बलात्कारी बाबुलाई १६ वर्ष कैद

प्रताप विष्ट

हेटौंडा — छोरीलाई बलात्कार गरेको ठहर गर्दै ३८ वर्षीय बाबुलाई जिल्ला अदालत मकवानपुरले १६ वर्ष कैद फैसला गरेको  छ ।

बलात्कारी बाबुलाई १६ वर्ष कैद

पीडितलाई ३५ हजार रुपैयाँ पीडकबाट क्षतिपूर्ति भराउने आदेश पनि भएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको आइतबारको इजलाशले हेटौंडा उपमहानगरपालिका—११ का ३८ वर्षीय शम्भु बिक(नाम परिवर्तन)ले १९ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।


अदालतले बलात्कार गरेकोमा ६ वर्ष कैद र हाडनाताकरणी गरेकोमा १० वर्षसमेत गरी १६ वर्ष कैद गर्ने फैसला गरेको हो । सुस्तमनस्थितीकी छोरीलाई बिकले पटकपटक बलात्कार गर्दै आएका थिए । आमाले थाहा पाएपछि ०७३ चैत २० गते जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । प्रहरीले चैत २१ गते बिकलाई पक्राउ गरेको थियो । जिल्ला अदालत मकवानपुरले ०७४ वैशाख २२ गते बिकलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो ।


यसैगरी जिल्ला अदालत मकवानपुरले एक महिलासहित २ जनालाई लागुऔषध कारोबार गरेको ठहर गर्दै जनही २ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाएको छ । जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ ।


जिल्ला न्यायाधीश पियाको आइतबारकै इजलाशले मनहरी गाउँपालिका–६ की ३७ वर्षीया पुजा लामा र बकैया गाउँपालिका—५ का प्रशान्त दर्लामीलाई गाँजा ओसारपसार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।


गत कार्तिक २१ गते लामा र दर्लामीले झोलामा साढे ११ केजी गाँजा लुकाएर वीरगन्जतर्फ लगिरहेको अवस्थामा हेटौंडा रातोमाटे चेकपोष्टका प्रहरीले पक्राउ गरेको थियो । कैद तोकिएकामध्ये पुजा भरतपुर जेलमा छिन् भने प्रशान्त भीमफेदी कारागारमा छन् ।


प्रकाशित : फाल्गुन १३, २०७४ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?