सार्वजनिक गाडी चढ्न ३ घण्टा पैदल
भक्तपुर — सूर्यविनायक नगरपालिका–८ साहु नैचालकी सुन्तली तामाङको मनमा दिनहुँ एउटै तथ्य खड्किरहन्छ । परिवारका कोही सदस्य बिरामी भए कसरी अस्पताल पुर्याउने भन्ने चिन्ताले उनलाई सताइरहन्छ ।
‘सञ्चो हुँदा त जति समय लगाएर गन्तव्य पुग्दा पनि भयो,’ उनले भनिन्, ‘बिरामी परियो भने आपत् आइलाग्छ, यो ठाउँमा एम्बुलेन्ससमेत आउन मान्दैन ।’ एम्बुलेन्सको विकल्पमा धेरैले ट्याक्सीलाई रोजे पनि ट्याक्सीले भाडा धेरै महँगो लिने गरेको गुनासो छ ।
सूर्यविनायक, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, साहु नैचाल, आशापुरी क्षेत्रमा सार्वजनिक बसको व्यवस्था नहुँदा व्यवसाय ढुवानीमा समेत कठिनाइ भएको उनी बताउँछिन् । वर्षौंदेखि खेती किसानी गर्दै आएकी सुन्तली दिनहुँ हरियो तरकारी बेच्न ३ घण्टा पैदल हिँडेर सूर्यविनायक पुग्छिन् । तरकारी बेचिसकेर फर्किंदा दिनै बित्ने गरेको नैचालका कृषकको गुनासो छ । काभ्रे र भक्तपुरको सिमानास्थल नैचाल, आशापुरी, महादेव मन्दिर क्षेत्रका बासिदा बस चढ्न ३ घण्टा पैदल हिँडेरै सूर्यविनायक आउने गरेको स्थानीय खासाङ तामाङले बताइन् ।
त्यसै स्थानकी सुनीता तामाङ दिनहुँ बिहान ७ बजे एक भारी साग, लसुन, मुलालगायत हरियो तरकारी बोकेर सूर्यविनायक चोकको तरकारी बजार आइपुग्छिन् । बिहान चारै बजे तरकारीको भारी बोकेर बाटो लागेकी सानुमाया ३ घण्टा पैदल हिँडेपछि मात्र सूर्यविनायक आइपुग्छिन् । स्थानीय तह लागू भएको पनि झन्डै १० महिना बित्न लाग्दासमेत अझै उनको गाउँका बासिन्दाका लागि सार्वजनिक सवारी सपना जस्तै छ । सुनीता जस्तै भक्तपुर र काभ्रेको सिमानामा पर्ने रानीकोटगढी, काभ्रेको र्याले, बेवर, बाबियो डाँडा, कुशादेवीलगायतका कृषक ३ देखि ५ घण्टा पैदल हिँडेर आफूले उब्जाएका तरकारी बेच्न सूर्यविनायक आइपुग्छन् ।
‘तरकारी त उब्जायो नि व्यापार गर्ने ठाउँ छैन,’ स्थानीय मीना तामाङले भनिन्, ‘दिन माया मारेर तरकारी बेच्न जानुपर्छ, गाडीको सुविधा छैन ।’ ‘संघीयता कार्यान्वयनमा आयो, हामीले के पायौं ?’, उनले प्रश्न गरिन्, ‘आम्दानीको अर्को विकल्प छैन, तरकारी उब्जाएर थोरै गुजारा चलाएका छौं, सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा व्यापारको पहुँच छैन ।’ नयाँ नगरका बासिन्दालाई सार्वजनिक बस चढ्न घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता छ ।
‘सार्वजनिक बस चल्दैन, बस चढ्नकै लागि ३ घण्टा हिँड्नुपर्छ,’ आशापुरी संरक्षण समितिका अध्यक्ष टुल्कु लामाले भने, ‘नजिक स्वास्थ्यचौकी छैन, जंगलको बाटो हुँदै पलाँसे पुग्नुपर्छ ।’ ‘हाम्रो गाउँमा न स्वास्थ्यचौकी न कुनै मेडिकल नै छ, तत्कालै अस्पताल जानुपरे स्ट्ेरचरमा हालेर कुदाउनुपर्छ,’ उनले गुनासो गरे । गतिलो सडकको पहुँच नहुँदा यस भेगका बासिन्दाले सास्ती खेप्नुपरेको उनले बताए । तरकारी बजार, स्वास्थ्यचौकी, सामुदायिक विद्यालय, संस्थागत विद्यालय, अस्पताल जहाँ जानुपरे पनि दुईदेखि पाँच घण्टा हिँड्नैपर्ने बाध्यता भएको स्थानीय बासिन्दाको गुनासो छ ।
यस भेगका कृषकहरूमा व्यापारको थोरै चेतना बढे पनि यातायातको सुविधा पुग्न नसक्दा थप चुनौती थपिएको छ । हरियो तरकारी काउली, बन्दा, सिमी, फर्सी, फर्सीको मुन्टा, रातो–तोरीको साग, भिन्डी, गोलभेडालगायत तरकारी बोकेर कृषक बिहानै जंगलको बाटो लाग्छन् ।
स्थानीयको आन्दोलन
सूर्यविनायक नगरपालिका–८ स्थित ध्याम्पेडाँडा–पाटी भन्ज्याङसम्मको २ किलोमिटर सडक विस्तारको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । २०५०/०५१ मा ट्रयाक खोलिएको उक्त सडक विस्तार नहुँदा स्थानीय सार्वजनिक सवारी साधनबाट वञ्चित हुनुपरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा विस्तार थालिएको सडक एक सातायता रोकिएको हो ।
वन विभागको स्वीकृति नै नलिई रानीकोट सामुदायिक वनको सार्वजनिक जग्गामा सडक विस्तार गरेकाले निर्माण कार्य अघि बढ्न नदिएको जिल्ला वन कार्यालय भक्तपुर प्रमुख फणीन्द्र पोखरेलले बताए । स्थानीयको पहलमा ध्याम्पेडाँडादेखि पाटी भन्ज्याङसम्मको २ किलोमिटर सडक विस्तार कार्य सञ्चालन सुरु गरे पनि वन क्षेत्रमा पर्ने १ सय मिटर सडक विस्तार अभियानका क्रममा वनसँग स्वीकृति नलिएको, सडक विस्तारका लागि माटो, भूगर्भ अध्ययन नै नगरी वडा कार्यालयले विस्तार थालिएको पोखरेलले बताए ।
प्रकाशित : फाल्गुन १०, २०७४ ०९:०८