कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भत्ताको आसमा वृद्धवृद्धा 

प्रताप विष्ट

हेटौंडा — जीवनको उतराद्र्धमा पुगिसके । अर्काको सहयोगमा मात्र यताउति गर्न सक्छन् । आश्रमकै संरक्षणमा बाँचेका छन् । मकवानपुरको टिस्टुङमा जन्मेका ९० वर्षीय लालबहादुर गोलेले अहिलेसम्म पनि नागरिकता पाउन सकेका छैनन् । तीन वर्षअघिसम्म हेटाैंडास्थित जिल्ला प्रहरी कार्यालयको कम्पाउन्ड बाहिरको सडकमा उनी जोतिषी बनेर हात हेर्थे । 

भत्ताको आसमा वृद्धवृद्धा 

एक्कासि बिरामी भएर सडकमा नै थला परेपछि हेटौंडास्थित मानव सेवा आश्रमले सडकबाट नै उद्धार गरेर औषधोपचार गरेको थियो । अहिले उनी आश्रमकै संरक्षणमा छन् । आश्रममा साबिकको मनहरि गाविस रजैयाकी ७६ वर्षीय आशामाया मगर पनि विगत तिन वर्षदेखि आश्रय लिएर बसेकी छन् । उनलाई पनि आश्रममा अभियन्ताहरूले सडकवाट उद्धार गरेर ल्याएका हुन् । गोलेका परिवार छोराछोरी र नातिनातिना टिस्टुङको दुर्गम बस्ती गिम्दीमा बसिरहेका छन् भने मगरका आफन्तहरू रजैयाबाट अन्यत्र बसाइँ सरेका छन् । तर, यी दुवैले कहिले पनि नागरिकता बनाएनन् । उनीहरूले नागरिकताको प्रमाणपत्रको महसुस पनि गरेनन् ।

आश्रममा बस्ने गोले र मगर मात्र होइनन् मकवानपुरस्थित मानव आश्रम, चुरियामाईस्थित दिव्य सेवा निकेतन वृद्धाश्रम, हटियास्थित श्रीमद्भागवत् ज्ञान सञ्चार वृद्धाश्रम, हेटांैडा १ चौकीटोलस्थित ओम वृद्धाश्रम र हेटौंडा ७ कृष्णप्रणामी वृद्धाश्रमका वृद्धवृद्धा नागरिकताविहीन छन् । वृद्धवृद्धाहरूको उद्धार, संरक्षण र स्याहारसुसार गर्दै आएका हेटांैडास्थित मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार आश्रमलगायत विभिन्न वृद्धाश्रममा रहेका अधिकांश वृद्धवृद्धाहरू नागरिकताविहीन छन् । वृद्धवृद्धाहरूलाई नागरिकता उपलब्ध गराउन सकेमा आश्रममा पनि उनीहरूको मनोबल बढ्ने र नेपाली नागरिकताविहीन भएर मर्न नपर्ने वृद्धाश्रम सञ्चालकहरूको धारणा छ ।

‘वृद्धाश्रममा रहेका ७० वर्ष उमेर पार गरेका वृद्धवृद्धाहरूलाई नागरिकता दिलाउन सकेमा वृद्धाश्रम थोरै भए पनि आत्मनिर्भर हुने मानवसेवा आश्रमका प्रमुख अधिकारीे बताउँछन् । ‘वृद्धवृद्धाहरूले नागरिकता पाएमा मासिक २ हजार रुपैयाँ वृद्धभत्ता पाउने थिए,’ उनले भने, ‘त्यो भत्ता उनीहरूको स्याहारसुसार र खानपिनमा आश्रमले खर्च गर्ने थियो ।’ मकवानपुरका ५ वटा वृद्धाश्रममा ७० वर्ष नाघेका एक सय २५ भन्दा बढी वद्धवृद्धाहरू रहेका छन् । तीमध्ये ७ जना भारतीय पनि छन् । सबैभन्दा बढी मानवसेवा आश्रममा ७० जना वृद्धवृद्धाहरू छन् । मकवानपुरका विभिन्न वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन वृद्धाश्रम सञ्चालकहरूले प्रमुख जिल्ला अधिकारीलाई भेटेर पटक–पटक अनुरोध गर्दै आएका छन् । तर उनी पनि सकारात्मक देखिन्छन्, दिन भने सकेका छैनन् ।

आश्रममा रहेका वृद्धवृद्धाहरूले सामाजिक सुरक्षा भत्ता प्राप्ति गर्न नागरिकता प्रमाणपत्रको माग गरेका हुन् । सामाजिक सुरक्षा भत्ताबाहेक अन्य प्रयोजनका लागि उनीहरूलाई नागरिकताको आवश्यकता नै छैन । ‘७० वर्ष पार गरेका वृद्धवृद्धाहरूलाई नागरिकता दिन समस्या भए सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइदिए हुन्थ्यो,’ श्रीमद् भागवत् ज्ञान सञ्चार वृद्धाश्रमका सञ्चालक हरि सिग्देलले भने, ‘आश्रमका वृद्धवृद्धाहरूलाई नागरिकता दिन समस्या भए सरकारले ७० वर्ष पार गरिसकेका वृद्धवृद्धालाई वृद्धभत्ता उपलब्ध गराइदिनुपर्‍यो ।’ हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत वृद्धाश्रमका वृद्धवृद्धालाई नागरिकता दिने कुरामा सकारात्मक रहेका छन् । तर कसरी उपलब्ध गराउने प्रक्रिया र विधिका बारेमा प्रजिअसँग कुराकानी गर्ने बताएका छन ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?