कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

७० हजार विद्यार्थी अझै टहरामा

जिल्लाका ५१६ विद्यालय ४ सय ८४ स्कुल भवन, शौचालयलगायतका संरचना आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए
प्रताप विष्ट

हेटौडा — आकाश बादलले ढाकेको छ । जाडोले कठयांग्रिँदै कक्षाकोठामा पढ्न बसिरहेकी छन् अस्मिता चेपाङ । आङमा स्वेटर, ज्याकेट केही छैन । पातलो विद्यालय पोसाकमा पढ्न आएकी उनी बाँसले निर्माण गरिएको टहराभित्रको कक्षा कोठामा छन् । टहराको बाँस मक्किएर भाँचिइसकेको छ ।

७० हजार विद्यार्थी अझै टहरामा

चिसो सिरेटो चौरतिरबाट कक्षा कोठामा छिर्छ । छानामा लगाएको जस्तापाताबाट चुहिएको शीतले कापी किताब भिज्ने गरेको छ । अस्मिताको जस्तै उक्त थोत्रो टहरामा बसेर पढ्ने ९० छात्र छात्राको नियति उस्तै नै छ ।

मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–५ चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालयको भवन २०७२ वैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले भवन भत्काएपछि उनीहरू एक महिनासम्म खुला चौरमा बसेर पढे । ‘बाँसको टहरा बनाएपछि शिशुदेखि ३ कक्षासम्मका विद्यार्थी एउटै कक्षा कोठामा बसेर पढिरहेका छन्,’ प्रधानाध्यापक सूर्यबहादुर चेपाङले भने, ‘टहराको बाँस सबै मक्किएर भाँचिएकाले चारैतिरबाट कक्षा कोठामा चिसो हावा छिर्छ भने जस्तापाताबाट शीत चुहिने गरेको छ ।’

शतप्रतिशत विपन्न वर्गका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयका अधिकांश विद्यार्थी पातला र च्यातिएका कपडा लगाएर आउने गरेका छन् । विशेषगरी टहरामा बसेर पढ्ने विद्यार्थीहरू चिसोले गर्दा हातले पेन्सिल पनि समात्न सक्तैनन् । त्यसमा शिशुदेखि ३ कक्षासम्मका विद्यार्थी एउटै कोठामा बस्नुपर्ने भएकाले राम्रोसँग सिक्न पनि सम्भव छैन । विद्यालयका ३ सय ३० विद्यार्थीमध्ये ८० प्रतिशत चेपाङ छन् ।


भूकम्पले भवन भत्काएको ३४ महिना बितिसक्यो तर जिल्लामा हालसम्म कुनै विद्यालयको भवनको पुनर्निर्माण सम्पन्न भएको छैन । जिल्लाका ७० हजारभन्दा बढी छात्रछात्रा हालसम्म टहरामै पढ्न बाध्य छन् । भूकम्पले मकवानपुरका ४ सय ८४ विद्यालयको भवन क्षतिग्रस्त भएका थिए । तीमध्ये एउटा पनि विद्यालय भवन तयार भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेका ६२ विद्यालयमा पनि २ देखि ६ कोठा मात्र भएकाले पठनपाठनका लागि कक्षाकोठाको अभाव हुन्छ । चालु आर्थिक वर्षमा थप ६२ भवन निर्माण गर्न लागेको शिक्षा अधिकारी बद्री शर्माले बताए । जापानी सहयोग निकाय (जाईका) को सहयोगमा १० वटा मात्र विद्यालयको पूर्ण क्षमताको भवन निर्माणाधीन अवस्थामा रहेको शर्माले बताए ।


‘जाईकाको सहयोगमा भूकम्पले क्षतिग्रस्त १० विद्यालयको भवनको पुनर्निर्माण कार्य सुरु भएको छ,’ शिक्षा अधिकारी शर्माले भने । उनका अनुसार ६ माध्यमिक विद्यालय र ४ आधारभूत भवनको पुनर्निर्माण ८ महिना अघि सुरु भएको हो । तीमध्ये फाखेल, चित्लाङका ३ माध्यमिक विद्यालय पुनर्निर्माण कार्य सुरु हुन लागेको छ भने ७ विद्यालयको पुनर्निर्माणको कार्य भइरहेको छ । १० विद्यालय पुनर्निर्माणका लागि ३६ करोड लागत लाग्ने अनुमान छ । शिक्षा कार्यालयका अनुसार देवकी माध्यमिक विद्यालय फापरबारीमा २ करोड ३८ लाखमा दसकोठे, महेन्द्र मावि भीमफेदीमा ३ करोड ९५ लाखमा १६ कोठे, पञ्चकन्या प्रावि हर्नामाडीमा एक करोड ७७ लाखमा आठकोठे, गणेश आधारमूत विद्यालय बसामाडीमा २ करोड ७७ लाख रुपैयामा ६ कोठे, टिस्टुङ–देउराली प्राविमा २ करोड ५९ लाख रुपैयाँमा दसकोठे, तिलेश्वर प्रावि कालिकाटारमा दुई करोड १२ लाखमा आठकोठे र कमलादेवी माविमा चार करोड ७९ लाख खर्चेर १२ कोठे भवन निर्माण भइरहेको छ । भारतीय राजदूतावासले पनि १७ वटा विद्यालय भवन पुनर्निर्माण गरिदिने जनाए पनि प्रक्रिया भने अघि नबढेको शिक्षा कार्यालयले जनाएको छ ।

मकवानपुरका ५ सय १६ विद्यालयमध्ये ५४ वटाको भवन भूकम्पले कुनै पनि क्षति पुगेको थिएन । शिक्षा कार्यालयका अनुसार ४ सय ८४ वटा स्कुल भवन, शौचालयलगायतका संरचना आशिंक वा पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । शिक्षा कार्यालयका अनुसार १ सय २५ विद्यालय भवन भूकम्पबाट पूर्ण क्षतिग्रस्त भएका थिए ।

भूकम्प गएको ३ वर्ष पुग्नै लाग्दा पनि क्षतिग्रस्त विद्यालयका संरचनाको पुनर्निर्माण हुन सकेको छैन । प्राविधिकहरूले रातो स्टिकर (असुरक्षित) टाँसेको भवनमा बसेर मकवानपुरका सयांै विद्यार्थी अझै अध्ययन गरिरहेका छन् ।

भूकम्पले विद्यालयको १ सय ६४ वटा शौचालय क्षतिग्रस्त बनाएको थियो भने १ सय ५ वटा विद्यालयको खानेपानीको मुहान र ट्यांकी भत्काएको थियो । ३७ वटाको कम्पाउन्ड लडेको थियो । भूकम्पले भत्केको मकवानपुरको सबैभन्दा पुरानो महेन्द्र माध्यमिक विद्यालयको भवन पनि जाईकाको सहयोगमा निर्माण भइरहेको छ ।

विद्यालय सञ्चालन गरिएको भवन २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । धर्मशालाका रुपमा राणाकालमा निर्माण गरिएको भवनमा २००४ साल जेठ १७ गते देखि आधारभूत विद्यालय सञ्चालन गरिएको थियो । विद्यालयमा २०१८ वैशाख २२ गतेदेखि माध्यमिक तहको पढाइ सञ्चालन हुन थालेको हो ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?