत्रीले जानकारी दिए । 

‘प्रदूषित पानीको व्यवस्थापन गरेर, मृत अवस्थामा पुगेका नदीनालालाई पुनर्जीवन दिन सकिन्छ,’ उनले भने, ‘त्यसकारण प्रशोधन केन्द्र विस्तृत अध्ययन भइरहेको छ ।’ सन् २०१३ देखि एसियाली विकास बैंक र ओपेकको ऋण सहयोगमा काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना सञ्चालन भइरहेको उनले बताए । आयोजनाको अनुमानित लागत १४ अर्ब रुपैयाँ रहेको छ ।


कुल १८ नगरपालिकालाई समेट्ने गरी हनुमन्ते, मनोहरा, खस्याङखुसङ खोलामा इन्टरसेप्टर ढल निर्माण पनि भइरहेको उनले बताए । ‘नदीका दुवै किनारमा इन्टरसेप्टर ढल बिछ्याउने कार्य भइरहेको छ,’ उनले भने, ‘४५ किमि लामो इन्टरसेप्टर ढल निर्माण हुँदै छ ।’


यी इन्टरसेप्टरबाट ४ स्थानमा निर्माण भइरहेका फोहोर पानी प्रशोधन केन्द्रमा प्रदूषित पानी मिसाइनेछ । भक्तपुरको सल्लाघारी, ललितपुरको कोडकु, धोवीघाट र गुह्येश्वरीमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । नदीको पर्यावरण सन्तुलन र जनस्वास्थ्यमा सुधार ल्याउन प्रत्यक्ष भूमिका खेल्ने भन्दै प्रमुख खत्रीले सन् २०१९ को जुन सम्ममा सबै प्रशोधन केन्द्रको निर्माण सम्पन्न हुने बताए ।


प्रशोधन केन्द्र वातावरण मैत्री हुने भन्दै उनले वरपर बोटविरुवा तथा फूलहरू रोपिने बताए । पानी जम्मा हुने स्थानलाई सिमेन्टको ढलानले छोपिने र वर्षातको समयमा हुने ओभरफ्लो पानीका लागि अतिरिक्त पानी सञ्चय गर्ने पर्याप्त ठाउँ पनि बनाइने उनले बताए ।


प्रत्येक प्रशोधन केन्द्रको क्षमता अलगअलग रहेको भन्दै उनले उपत्यकाका अन्य स्थानमा पनि प्रदूषित पानी प्रशोधन केन्द्रको विस्तृत अध्ययन भइरहेको बताए । गुह्येश्वरीमा दैनिक १ करोड ६२ लाख लिटर, सल्लाघारीबाट दैनिक १ करोड ४२ लाख लिटर, कोडकसमा दैनिक १ करोड ७५ लाख लिटर र धोवीघाटमा दैनिक ३ करोड ७० लाख लिटर प्रदूषित पानी प्रशोधन गर्न सकिने आयोजनाले जनाएको छ ।


मेलम्चीको खानेपानी आयोजनासँगै यी प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने उनले बताए । ‘उपत्यकाको जनसंख्या बढ्दो छ,’ उनले भने, ‘प्रत्येक घरबाट निस्कने फोहोर पानी व्यवस्थापन गर्ने ठाउँ छैन ।’ २०६८ को जनगणनाअनुसार उपत्यका जनसंख्या करिब ३० लाख जति छ ।


तर दैनिक चलायमान जनसंख्या भने झन्डै ७० लाख रहेको काठमाडौं महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘बहाल बस्नेको र दैनिक राजधानी आउनेको तथ्यांक हेर्दा उपत्यकाका तीनवटै सहरमा ७० लाख जनसंख्या होला,’ उनले भने, ‘ती जनसंख्याले उत्पादन गरेको दूषित पानी विसर्जन गर्न ढल प्रणाली र प्रशोधन केन्द्र बलियो हुनपर्छ, यसै अन्तर्गत निर्माण भइरहेका छन् ।’ हाल उपत्यका प्रदूषित पानी प्रशोधन केन्द्र एउटा मात्र रहेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?