१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आहा यस्तो पो स्कुल !

अध्ययनसँगै प्रयोगात्मक ज्ञान  
अनिश तिवारी

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका कुविण्डेका रमेश नेपाल आफुले सिकेको प्रयोगात्मक ज्ञान खेतबारीमा प्रयोग गर्छन् । सातादिन अघि ड्याङ बनाएर विद्यालय छेउ प्रशस्त आलु फलाएका उनले घरमा आफैले आलु रोपे । 

आहा यस्तो पो स्कुल !

कुविण्डेस्थित सेतीदेवि पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत उनले नमुना कृषक बनेर कुविण्डेलाई समृद्ध बनाउने सपना बुनेका छन् । कृषि बालिविज्ञानबारे करिब ६० प्रतिशत सीप उनले विद्यालयका प्रयोगात्मक कक्षामा सिक्ने गरेका छन् ।


‘सिकाइसँगै कमाइ गर्न जानिएको छ, खुब खुशी लाग्छ ।’ कक्षा छेउको आलुको ड्याङ गोड्ँदै उनले भने । किताबी ज्ञान खासै प्रभावकारी नभएपनि प्रयोगात्मक प्रयोगले बाँच्न सिकाएको उनको बुझाइ छ ।


‘पढ्न लेख्न जान्नु नौलो कुरा होइन्जस्तो लाग्छ, पढाईले बाँच्ने आधार दिए पो जाँगर चल्छ ।’ उनले भने, ‘प्राविधिक प्रयोगबाट कृषिलाई बुझेपछि आत्मनिर्भर बन्नेमा विश्वास पलाएको छ ।’


सेतीदेवि पञ्चकन्या माविका ९ देखि १२ सम्म १ सय ४१ विद्यार्थीले कृषि बाली विज्ञान अन्र्तगत् स्थलगत प्राविधिक प्रयोगात्मक गर्ने गर्छन् । यहाँ आलु, माछापालन्, च्याउ, पुष्पखेतीदेखि फलफूल लगायतका दर्जनौ प्रयोग ४ प्रशिक्षक र २ सहायकबाट विद्यार्थीलाई सिकाइन्छ ।


‘नेपालमा पढेर मात्रै केही हुँदैन’ भन्ने भनाई तथा विदेशमा अध्ययन गर्न जाने प्रवृत्तिलाई यहाँको प्रयोगात्मक शिक्षाले तोडेको कक्षा १२ मा अध्ययन गरिहेकी पुजा न्यौपानेको दाबी छ । ‘बाहिर कृषिको विषयमा अध्ययन गर्न जानेले यहाँको प्रयोगात्मक शैलीलाई हेरे बुझा हुन्छ,’ उनले भनिन् ।


कृषि बालीको प्राविधिक शिक्षालाई उनले उत्कृष्ट सिकाइको रुपमा लिएकी छिन् । ‘यो शिक्षाले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ,’ उनले उत्साहसाथ भनिन्, ‘भविष्यमा कृषक या कृषी विशेषज्ञ बन्छु भनेर म ढुक्कसाथ भन्न सक्छु ।’


पुजा च्याउदेखि आलु, पुष्पखेतीको विषयमा सिकेर अब्बल भइसकेकी छिन् । ‘कहाँ लगेर बेच्ने, कहाँबाट बिउ ल्याउने र कसरी रोपेर उमार्ने सबै जानिसकेकी छु ।’ उनले भनिन्, ‘अब विदेश जाउँ भन्ने लागेको छैन्, कृषिमा केही फरक उत्पादन गरेर देखाउने योजना बनाइसकेको छु ।’

रटाइ र कक्षागत किताबी ज्ञानले मात्रै केही नहुने र प्रयोगात्मक शिक्षाले केही परिर्वतन ल्याउनेमा उनीहरुको एकमत छ । पुजा र रमेश मात्रै होइनन्, पञ्चकन्याभरका बालबालिका कृषि विज्ञानको सिकाईसँगै कृषी पेशातर्फ आर्कषित भएका छन् ।


विद्यालयको वरिपरीका झण्डै साढे सात रोपनी खेतमा विद्यार्थीलाई प्रयोगात्मक ज्ञान सिकाइन्छ । कक्षा १० की स्वस्तिका बैजुले सुरुवातमा किन दु:ख दिइएको होला भन्ने लागेपनि ‘आत्मनिर्भर बनाउन ज्ञान दिइएको’ भन्दै खुशी व्यक्त गरिन् । विगतका वर्षहरुमा कृषिमा खासै भविष्य नदेखेकी उनले जीवनशैली नै परिर्वतन भएको बताइन् । घरमा बाबुआमालाई उल्टै कृषि उत्पादनमा सघाउन र सिकाउन सक्ने भएपछि थाहै नपाई जाँगर बढै गएको छ उनको ।


विद्यार्थीसमूहबाट उत्पादित सामाग्री विद्यालयकै लागि खर्चने गरेको प्रधानध्यापक बालकृष्ण न्यौपानेले बताए । ‘प्रयोगात्मक ज्ञान दिइने भएकाले यसप्रति आर्कषण बढो छ ।’ उनले भने, ‘शिक्षणसँगै सीपमूलक शिक्षा दिए सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिन्छ ।’


सामुदायिक विद्यालयमै कृषि प्राविधिक शिक्षाबारे अभ्यास गराएर रोजगारी सिर्जना गर्ने माध्यम सिकाएको उनले सुनाए । २०७० सालमा कृषि बालिविज्ञानको विषयमा अभ्यास गराउन सुरु गरेको सेतीदेवि पञ्चकन्या मावि नमुना विद्यालयको रुपमा अगाडी बढै छ । कृषि विज्ञानअन्र्तगत माध्यमिक तहमा पहिलोपटक प्रयोगात्मक कक्षा संचालन गर्न धेरै कसरत गर्नुपरेको तितो अनुभव पनि हालैको सफलताले विर्सेको न्यौपानेले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?