कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 स्वास्थ्य संस्थाको सेवा विस्तार

स्थानीय सरकार
प्रताप विष्ट

हटौंडा — स्थास्थ्य चौकीहरू स्थानीय तहको मातहत रहेपछि ग्रामीण भेगका सेवाग्राहीले नियमित स्वास्थ्य सेवा पाउन थालेका छन् । 

स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य संस्थाको नियमित अनुगमन र रेखदेख गर्ने गरेकाले सेवाग्राहीहरू लाभान्वित भएका हुन् । ‘स्थानीय तहको निर्वाचन भएपछि स्वास्थ्य चौकीमा नियमित रूपमा स्वास्थ्यकर्मी बस्न थालेका छन्,’ स्थानीय विद्यालयका शिक्षक दशरथ श्रेष्ठले भने, ‘जनप्रतिनिधि भएपछि स्वास्थ्य चौकीको सेवामा सुधार आएको छ ।’ मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य चौकीमा मात्र होइन, राक्सिराङ गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य चौकीको स्वास्थ्य सेवामा सुधार आएको छ । राक्सिराङ गाउँपालिकास्थित चैनपुर, खैराङ, काँकडा र सरिखेतस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अहिले नियमित रूपमा उपस्थित हुने गरेका छन् ।


गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यले समयसमयमा स्वास्थ्य संस्थाको अनुगमन गर्ने गरेका छन् । मकवानपुर गढी गाउँपालिकाले ८ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेर गाउँपालिकाका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याएको छ ।


‘विगतमा चारवटा वडामा मात्र स्वास्थ्य संस्था थियो,’ गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले भने, ‘अहिले चारवटा वडामा स्वास्थ्य संस्था सहज पहुँचमा स्थापना गरेर नियमित रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छाँै ।’ स्थापना गरिएका स्वास्थ्य संस्थामा अहेव, अनमी र कार्यालय सहयोगी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले ८ गाउँपालिका, एक उपमहानगरपालिका र एक नगरपालिकालाई स्वास्थ्य संस्थाहरू हस्तान्तरण गरिसकेको छ । जनस्वास्थ्य कार्यालयले स्थानीय तहलाई स्वास्थ्य संस्थाहरू हस्तान्तरण गरेपछि प्रत्येक गाउँपालिकामा वरिष्ठ अहेवलाई स्वास्थ्य संयोजक तोकेको छ ।


मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक वरिष्ठ अहेव भोला चौलागार्इंले भने, ‘स्थानीय तहको मातहतमा स्वास्थ्य चौकीहरू भएपछि स्थानीयबासीले स्वास्थ्य चौकीबाट नियमित सेवा पाइरहेका छन् ।’

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?