१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्पतालमा अलपत्र

फातिमा बानु

काठमाडौँ — ट्रमा सेन्टरको बेड नम्बर ६४९ मा पल्टेका छन् । कम्मरमुनिको भाग लाटो भएको महसुस गर्छन् । उनी हुन्, बाराको सिमराबाट उपचार गर्न आएका ५६ वर्षीय जुद्धबहादुर राई ।

अस्पतालमा अलपत्र

बुधबार घाँस काट्ने क्रममा रूखबाट लडेर उनी गम्भीर घाइते भए । उनी सिमराको थानीमाई सामुदायिक वनरक्षक (पाले) का रूपमा काम गर्दै आएका थिए ।

अस्पताल भर्ना भएको पाँच दिन बितिसक्दा पनि उपचार सुरु नहुँदा उनी र उनका परिवार चिन्तित भएका छन् । बेडको छेउमा बसेकी छन् श्रीमती । बिरामी श्रीमान्का घरी खुट्टा मिचिदिन्छिन्, घरी औंलाहरू तन्काइदिन्छिन् । बेस्सरी चिमोटिदिँदा पनि श्रीमान्ले कुनै प्रतिक्रिया नदिएपछि उनी लामो सुस्केरा हाल्छिन् । भन्छिन्, ‘यिनका हातगोडा चलेनन् भने मलाई कसले पाल्छ, कसले हेर्छ’ । वीरगन्जको हेल्थ केयर हस्पिटलमा दैनिक बेडचार्ज आठ हजार खर्च धान्न नसक्ने भएपछि ट्रमा सेन्टर ल्याउनुपरेको उनकी छोरी शोभा राईले बताइन्  । भन्छिन्, ‘दाजुभाइ छुट्टिएर गएपछि हाम्रो वास्ता गर्दैनन्, दिनकै आठ हजार तिरेर उपचार गर्ने स्थिति छैन हाम्रो ।’


काठमाडौं आएपछि यसै पनि खानबस्नमै उनको २५ हजार रुपैयाँ खर्च भइसकेको छ । उपचार त सुरु भएकै छैन कति लाग्छ, कहाँबाट ल्याउने भनेर उनी पिरोलिएकी छन् । सम्पत्तिका नाममा पुराना भित्ताहरू मक्किएको घर छ, घर पनि के भन्नु झुप्रो छ । केही महिनाअघि मात्रै राति सुतेका बेला मक्किएको भित्ता भत्किएर राई घाइते भएको शोभाले सुनाइन् ।

आइतबार अस्पतालका हाड तथा नसारोग विशेषज्ञ डा. गौरव ढकाल आएपछि उनीहरू एकछिन हर्षित भएका थिए । उत्तिखेरै डाक्टरको जवाफले निराश पनि भए । ‘तपाईंको बिरामीको कतै लगे पनि उपचार हुन सक्दैन, शल्यक्रिया गरिदिने भए म गरूँला ।’ यति भनेर राउन्ड सकेका डाक्टर फेरि आउलान् र कुनै निणर्य लिउँला भनेर उनीहरू अस्पताल परिसरमा अलमल गर्दै बसेका छन् ।

बिरामी हलचल गर्न नसकेपछि उनलाई दिसापिसाब गर्न समस्या छ । दिसापिसाब नआउने औषधि खाएर बसेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?