कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्निर्माणले लियो गति

गाउँमा तालिम प्राप्त कालिगढ पाइँदैनन् । बाहिरबाट ल्याउँदा झन् महँगो पर्छ । 
हरिहरसिंह राठौर

धादिङ — भूकम्पको ३ वर्षपछि उत्तरी धादिङमा पुनर्निर्माणले गति लिएको छ । पहिलो किस्ता लिएका रुबी भ्याली गाउ‘पालिकाका बासिन्दाले धमाधम क्षतिग्रस्त घर पुनर्निर्माण गरिरहेका छन् ।

पुनर्निर्माणले लियो गति

भूकम्पप्रतिरोधी घर निर्माणमा सघाउन प्राविधिकहरू पनि अहोरात्र खटिएका छन् । निर्माण गरिएका सबै घर एककोठे हुन् ।


रुबी भ्यालीका क्षतिग्रस्त ६ हजार घरधुरीमध्ये अधिकांश परिवारले पुरानै घर टालटुल र मर्मत गरी गुजारा गरिरहेका छन् । चर्केका घर टालटुल गरेर बसेका उत्तरी धादिङका भूकम्पपीडित दैनिकी ३ वर्षदेखि सकसपूर्ण छ ।

बाटोघाटोको असुविधाका कारण ग्रामीण क्षेत्रमा निर्माण सामग्री पुर्‍याउन कठिन छ । रुबी भ्याली १ का बोन्साई घलेले पनि खर्च पुर्‍याउन नसकेर एक कोठाको घर बनाएको बताए । ‘गाउँमा तालिम प्राप्त कालिगढ पाइँदैन । बाहिरबाट ल्याउँदा झन् महँगो पर्छ । उता सरकारले बेलैमा घर बनाउनुपर्छ भन्छ, यता हामीलाई समस्या नै समस्या छन्,’ उनले भने ।


रुबी भ्याली पुग्न सदरमुकामदेखि ४२ किमि कच्ची बाटो जिपमा र पूरै २ दिन पैदल हिँड्नुपर्छ । जिपबाट ओर्लेदेखि बस्तीसम्म सिमेन्ट, जस्तापाता, छडलगायतका निर्माण सामग्री पुर्‍याउन प्रतिकेजी ८० रुपैयाँ ढुवानी भाडा पर्छ । निर्माण सामग्री र दक्ष कालिगढ अभाव भए पनि सरकारी अनुदान पाउने आसमा स्थानीय बासिन्दाले एककोठे घर निर्माण गरेर देखाउन खोजेका छन् ।


भूकम्पपछि सरकारले निकालेको घरका मोडल आवश्यकताअनुसारको नभएको रुबी भ्याली १ लवदुंगका भूकम्प पीडित जस थापाले बताए । ‘स्थानीय स्तरमा पाइने निर्माण सामग्रीले ग्रामीण क्षेत्रमा आवश्यक पर्ने खालका घरका मोडल र कम खर्चमा बलियो बनाउन सकिन्छ भनेर प्राविधिकलाई ढुक्क बनाएपछि हामीले आफ्नै मोडलमा निर्माण थालेका हौं,’ थापाले भने । झार्लाङ, तिप्लिङलगायतका बस्तीमा निर्माण थालिएका सबै घर एककोठे नै छन् । सिमेन्ट र रड कुनै प्रयोग नगरी लवदुंगमा ९० प्रतिशत घरहरू निर्माणको अन्तिम चरणमा छन् । अनुदान पाउने गरी निर्माण गरिएका एककोठे घरले परिवारको आवश्यकता पूरा नहुने र गाईवस्तु, अन्नपात राख्न झनै समस्या हुने जस थापाको भनाइ छ । भूकम्पबाट धादिङमा करिब ७५ हजार घरमा क्षति पुगेको छ । तर अहिलेसम्म २५ हजार घर बनेका छन् । भूकम्प पीडितले अहिले एक कोठाको घर बनाइरहेका छन् । भूकम्पीय आवास पुनर्निर्माण परियोजना धादिङका प्रमुख अमर शर्माले भने, ‘इन्जिनियरको निगरानीमा दक्ष कालिगढबाट मापदण्डमा रहेर घर बनाए हुन्छ, क्षमताअनुसार एक कोठा वा त्यसभन्दा बढीको कोठाको घर बनाए पनि पाउँछन् ।’


टोलको नामै ‘बलियो टोल’

स्थानीय स्तरकै निर्माण सामग्री प्रयोग गरेर रुबी भ्याली १ ङसिङबाका १६ भूकम्प पीडितले घर निर्माण गरिसकेका छन् । गाउँ नजिकैको वनबाट ल्याएका काठपात र ढुंगाको प्रयोगमा प्राविधिकहरूको रेखदेखमा टोलबासीहरूले घर निर्माण गरी टोलको नामै ‘बलियो टोल’ राखेका छन् ।


घरमा लगाइने जस्तापाता जिल्ला सदरमुकामबाट लगिएको छ । गाउँमै घर बनाउने तालिम लिएका दक्ष कालिगढ छन् । दिनहुँजसो इन्जिनियरको निगरानीमा आफ्नै श्रममा ङसिङबो टोलबासीले भूकम्प प्रतिरोधात्मक घर बनाएर देखाए । टोलमा सबैको घर बनेपछि अहिले धादिङको तिप्लिङस्थित ङसिङबो टोलको नाम परिवर्तन गरेर बलियो टोल राखिएको हो । टहराको तीन वर्षसम्मको अस्तव्यस्त बसाइपछि प्रभावितहरू सुरक्षित पुनर्निर्माणमा जुटेका हुन् । रुबी भ्याली १, को बलियो टोलमा १६ घरपरिवार बस्छन् । अहिले सबै प्रभावितले बलियो तथा भूकम्प प्रतिरोधात्मक घर बनाइसकेका छन् ।


प्रकाशित : फाल्गुन १०, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?