आकाशे पानीले लाखौंको तरकारी

अनिश तिवारी

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगर ६ का चन्द्रबहादुर तामाङले व्यावसायिक तरकारी खेती थालेको तीन वर्ष पुगिसकेको छ । ६३ वर्ष लागिसकेका तामाङ दम्पतीले तरकारी बेचेर वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । 

आकाशे पानीले लाखौंको तरकारी

‘गोलभेंडाबाट मात्रै वार्षिक डेढ लाख कमाइ हुन्छ, खुर्सानी, काउली अलग्गै टनेलमा उमारिरहेको छु,’ चन्द्रबहादुरले बिरुवासहितको टनेल देखाउँदै भने, ‘काउलीबाट महिनामै ५० हजार आम्दानी हुन्छ ।’ उनले झन्डै पाँचवटा टनेल तरकारी खेतीका लागि निर्माण गरेका छन् ।


कृषि विकास कार्यालयबाट नमुना कृषकको सम्मान पाएपछि तरकारी खेतीमा थप उत्साह बढेको तामाङ बताउँछन् । आकाशे पानीलाई जम्मा गरेर उनले तरकारी खेतीमा सदुपयोग गर्ने गरेका छन् । ‘पानीको समस्या टार्न आकाशे पानी संकलन गर्न पोखरी बनाइयो,’ तामाङले भने, ‘पोखरीसँगै तरकारी खेती व्यवस्थित बनाउन धेरै समय लाग्यो, फेरि उत्पादनले गति लिँदै गयो ।’ उनले भने । उनले तरकारीमा गोलभेडा, भन्टा, काउली लगायतका हजारभन्दा बढी बेर्ना आफैंले उमार्ने गरेका छन् ।


चौतारा नगरकै स्याउलेका दिलबहादुर थापा एक वर्षदेखि व्यावसायिक तरकारी खेतीमा होमिएका छन् । तरकारीबाटै लखपति बनिसकेका थापाले काउली र बन्दाकोभीलाई विशेष प्राथामिकतामा राखेका छन् । ‘बजारमा काउली र बन्दाको माग बढ्दै गएपछि यसको उत्पादनलाई बढाएको छु,’ दिलबहादुरले काउलीको झार उखेल्दै भने, ‘काउली र बन्दाबाटै मात्रै लाखसम्म आम्दानी भएपछि व्यवसायी हौसिएका छन् ।’


पहिले बिदेसिने विचार भए पनि अरूले तरकारीबाट सहजै आम्दानी गरेको देखेपछि लोभिएर खट्न थालेको थापाले सुनाए । ‘तरकारीको बजारमा माग उच्च छ, ताजा तरकारी व्यापारी घरमै लिन आइपुग्छन्,’ उनले भने, ‘व्यापारीले भनेबमोजिमको तरकारी उत्पादन गरेर राख्न सक्नुपर्छ ।’ उनले गाउँभरका कृषकले उत्पादन गरेको तरकारी संकलन गरेर व्यापारीलाई एकमुस्ट दिने गरेको बताए । सुनकोसी गाउँपालिका कालिकाका पदम खड्का तरकारी खेती आफ्ना लागि वरदान बनेको बताउँछन् । खुर्सानीबाटै मासिक तीस हजार कमाइरहेका उनले सबै खालका तरकारीबाट एक लाख आम्दानी गर्छन् ।


‘राम्रै आम्दानी भएपछि जाँगर चलेको छ,’ उनले भने, ‘तरकारी खेती गरेर घरबार र सम्पत्ति जोडेको छु, अहिलेसम्म निराश हुनुपरेको छैन ।’ नमुना च्याउ उमार्ने कृषकको रूपमा सम्मान पाइसकेका खड्का सबै प्रकारका तरकारी लगाएर नमुना काम गर्ने योजनामा छन् । डल्ले, ज्यानमारादेखि लाम्चे खुर्सानी र च्याउ, काउली, बन्दागोभीजस्ता झन्डै १२ प्रकारका तरकारी उनले दुई सय रोपनी खेतमा लगाएका छन् । केराको छायामा उम्रिएका खुर्सानीका बेर्ना देखाउँदै खड्काले उत्साह पोखे, ‘यही बेर्ना किन्न धेरै कृषक कालिका आउँछन्, तरिका सिकेर जान्छन् ।’ जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीका अनुसार जिल्लाभर झन्डै ६५ प्रतिशत कृषक तरकारी खेतीमा होमिएका छन् । पकेट क्षेत्र मानिने चौतारा र मेलम्ची नगरदेखि अन्य गाउँपालिकाका अधिकांश कृषक तरकारीबाटै लखपति भइसकेका छन् । काभ्रे, पाँचखाल, बनेपा हुँदै राजधानीसम्म खपत हुने यहाँको तरकारी स्थानीय बजारमा माग उत्तिकै बढ्दो छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?