कलिलै उमेरमा गर्भपतन

‘कलिलै उमेरमा गर्भपतन गर्दा वा धेरैपटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, बाँझोपन हुने समस्या देखिन्छन्’
फातिमा बानु

काठमाडौँ — लागूऔषधको लत छुटाउन नसकेपछि ललितपुरकी १७ वर्षीया एक किशोरी घरबाट निकालिइन् । घर छाडेर प्रेमीसँग ‘लिभिङ टुगेदर’ मा बस्न थालिन् । सँगै बस्न थालेको सात महिनामा उनी गर्भवती भएको थाहा पाइन् ।

कलिलै उमेरमा गर्भपतन

भन्छिन्, ‘महिनावारी रोकिएको थियो, ड्रग्स लिँदा समयमा महिनावारी हुँदैनथ्यो । पेटको बच्चा दुई महिनाको भइसकेछ ।’ गर्भपतनपछि उनी शारीरिक रूपमा कमजोर भएकी छन् । पढ्न जान सकेकी छैनन् । ‘एक महिनासम्म रगत बग्यो, तौल पनि घटेको छ,’ उनले भनिन् ।


उनी जस्तै कलिलै उमेरमा गर्भपतन गराउने प्रवृत्ति बढदो छ । मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन अधिकार मानेको छ । कानुनअनुसार महिलाको मञ्जुरीमा १२ सातासम्म, जबरजस्ती वा हाडनाता करणीबाट रहन गएको १८ सातासम्मको गर्भलाई पतन गराउन मिल्छ । यस्तै गर्भमा रहेको बच्चाका कारण महिलाको जीवन खतरामा पर्ने सक्ने अवस्थामा पनि कानुनले गर्भपतन गर्ने स्वीकृति दिएको छ । कलिलै उमेरमा गरिने गर्भपतनले भने किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् ।


जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १३ हजार ५७ ले गर्भपतन गराए । जसमध्ये २० वर्षमुनिका किशोरीको संख्या मात्रै ९ हजार ९ सय ४४ छ । गत आवभन्दा किशोरी अवस्थामै गर्भपतन गराउनेको संख्या २४ प्रतिशतले बढेको छ । आव २०७२/२०७३ मा काठमाडौं जिल्लाबाट १६ हजारले गर्भपतन गराएका थिए । जसमा किशोरीको संख्या ४ हजार ५ सय ४५ मात्रै थियो । एकै वर्षमै गर्भपतन गराउने किशोरीको संख्या अत्यधिक बढ्नुले समाजको डरलाग्दो चित्रण गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठ बताउँछन् ।


भन्छन्, ‘गर्भपतन अधिकार हो भन्ने थाहा छ, कलिलो उमेरमा गर्दा हुने स्वास्थ्य जोखिमबारे उनीहरूलाई थाहा छैन ।’ यसका जोखिमबारे विद्यालयस्तरकै पाठ्यक्रममा समावेश गर्नुपर्ने प्रमुख श्रेष्ठ बताउँछन् । आव २०७२/०७३ मा काठमाडाैंका निजी र सरकारी अस्पतालबाट ४३ हजार ८२ महिलाले गर्भवती परीक्षण गराएका थिए । जसमध्ये ६६ प्रतिशतले गर्भपतन गराएको देखिएको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा छ । प्रमुख श्रेष्ठ भन्छन्, ‘१३ वर्षको उमेरमै गर्भपतन गर्न अस्पताल धाउँछन्, सूचीकृत नगरिएका स्वास्थ्य संस्थामा गराइने गर्भपतनको तथ्यांक छैन, त्यहाँ अवैधानिक रूपले पनि गर्भपतन गराइन्छ ।’

यस्ता जथाभावी गर्भपतनकै कारण हुने अत्यधिक रक्तश्रावका बिरामी बढी भर्ना भइरहेको अस्पतालको तथ्यांकमा उल्लेख छ । ‘लिभिङ टुगेदर’ जस्ता विदेशी संस्कारले असुरक्षित यौनसम्पर्क र गर्भपतन बढाएको स्त्रीरोग विशेषज्ञ डा.विमला मल्ल बताउँछिन् । भन्छिन्, ‘यौन शिक्षाबिनाको शारीरिक सम्बन्धले असुरक्षित गर्भपतनको परीणाम ल्याएको हो, कलिलो उमेरको गर्भपतनले किशोरीको प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्छ ।’ जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांकअनुसार कुल जनसंख्याको चार प्रतिशत किशोरीले १५ वर्षको उमेर नपुग्दै शारीरिक सम्बन्ध राख्ने गरेका छन् ।


दर्ता नभएका, गुणस्तर नजाँचिएका गर्भपतन गर्ने औषधिको जथाभावी बिक्रीले पनि किशोरीमा असुरक्षित गर्भपतन बढिरहेको स्त्रीरोग विशेषज्ञहरू बताउँछन् । स्त्रीरोग विशेषज्ञ डा. किरण रेग्मी भन्छिन्, ‘अस्पताल गए अरूले थाहा पाउने डरले आफैं औषधि खाएर गर्भपतन गराउँछन्, चिकित्सकको सल्लाह लिंदैनन् ।’ यस्तै प्रवृत्तिका कारण ५८ प्रतिशत महिलाले अझै असुरक्षित गर्भपतन गराइरहेको स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य तथ्यांक छ ।


कलिलै उमेरमा गर्भपतन गर्दा वा धेरैपटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, बाँझोपन हुने, त्यस्तै, गर्भपतनका अन्य असरका कारण महिलामा मानसिक असरसमेत पर्ने डा. रेग्मीले बताइन् । गर्भपतन आफैंमा जटिल प्रक्रिया भएकाले सकेसम्म यस्तो अवस्था आउन दिन नहुने रेग्मी बताउँछिन् । गर्भपतन रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?