कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रभावकारी बन्दै मेलमिलाप अभ्यास

व्यक्तिगत मनमुटाव र विवादलाई मुद्दाको विषय नबनाउन मेलमिलाप नीति 
राजेन्द्र मानन्धर

दोलखा — फौजदारी अभियोगवाहेकका मुद्दाहरू मेलमिलापको माध्यमबाट मिलाउने अभ्यास दोलखामा प्रभावकारी हुँदै गएको छ । 

व्यक्तिगत मनमुटाव र असमझदारीका कारण चर्किरहेको विवादहरूलाई सकेसम्म मुद्दाको विषय नबनाउन मेलमिलापको नीति अपनाउन थालिएको छ । मेलमिलाप अभ्यासलाई सरकारी र गैरसकारी तह दुवैले प्रयोग गर्न थालेको छ ।

दोलखा जिल्ला अदालतमा दर्ता भई यस आर्थिक वर्षमा मेलमिलाप केन्द्रमा पठाइएका १६ वटा मुद्दामध्ये पाँचवटा मेलमिलापको माध्यमबाट मिलापत्रमा टुंगिएको छ । स्रेस्तेदार कुलप्रसाद दाहालले जालसाजी, लेनदेन, कुटपिट जग्गा किचलो, सम्बन्धविच्छेद, मानाचामल, गालीबेइजती, फैसला कार्यान्वयनजस्ता मुद्दाहरू सकेसम्म वादी—प्रतिवादीलाई मिलाउन मेलमिलाप केन्द्रमा पठाउने गरेको बताए ।

पहिला पहिला मेलमिलाप गर्न आनाकानी गर्ने पक्ष र विपक्षहरू पछिल्लो समयमा सकरात्मक भएकाले प्रभावकारी हुँदै गएको स्रेस्तेदार दाहाल बताए । । गत आव ०७३/७४ मा ५१ वटा मुद्दा केन्द्रमा पठाइएकोमा १७ वटा मेलमिलापकर्ताहरूले मिलापत्र गराएको उनले जानकारी दिए ।

०७२/७३ मा भने २९ वटा मुद्दा पठाइएकोमा एक वटा मुद्दा मात्र मेलमिलापले केन्द्रले मिलापत्र गराएको अदालतको तथ्यांकमा देखिएको छ । तथ्यांकअनुसार मेलमिलापको अभ्यास सफल हुँदै गएको देखिन्छ ।

प्रभावकारी हुँदै गएको उक्त अभ्यासलाई दोलखामा स्थानीय निकायहरूले पनि लागू गर्न थालेका छन् । गठन भएको न्यायिक समितिले मिलाउन नसकेको मुद्दा नगर र गाविसस्तरीय मेलमिलाप केन्द्रहरूमा पठाउने गरिएको छ । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रको सहयोगमा जिल्लाभरि ४८ वटा सामुदायिक मेलमिलाप केन्द्रहरू सक्रिय छन् ।

भीमेश्वर नगरपालिकाभित्रका मुद्दाहरू सकेसम्म विभिन्न उपायमार्फत मेलमिलाप गराइरहेको संयोजक स्टालिन श्रेष्ठले बताए । पक्ष–विपक्षबीच मध्यस्त नभएकाले अल्झिरहेका मुद्दा र विवादहरूलाई मेलमिलापमार्फत मिलाउने कार्य भइरहेको श्रेष्ठको भनाइ छ ।

महिला तथा बालबालिकाको कार्यालयकी सूचना अधिकृत सुर्जा दाहालका अनुसार ग्रामीण भेगमा सक्रिय प्यारालिगल कमिटीहरूले महिलाहरूको सामान्य विवादहरू मिलाउन सक्रियता देखाउँछन् । जिल्ला प्रहरी कार्यालयले पनि छलफल गराउन मिल्ने मुद्दाहरू मेलमिलापको प्रयास गर्छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी रामेश्वर कार्कीले सामान्य झैझडा, कुटपिट, भनाभनजस्ता घटनालाई सकेसम्म मिलाएर पठाउन खोज्ने तर महिला, बाल अपराध तथा फौजदारीजस्ता अभियोगहरूका मुद्दाहरूमा मेलमिलापका प्रयास नै नगरिने उनले बताए । ग्रामीण इलाकामा सक्रिय सामुदायिक मेलमिलाप केन्द्रले दुई वर्षको बीचमा करिब सात सय विवादहरू मिलाइसकेको जिल्ला संयोजक ताराबहादुर महतले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?