कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘सेमेस्टरले नतिजा सुध्रियो’

कान्तिपुर संवाददाता

चितवन — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षाशास्त्र संकायको स्नातकोत्तर तह (एमएड) मा सेमेस्टर प्रणाली सुरु गरेपछि परीक्षाको नतिजामा पनि सुधार भएको छ । त्रिविले दुई वर्षअघि कीर्तिपुरको केन्द्रीय क्याम्पस र गत वर्ष उपत्यकाका क्याम्पसहरूमा एमएडमा सेमेस्टर प्रणाली सुरु गरेको थियो ।

यो वर्षदेखि एमएडमा देशभर सेमेस्टर प्रणाली सुरु भएको छ । ‘निकै बाधा व्यवधानहरूबीच त्रिविले एमएडमा सेमेस्टर प्रणाली सुरु गरेको हो । विरोध पनि भयो । तर अनुभवले के देखायो भन्दा सेमेस्टर प्रणालीले नतिजा सुधार्न मद्दत गरेको छ,’ सोमबार भरतपुरमा आयोजित कार्यक्रममा त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले भने ।

डिनको कार्यालयले सेमेस्टर प्रणालीसम्बन्धी भरतपुरमा दुईदिने गोष्ठी आयोजना गरेको छ । ‘केन्द्रीय क्याम्पसकै कुरा गर्नुहुन्छ भने २५/३० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली लागू भएपछि परीक्षा दिनेमध्ये ८० प्रतिशत उत्तीर्ण भएका छन्,’ उनले जानकारी दिए ।

८० प्रतिशतभन्दा कम हाजिर भए विद्यार्थीले परीक्षा दिन पाउँदैन । प्राय: कक्षामा आउने भएपछि नतिजामा सुधार भएको डिन गौतमको अनुभव छ । सेमेस्टर प्रणालीले विद्यार्थी भर्ना हुने दर भने घटेको उनले बताए । उनको अनुभवमा सेमेस्टर प्रणालीले गर्दा लगभग आधा विद्यार्थी कम भएका छन् ।

भर्ना हुने तर पढ्न नजाने परीक्षा दिन मात्रै जाने चलन सेमेस्टर प्रणालीपछि हटेको उनले बताए । विद्यार्थी कम भए पनि सेमेस्टर प्रणाली गुणस्तरीय शिक्षाका लागि अपरिहार्य भएको त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले बताए । ‘अहिले त्रिविमा ४ लाख विद्यार्थी छन् । विश्वका राम्रा विश्व विद्यालयमा १ लाख पनि विद्यार्थी हुँदैनन् । त्यसैले हामीलाई संख्या धेरै चाहिएको हैन पढ्ने विद्यार्थी चाहिएको हो । यसका लागि सेमेस्टर प्रणाली उत्तम छ,’ उनले भने ।

सेमेस्टर प्रणालीले शिक्षक विद्यार्थी भेटघाटै नहुने अवस्था अन्त्य भएर जाने उनले बताए । ‘सेमेस्टर प्रणाली भनेको पढ्ने विद्यार्थी र पढाउने प्रध्यापक फुलटाइम लाग्नुपर्छ । भर्ना भयो नपढ्ने, क्याम्पसमा जागिर खायो नपढाउने भन्ने हुँदैन । जब शिक्षक र विद्यार्थीको नियमित अन्तक्र्रिया हुन्छ, शिक्षा गुणस्तरीय बन्छ,’ खनियाले भने ।

त्रिवि आफ्नैका २० आंगिक र सम्बन्धन लिएका ९३ क्याम्पसमा अहिले एमएडको पढाइ हुने गर्छ । स्नातक तह पनि पढाउने कलेजहरू ८ सय हाराहारीमा छन् । एमएडमा सुरु भएको सेमेस्टर प्रणाली बीएडमा पनि सुरु हुने उपकुलपति खनियाले बताए । ‘तलबाट सुरु गरेर माथि जानुपर्ने हो तर माथिबाटै सुरु भयो । यो अनुभवले अब हामी बीएडमा पनि सेमेस्टर लागु गर्छौ,’ उनले भने ।

सेमेस्टरमा जान नचाहने विद्यार्थी खुला विश्वविद्यालयमा जान सक्ने विकल्प रहेको उनले बताए । शिक्षाशास्त्र पढाइ हुने भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष टेकबहादुर थापाले झारा टराईको पढाइ हुने गरेको हुँदा सेमेस्टर प्रणालीले यसलाई सुधार गर्ने आशा राखे । उनले भने, ‘भर्ना भएपछि एकैपटक वर्ष दिनमा परीक्षा दिन आउने परिपाटी छ । त्यो अन्त्य होला ।’

प्रकाशित : फाल्गुन १५, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?