१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कछुवा गतिमा पुनर्निर्माण 

साढे सात हजार लाभग्राहीसँग अझै अनुदान सम्झौता हुन सकेन 
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको पुनर्निर्माण कार्य कछुवाको गतिमा अगाडि बढिरहेको छ । ७ हजार ६ सय ७ जना लाभग्राहीसँग हालसम्म अनुदान सम्झौता हुन सकेको छैन ।

कछुवा गतिमा पुनर्निर्माण 

भूकम्पले घर भत्केको ३४ महिनामा जम्मा ९ हजार ५ सय ५ जना लाभग्राहीले मात्र घर बनाउन सुरु गरेका छन् । निर्माण कार्य सुरु गरेकामध्ये ३ हजार २ सय १४ भूकम्पपीडितले मात्र घरको निर्माण कार्य पूरा गरेका छन् । १ हजार ७ सय २ लाभग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् ।

सरकारीबाट ९ सय ९ र गैरसरकारी संस्थाबाट ७ सय १३ लाभग्राहीले तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सुदीप आचार्यले बताए । मकवानपुरमा टियरफन्डको सहयोगमा राडो नेपालले साबिकको २ गाविस र रेडक्रसले एक गाविसका भूकम्पपीडित आवास बनाउने सहयोग गरेका छन् । पहिलो किस्ता लिने लाभग्राही र दोस्रो किस्ता लिने लाभग्राहीको संख्या अत्यन्त फरक परेकाले समस्या भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मकवानपुर इकाईका प्रमुख पुष्पराज अधिकारीले भने, ‘पहिलो किस्ता लिनेहरू घरका जग पूरा गरेर दोस्रो किस्ताको पनि प्रक्रिया अगाडि बढाउनुपर्नेमा त्यस्तो देखिएन ।’

मकवानपुरमा ३१ हजार ८ सय १७ लाभग्राही छन् । तीमध्ये २४ हजार २ सय १० लाभग्राहीले अनुदान सम्झौता गरेका थिए । तीमध्ये २२ हजार ९ सय ४७ ले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसकेका छन् । दोस्रो किस्ता ६ हजार २ सय ६९ जनाले मात्र लगेका छन् ।


सरकारीतर्फबाट ५ हजार २ सय ४० र गैरसरकारी संस्थाबाट एक हजार २ सय गरी ६ हजार २ सय ६९ जना लाभग्राहीले मात्र दोस्रो किस्ता बुझेका छन् । पुनर्निर्माण प्राधिकरण इकाईका प्रमुख अधिकारीले १६ हजार ६ सय ७८ जना पहिलो किस्ता लिने लाभग्राही के गर्दै छन्, अत्तोपत्तो नभएको बताए । ‘पहिलो किस्ता लिनेमध्ये ९ हजार ५ सय ५ जना लाभग्राहीले सुरु गरेको पुनर्निर्माणको कार्य पनि कछुवाकै गतिमा छ,’ गैरसरकारी संस्था मकवानपुरका अध्यक्ष कृष्ण धितालले भने, ‘यस्तो गतिले पुनर्निर्माण कार्य ५ वर्षमा सकिन्न ।’

मकवानपुरका ३ वटा साबिकको गाविसका लाभग्राहीको आवास भवन पुनर्निर्माण गर्ने जिम्मेवारी २ वटा गैरसरकारी संस्थाले लिएका छन् । ७ सय ९३ लाभग्राहीले तेस्रो किस्ता पनि बुझिसकेका छन् । जिल्लामा टिस्टुङ, आग्रा र गोगनेमा दुई गैरसरकारी संस्थाले सम्बन्धित निकायसँग अनुमति लिएर निजी आवास भवन बनाउन लाभग्राहीलाई सरकारले उपलब्ध गराउने अनुदान रकम किस्ताबन्दीको रूपमा उपलब्ध गराएको छ । अनुदान सम्झौता हुन नसकेका साढे सात हजारभन्दा बढी लाभग्राहीहरू अहिलेसम्म पनि अन्योलमा छन् । घर कसरी बनाउने भनेर उनीहरू पीडामा छन् । आफ्नो नाममा जग्गाको स्वामित्व नभएकाले भूकम्पपीडित भए पनि सम्झौता गरेर अनुदान रकम पाउन सकेका छैनन् । ‘पहिलो किस्ता रकम लगेका अधिकांश पुनर्निर्माण कार्य गरेका छैनन् ।’

भूकम्पीय आवास परियोजना इकाईका संयोजक एवं जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमिल्सिनाले भने, दोस्रो किस्ता लिन घरको जग बनाउनुपर्छ, अधिकांशले त्यसो नगरेको भएर होला, दोस्रो किस्ता लिन आउनेको संख्या अत्यन्त न्यून छ ।’

उनका अनुसार भूकम्पपीडितहरूसँग अनुदान सम्झौता हुन नसक्नुमा जग्गाधनी पुर्जाको अभाव, सुकुम्बासी, पुनर्वासको मुद्दा, बहुस्वामित्व, लाभग्राहीहरू विदेशमा, सम्पर्कमा नआएका, घरायसी विवादलगायत विविध समस्या रहेको छ । त्यसमध्ये अधिकांश जग्गा धनीपुर्जा अभावले गर्दा अनुदान सम्झौता हुन सकेको छैन । सरकारले यो गाँठो फुकाउने प्रयास गरेको पनि देखिँदैन,’ जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले भने, समस्याको समाधान सरकारले तत्काल निकालेर भूकम्पपीडितहरूलाई राहत दिनुपर्छ ।’

मकवानपुरमा पुनर्निर्माण भएका घरहरूको सर्वेक्षण गर्न अहिले गाउँगाउँमा सय जना इन्जिनियर खटिएका छन् भने गुनासो गरेकाहरू पुन: सर्वेक्षण गर्न थप ४८ जना इन्जिनियरहरू परिचालन भएका छन् । मकवानपुरमा २३ हजार ९ सय ६१ गुनासाहरू दर्ता भएकामा शत प्रतिशतको सुनुवाइ भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर रविन पाठकले बताए । प्रबलीकरण/रेट्रोफिटिङ गरेर घर बनाउने लाभग्राहीको संख्या ४ हजार १ सय ५० रहेको छ । तीमध्ये ८ सय २६ लाभग्राहीले मात्र पहिलो किस्ता रकम बुझेका छन् । पहिलो किस्ता लगेका अधिकांशले घर बनाउन जग हालेका छैनन् भने अर्कोतिर बनाए पनि आफूखुसी बनाएकाले दोस्रो किस्ता अनुदानका निम्ति माग गर्न नसकेका हुन् । आफूखुसी बनाएका भवनहरू भूकम्पप्रतिरोधी छैनन् । मकवानपुरको दुर्गम भेगका अधिकांश भूकम्पपीडितले पहिलो किस्ताको रकमले भूकम्पले चिरा परेका वा भत्केको घर मर्मत गरेर बसेका छन् । केहीले पहिलो किस्ता रकम लिए पनि त्यत्तिकै खर्च गरेर सकेका छन् ।

रेट्रोफिटिङको काम थालेनन्

नुवाकोट– निजी आवास पुनर्निर्माण अन्तर्गत रेट्रोफिटिङ गरेर घर बनाउने भूकम्पपीडितले अझैसम्म काम थालेका छैनन् । रेट्रोफिटिङ गर्ने लाभग्राहीको संख्या ९ सय ३६ छ । ती मध्ये ९ जनाले निजी आवास पुननिर्माणमा सम्झौता गरेका छन् । उनीहरूलाई पनि पहिलो र दोस्रो किस्ता ५०/५० हजार रुपैयाँ दिने जिल्ला कार्यान्वयन इकाई प्राविधिक कार्यालयले जनाएको छ ।

जिल्लामा लाभग्राहीको संख्या ६९ जहार २ सय ८९ छ । त्यसमध्ये पहिलो किस्ता लिनेमा ६५ हजार ३ सय ७ छन् । उनीहरूले ३ अर्ब २६ करोड ५३ लाख ५० हजार रकम बैंक खातामा पठाइसकेको छ । त्यस्तै, दोस्रो किस्ता लिनेमा २७ हजार ९ सय ५१ लाभग्राही छन् । यस बापत् ४ अर्ब १९ करोड २६ लाख ५० हजार रुपैयाँ बैंक खातामा पठाइसकेको छ । तेस्रो किस्ता लिनेमा ३ हजार २१ छन् । यसबापत् ३० करोड २१ लाख रुपैयाँ रकम खातामा पठाइसकिएको जिल्ला कार्यान्वयन इकाई जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । कार्यान्वयन इकाईका अनुसार जिल्लाका भूकम्पपीडितको खातामा ७ अर्ब ७६ करोड रुपैयाँ खाता गइसकेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?