२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रहरीलाई मोटरसाइकल घाँडो 

सवारीधनी कुर्दै ट्राफिक
शिल्पा कर्ण

काठमाडौँ — रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाको हाताभित्र पस्नेबित्तिकै दाहिने छेउमा मोटरसाइकल राखिएका देख्न सकिन्छ । आएका सेवाग्राहीका साथै प्रहरीका नयाँ, सफा मोटरसाइकलका बीचमा धूलोले छोपिएका पुराना मोटरसाइकल पनि छन् ।

प्रहरीलाई मोटरसाइकल घाँडो 

त्यहाँ मात्र होइन, कार्यालयको भवन पछाडि पनि दुईतिर मोटरसाइकल राखिएको छ । अगाडिको भागमा भन्दा पछाडिका मोटरसाइकल जीर्ण छन् । पछाडिको मोटरसाइकलका कतिपय पाटपुर्जा पुरानो भएर कामै नलाग्ने समेत भइसकेका छन् ।


कार्यालयको अझै भित्र छिर्दा मोटरसाइकल र २/४ कार थुपारिएका छन् । विभिन्न दुर्घटनामा परेका वा वास्तविक सवारीधनी फेला नपरेपछि ट्राफिक प्रहरी ती सवारीसाधन लिन प्रमाणसहित आउने सवारीधनी कुरेर बसेका छन् । महाशाखाका प्रवक्ता उमेश रंजितकार ती सवारीसाधनले आधाभन्दा बढी क्षेत्र ओगटेकाले कठिनाइ भएको बताउँछन् । दिनहुँ आउने सेवाग्राहीका सवारीसाधन, ट्राफिक प्रहरीको आफ्नै गाडी र मोटरसाइकल व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।


अहिले त्यहाँ ६ सय हाराहारीमा मोटरसाइकल तथा कार छन् । महाशाखाका प्रवक्ता रंजितकारले भने, ‘हामीले विवरण खुलाएर साइट र फेसबुकमा राख्दिन्छौं । सवारीधनीले कहिले लिएर जान्छन् भनी कुर्नुबाहेक विकल्प छैन ।’ प्रहरीले सवारीधनी नआएसम्म सुरक्षितसाथ राखिरहनुपर्ने भएकाले यति धेरै सवारी थुप्रिएको उनले बताए । ललितपुर ट्राफिकमा पनि समस्या उस्तै छ । प्रहरी निरीक्षक सीताराम हाछेंथु भन्छन्, ‘लगभग डेढ सय मोटरसाइकल छन् यहाँ । सेवाग्राही र हाम्रो सवारीसाधन राख्ने स्थानसमेत छैन ।’


ब्लुबुक नभएको मोटरसाइकल प्रतिदिन झन्डै ८/९ पक्राउ गरिरहने र त्यसताले धेरै समयपछि मात्र कागजातसहित सवारी लिन आउने गरेका छन् । त्यस अवधिमा प्रहरीले सुरक्षित रूपमा सवारीसाधन राखिरहनुपर्ने हुन्छ । ‘थुपारेर राखिरहने ठाउँ छैन, जथाभावी असुरक्षित ठाउँमा राख्न पनि सक्दैनौं । लिलामी प्रक्रियामा लैजाने अधिकार पनि छैन,’ हाछेंथुले थपे, ‘सवारी धनीले लिन नआएका गाडी प्रत्येक ६/६ महिनामा बग्गीखानामा पठाइदिने गरेका छौं ।’


उपत्यकाका अन्य वृत्तमा राख्ने ठाउँ नभएपछि ति पनि बिस्तारै महाशाखामै थुप्रिएका छन् । ट्राफिक वृत्त कालीमाटीमा पनि स्थिति फरक छैन । वृत्तका खाली स्थानमा मोटरसाइकल थन्क्याइएका छन् । पुराना मोटरसाइकल र स्कुटर दुवै लामो समयदेखि भुईंमै फालिएपछि तिनका बीचमा घाँसपात उम्रिसकेको छ । बौद्ध ट्राफिक प्रहरी कार्यलय बाहिर चेन लाएर मोटरसाइकल तथा स्कुटर राखिएको देख्न सकिन्छ । त्यहाँबाट पछिल्लो १ वर्षमा ५० जति सवारीसाधन स्थान अभावमा बग्गीखाना पठाइएको तथ्यांक छ ।


कतिपय सवारी दुर्घटनाको मुद्दा अदालतमा चलिरहँदा ती सवारी पनि ट्राफिकमै रहन्छ । नयाँ बसपार्क ट्राफिक वृत्तमा सवारी चाप बढो छ । ‘कतिपय अवस्थामा मापसेको कागजपत्र हुन्न । अनि चिट काट्न नसकेपछि सवारीसाधन राख्छौं,’ एक प्रहरीले भने, ‘किस्तामा सवारीसाधन किन्नेसँग पनि कागजात हुन्न । यस्तोमा १५ दिनदेखि ६ महिना पछिसम्म पनि गाडी लिने आइरहेका हुन्छन् ।’ त्यस्तै २/३ वर्ष अघि ल्याइएका गाडी पनि यहाँ छन् ।


सवारीसाधन किनेर बिदेसिने संख्या पनि उच्च छ । प्रवक्ता रञ्जितकारले भने, ‘ब्लुबुक भएको मान्छे विदेशमा हुन्छ । उनी नआएसम्म सवारीसाधन अरूले लान पाउँदैन । जति पुरानो भयो सोधखोज गर्ने हुन्नन् ।’ कानुनमा त्यस्ता सवारी के गर्ने सो व्यवस्था नभइदिँदा जुनसुकै समयमा सवारीधनी कागजात लिएर आउँदा दिनुपर्ने अवस्था रहेको छ । प्रहरी महाशाखा रामशाहपथमा घामपानी, धूलोमै सवारी राख्नुबाहेक अन्य उपाय छैन ।

प्रकाशित : फाल्गुन १५, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?