१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोदावरीका पोखरी लथालिंग

प्रशान्त माली

ललितपुर — ठेचोका प्रकाश महर्जनको घरसँगै ह्यांगु न्या: पुखु: (रातो माछा पोखरी) जोडिएको छ । तर उनी यसमा रातो माछा भने देख्न पाउँदैनन् । पोखरीमा निकै थोरै पानी छ, त्यो पनि दुर्गन्धित ।

गोदावरीका पोखरी लथालिंग

‘२५ वर्षअघि यो पोखरीमा रातो माछा हेर्नेको भीडभाड हुन्थ्यो,’ महर्जन सम्झन्छन्, ‘ऐतिहासिक महत्त्वको पोखरी अहिले नामको मात्रै भएको छ ।’ आफू सानो छँदा यो पोखरीको माछा टिप्न हानथाप भएको महर्जन सम्झिन्छन् । कुनैबेला यो पोखरी ठेचोवासीका लागि घरायसी काममा प्रयोग गर्ने पानीको स्रोत थियो ।


खानेपानीबाहेक नुहाउने, लुगा धुनेलगायतका कामका लागि यो पोखरीको पानी लाने गरिन्थ्यो । अहिले भने यसको पानी प्रयोग गर्नु त टाढाको कुरा, पोखरी नजिकै जान पनि दुर्गन्धले गर्दा गाह्रो भएको स्थानीयको गुनासो छ ।


पोखरीभित्र र वरपरको फोहोरले गर्दा आसपास दुर्गन्ध फैलिएको छ । ‘दुर्गन्धले गर्दा घरको झ्यालढोका खुला राखेर बस्नसमेत सकिँदैन,’ महर्जनले भने । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पोखरी सफा हुने महर्जनको आशा थियो, जुन अहिले निराशामा बदलिइरहेको छ ।


‘जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि नौ महिना बितिसक्यो,’ उनले भने, ‘समस्या जस्ताको तस्तै छ, सुधारको कुनै संकेत देखिएको छैन ।’ यो पोखरीलगायत यस क्षेत्रका सम्पदाको सफाइका लागि उनी वाग्मती सफाइजस्तै अभियान चलाउनुपर्ने बताउँछन् । ‘गोदावरी नगरपालिका सफाइ अभियान सुरु गर्नुपर्छ । नगर सफाइ अभियान सुरु गरेमा ठेचोवासीको पूर्ण समर्थन हुनेछ,’ उनले भने । गोदावरी क्षेत्रमा उपेक्षित भएर अलपत्र परेको एकमात्र पोखरी भने होइन ।

गोदावरी नगरपालिका १२ ठेचोका चिरीबाबु महर्जनको घर पछाडि ६ रोपनीमा फैलिएको फुंगा: सी पोखरी छ । यो पोखरीको हालत पनि अहिले उस्तै छ । पोखरीको आधाजति पानी भए पनि अत्यधिक फोहोरले गर्दा यसको उपयोग हुन सकेको छैन । केहीअघि कसैले मरेको कुकुर पोखरीमा फालिदिएका कारण पूरै पानी नै दुर्गन्धित भएको छ । यो पोखरी पनि माछापालनका लागि प्रसिद्ध थियो । चिरीबाबु भन्छन्, ‘१० वर्ष पहिला यो पोखरीमा माछा पाल्न टेन्डर पर्नु पर्दथ्यो । अहिले नर्कमा बस्नुसरह भएको छ,’ उनले भने ।


दुरिखेलको अर्को पोखरी भने पानी सुकेर खेलमैदानमा परिणत भइसकेको छ । पीठस्थित पोखरी लोप भइसकेको छ । यी केही पोखरी उदाहारण मात्र हुन् । ठेचोमा मात्रै लथालिंग अवस्थामा रहेका १२ पोखरी छन् । गोदावरी नगरपालिकास्थित चापागाउँ, ठैब/बाँडेगाउँ र गोदावरीमा भएका दर्जनौं पोखरीको अवस्था पनि उस्तै छ । पोखरीहरू उचित हेरविचारको अभावमा फोहोर थुपार्ने ठाउँमा परिणत भएका छन् ।


स्थानीयवासीका लागि घरायसी कामका लागि पानीको गतिलो स्रोत रहँदै आएका पोखरी सुक्दा पानीको समस्या झन् बढेको छ । गाविसले टेन्डर गराएर यी पोखरीमा माछापालन गराउने गरेकोमा अहिले त्यसको आम्दानी पनि बन्द भएको छ । गोदावरी नगरपालिकका मेयर गजेन्द्र महर्जनले पोखरी सफाइ अभियान सञ्चालन गर्ने तयारी रहेको दाबी गरे । ‘कोरबस्तीका पोखरीको संरक्षण स्थानीय गुठियारलाई दिने योजना छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?