कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पप्रतिरोधी आवास तालिममै सीमित

अनिश तिवारी

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका चोकटीका जलबहादुर थामीले वर्षदिन अघि भूकम्पप्रतिरोधी आवास निर्माण तालिम लिए । ३ महिनाको तालिम लिएका थामीले आफ्नै घरसमेत बाहिरी जिल्लाबाट आएका कामदार लगाएर बनाए । 

भूकम्पप्रतिरोधी आवास तालिममै सीमित

‘जसोतसो घर बनाइहालियो, सबै कुराको तनाव लिएर के साध्य,’ थामीले बनिसकेको घर देखाउँदै भने, ‘३ महिनाको तालिमको भरमा कसरी आवास बनाउन सक्थ्ये र ?’ उनले दक्ष कामदारजत्तिकै भरपर्दो आफू नभएकाले अन्य डकर्मी लगाएर घर निर्माण गर्नुपरेको सुनाए । चौतारा–साँगाचोकगढी नगरपालिका ठूलोसिरुवारीका जितमाया सुनारले डकर्मी तालिम लिएको सात महिना पुग्यो । सिकेको सबै कुरा प्रयोगमा ल्याउन नसकेकाले तालिम काम नलागेको उनले बताइन् ।


‘तालिम लिएर भत्ता पचाउने कामगरेजस्तो भयो,’ उनले भनिन्, ‘सामान्य काम त पहिले पनि गरिएकै थियो, डकर्मी तालिम चाहिँ प्रयोगमा ल्याउन सकिएन ।’ भूकम्पप्रतिरोधी आवास निर्माण तालिमप्राप्त जनशक्तिले आवास निर्माणमा निरन्तरता नदिँदा सिन्धुपाल्चोकमा पुनर्निर्माणले गति लिन सकेको छैन । तालिम लिने तर काम नगर्ने प्रवृत्तिका कारण जिल्लाका भूकम्पपीडित आवास निर्माण गर्नबाट वञ्चित भएका छन् । तालिम लिएका जनशक्तिले काम नगर्दा बाहिरी जिल्लाका जनशक्ति ल्याएर काम गर्नुपरेको स्थानीय बताउँछन् । इन्द्रावती गाउँपालिका नवलपुरका सुरमान तामाङले तालिम लिएका गाउँका दक्ष कामदारले काम नगरेपछि बाहिरबाट ल्याएर पुनर्निर्माण गरिरहेको बताए । ‘पुनर्निर्माण गर्न गाउँकै तालिमप्राप्त डकर्मी र कामदार खोजे, पाउन सकिन, बाहिर जिल्लाबाट आएकालाई महँगो ज्यालामा घर बनाउन लगाए,’ उनले भने, ‘डकर्मी तालिम देखाउनलाई मात्रै भयो, कसैले प्रयोगमा ल्याएनन् ।’ जिल्ला समन्वय समितिका अनुसार जाइकाले दुई हजार ८ सय १० र गैसरकारी संघस्थाले दुई हजार पाँच सयलाई डकर्मी तालिम दिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालयले ५ सयभन्दा बढीलाई दक्ष डकर्मी तालिम दिएको जनाएको छ । तर, स्थानीयले घर निर्माणको लागि डकर्मी खोज्दा पाएका छैनन् ।


‘गाउँमा एउटै कामदारले धेरैको घर बनाउनुपर्ने भएकाले पालो कुरेर बस्नुपर्ने बाध्यता छ,’ बाह्रबिसे नगरपालिका राम्चेका शम्भुप्रसाद तिमल्सिनाले भने, ‘दुईकोठे घर बनाउन थालेको चार महिना बितिसक्यो, अझै सकिएको छैन ।’ सिन्धुपाल्चोकमा पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका अनुसार हालसम्म अनुदान सम्झौता गरेका ७५ हजार ७ सय ६५ मा ४५ हजार ७ सय ७१ भूकम्पपीडितले मात्रै आवासको निर्माण सुरु गरेका छन् । अहिलेसम्म पर्याप्त कामदारको अभावमा आवास निर्माणलाई तीव्रता दिन नसक्दा ४२ प्रतिशत भूकम्पपीडितले आवास निर्माण सुरु गरेका छैनन् ।


पहिलो चरणको काम नसके दोस्रो किस्ता नपाउने सरकारी घोषणाले ५८ प्रतिशतले आवास निर्माण गरेपनि आधाजस्तो भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन् ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयको पुस मसान्तसम्मको तथ्यांकअनुसार ५८ दशमलव ३ ले मात्रै आवास निर्माण थालेका छन् । प्राधिकरणले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेपछि म्याद बढाउने वा दोस्रो किस्ता बन्द गर्ने भन्ने निर्णय अझै जिल्लामा निश्चित भइसकेको छैन ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?