ऋण लिएर घर बनाउँदै

कृष्ण थापा

नुवाकोट — भर्खर नगरपालिका बनेको बेलकोटगढी ११ का खिलप्रसाद रैलाले पहिलो भूकम्प पीडितलाई पुनर्निर्माणका लािग सरकारले दिने रकमको पहिलो किस्ता लिएपछि डोजर लगाएर जग्गा सम्याए ।

जग्गा धितो राखे । स्थानीय पञ्चकुमारी सहकारी संस्थाबाट १ लाख रुपैयाँ ऋण लिए । निर्माण सामग्री र कामदारका लागि गाउँँका साथीभाइ इष्टमित्रसँग ऋण काढेर तीनकोठे घर बनाए । उनले काढेको ऋणको ब्याज १४ देखि २४ प्रतिशतसम्म छ । घर निर्माण गर्दासम्म ६ लाख रुपैयाँँ खर्च भएको उनले बताए ।

‘गाउँको सहकारीबाट १ लाख निकालें,’ उनले भने, ‘गाउँँ र साथीहरू गुहारेर ब्याजमा रकम लिएँ । उनले १ लाखको मासिक ब्याज १ हजार १ सय ७० रुपैयाँँ तिर्ने बताए । ‘सरकारले दिएको ५० हजार त डोजरमा सिद्धियो,’ उनले भने, ‘गतिलो ठाउँ नहँुदा जग्गा सम्याउन नै पर्‍यो ।’

अन्यसँग २० हजारदेखि १ लाख रुपैयाँँसम्म ब्याज तिर्ने गरी ऋण लिएको उनले बताए । सानो छाप्रो बनाउँदा साढे चार लाख रुपैयाँँ ऋण लागेको उनी बताउँछन् । उनले तीनकोठे घर बनाएका छन् । त्यसमा उनको ७ जना परिवार छ । सिकर्मी र डकर्मी गाउँमा कम भएकाले ज्याला बढी परेको उनले सुनाए । त्यसमाथि अकासिँदै गएको फलामे डन्डी, बालुवा भएको उनले बताए । उनले ढुंगामाटोकै घर बनाएका छन् ।

त्यस्तै, श्यामप्रसाद मुडवरीले पनि गाउँँमा एककोठे र एक तल्ले घर बनाए । उनले पनि घर बनाउन गाउँँमा २४ प्रतिशत ब्याजमा ऋण लिए । त्यतिले नपुगेपछि १ लाख रुपैयाँँ पञ्चकन्या सहकारी संस्थाबाट ऋण थापेका छन् । ‘ऋण लिएर घर बनाएको छु,’ उनले भने, ‘सहकारी थोरै र गाउँको ब्याज अलिकति बढी छ ।’ उनको ७ जना परिवार छ ।

सहकारी संस्थाले जग्गा धितो राखेका सञ्चालक समितिमार्फत ऋण उपलब्ध गराउँछ । ‘पुननिर्माणको लागि ऋण लिनेको लाइन छ ।’ पञ्चकन्या सहकारी संस्थाका अध्यक्ष रामहरि पाण्डेले भने, ‘माग निकै बढी छ ।’ सहकारीमा ५ सय जना सदस्य छन् । सुरुमा ३ लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहरकारीले माग थेग्न नसकेपछि १ लाखमा झारेको छ ।

बेलकोटगढी नगरपालिका ११ का वडाध्यक्ष तथा पञ्चकन्या सहकारी संस्थाका अध्यक्ष रामहरि पाण्डेले पनि ऋण लिएर घर बनाएको बताए । उनले एनआईसी एसियाबाट १५ लाख रुपैयाँँ ऋण लिएर घर बनाएका छन् । ‘१३ रोपानी जग्गा राखेर आरसीसी घर बनाउँदै छु, उनले भने, ‘३ कोठा र शौचलाय छ ।’ यहाँको जग्गाको भाउ रोपनीको सरकारी दर ५ लाख मूल्य छ । उनले दसै योजनामा अफर आएको समयमा पारेर १५ लाख रुपैयाँँ ब्याजमा १० वर्षभित्र तिर्ने गरी ऋण लिएको बताए ।

टाट पल्टने अवस्थामा सहकारी

पञ्चकन्या सहकारी संस्थाले १ करोड रुपैयाँँ ऋण प्रवाह गरेको छ । सबैको अवस्था नाजुक छ, सहरीसंस्था अध्यक्ष रामहरि पाण्डेले भने, ‘बास बस्नका लागि ऋण दिनै पर्‍यो ।’

सहकारी संस्थाले आफ्ना सदस्यलाई ऋण नतिरे टाट पल्टिने अवस्थामा छन् । भूकम्प पीडितलाई सहकारीको ऋणले मात्र पुगेको छैन । गाउँमा आएका वित्तीय संस्थाहरूले ऋण प्रवाह गरेका छन् । त्यसका लागि जग्गाको ट्रेस नक्सा खोज्छन् । ट्रेस्ट नक्सा लिन नापीमा एक हप्ता लाग्ने गरेको स्थानीयले बताए । ट्रेस नक्सा ल्याएर जग्गाको पुर्जा दिएपछि मालपोतमा रोक्का गरेर चारकिल्ला प्रमाणित गरेर व्यवसाय देखिएपछि लघुवित्तले १६–१८ प्रतिशत ब्याज ऋण दिन्छन् । यहाँ आशा लघुवित्त, लक्ष्मी विकास बैंकको शाखारहित सेवा, कृषि विकास बैंकले भूकम्प पीडितलाई ऋण उपलब्ध गराएका छन् । उनीहरूले सेवा शुल्क २ प्रतिशत र जग्गाको भ्यालुएसन गरेको छुट्टै रकम जोड्छन् । तैपनि वित्तीय संस्थामा भीडभाड छ । ११ वडा कार्यालयमा ऋण लिन ४/५ जना दैनिक व्यवसाय दर्ता गर्न आउने गरेको बेलकोटगढी नगरपालिका ११ का वडाध्यक्ष तथा सहकारीका अध्यक्षसमेत रहेका रामहरि पाण्डेले बताए । ‘व्यवसाय दर्ता नगरी ऋण पाइँदैन,’ उनले भने, ‘सामान्यत: जग्गा मालपोतमा रोक्का गराएर ऋण दिने गरेको छ ।’

पुनर्निर्माणका लागि लघुवित्तहरूले सिधै ‘होम लोन’ दिँदैनन् । उनीहरूले घरेलुमा व्यवसाय दर्ता र प्यानमा दर्ता गरेपछि ऋण पाउँछन् । गाउँमा व्यवसाय भनेको कुखुरापालन र गाईभैंसीपालन भनेर ऋण लिई घर बनाउन गरेका छन् । ठूला बैंकले गाउँमा लगानी गरेका छैनन् । सहकारीले सदस्यलाई ऋण उपलब्ध गराउने गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख शंकरराज पाठकले बताए । ‘उनीहरूले जग्गा रोक्का गरेर ऋण दिन सक्छन्,’ उनले भने । जिल्लामा ५ सयवटा सहकारी छन् । जिल्लामा ३६ हजार ४ सय ३५ धुरीले दोस्रो किस्ताका लागि भरेका छन् । ६९ हजार २ सय ८९ लाभग्रहीको सूचीमा छन् । पछि गुनासोमा ११ हजार ५ सय ३ जनाको सम्बोधन परेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?