कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

परम्परागत शैलीका बस्ती जोखिममा

‘परम्परागत चुना सुर्की र काठबाट निर्मित घर ढलान घरभन्दा पनि बढी सुरक्षित हुन्छ’
प्रशान्त माली

ललितपुर — जिल्लाका परम्परागत नेवार बस्तीका पुराना मौलिक शैलीका घरको अस्तित्व लोप हुने खतरामा बढेको छ । भूकम्पमा भत्केका घर पुनर्निर्माण गर्ने केहीले पुरानो शैलीमा निर्माण गर्दा महँगो पर्ने भन्दै आधुनिक शैलीमा बनाउन थालेको हो ।

परम्परागत शैलीका बस्ती जोखिममा

स्थानीयले मल्लकालीन अस्तित्व लोप हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले निश्चित मापदण्ड निर्माण गर्नमा स्थानीय जनप्रतिनिधि समक्ष जोड दिएका छन् ।


पूर्व संस्कृति मन्त्री बुद्धिराज वज्राचार्य भन्छन्, ‘सम्पदा बस्तीमा घर मौलिक शैलीमा निर्माण हुनुपर्छ ।’ उनले मुलुकको गहनाको रूपमा रहेका पुराना शैलीका घरको पुनर्निर्माणमा सहयोग गर्न जनप्रतिनिघिले विषेश ध्यान पुर्‍याउनु पर्ने बताए । ‘स्थानीय निकायले आधुनिक शैलीमा पुनर्निर्माण थालेका घरधनीलाई तत्काल पुरानो शैलीमा निर्माण गर्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘अधिकांश पर्यटक नेपाललाई जीवित संग्रहालयका रूपमा हेर्न आउने गरेका छन् ।’


उनले पुराना वास्तुकलाका शैलीका घर नै नरहेपछि पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्ने बताए । ‘पुराना शैलीका घरले विभिन्न शासनकालका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छन्,’ उनले भने । जिल्लाका हरिसिद्धि, खोकना, बुङगती र पाटन पिलाछेँबाहेक अन्य कोर क्षेत्रमा एकीकृत बस्ती पुनर्निर्माण योजना बन्न सकेको छैन । उपत्यकामा ९० सालको भूकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएका मल्लकालदेखि राणाकालीनसम्मका पुराना वास्तुकलाका घर छन् ।


पौराणिक चित्रकला, विशेष बुट्टा भएका घर १७ औं शताब्दीसम्मका पुराना शैलीका छन् । ऐतिहासिक महत्त्वका घर भूकम्पले नराम्रोसँग क्षति पुग्यो । आर्किटेक मणिकृष्ण श्रेष्ठ भन्छन्, ‘परम्परागत चुना सुर्की र काठबाट निर्मित घर ढलान घरभन्दा पनि बढी सुरक्षित हुन्छ ।’ उनले मौलिक घर जाडो याममा न्यानो र गर्मीमा शीतल हुने बताए । ‘दम, हाडजोर्नी, शरीर सुन्निने बिरामीलाई यस्ता घर सुरक्षित हुन्छन्,’ उनले भने, ‘नेवार बस्तीमा नयाँ छुट्टै मापदण्ड बनाएर लागू गर्न सकिएन भने पुराना वास्तुकला शैलीका घर हराउने खतरा छ ।’


उनले आधुनिक शैलीका घर निर्माण गर्नेलाई नगरपालिकाले कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने बताए । ‘मौलिक शैलीमा निर्माण थाल्नेलाई पुरस्कृत गनुपर्छ,’ उनले भने । मौलिक घरमा झिगटी छाना, रंग पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग हुन्छ । बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ । सत्तर, रेलिङका झ्यालढोका प्रयोग गर्न पाइनेछैन ।


पर्यटकलाई लक्षित गरि बनाइएको घरको भुईंतलामा क्याफे, क्युरी सप, दोस्रो तलामा होम स्टे, लज र तेस्रोमा किचेन रहने व्यवस्था छ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले लुभु, सानोगाउँलगायत नगरका मल्लकालीन बस्तीलाई नेवार वास्तुकला शैलीमै पुनर्निर्माण गर्ने नीति बनाउने तयारी भइरहेको बताए । ‘सार्वजनिक तथा निजी संरचना पुनर्निर्माणमा सटर, रेलिङ, स्टिलको झ्यालढोकालगायत आधुनिक सामग्री प्रयोगलाई निरुत्साहित गर्न छिट्टै मापदण्ड निर्माण गर्ने योजना छ,’ उनले भने ।


‘आधुनिक शैलीमा नव निर्माण थाल्नेलाई पुराना वास्तुकला तरिकाले निर्माण गराउने वातावरण बनाइनेछ,’ उनले थपे । उनले एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आइरहेको बस्ती लोप भएमा परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदामा समेत गम्भीर असर पर्नेमा चिन्ता व्यक्त गरे । उनका अनुसार प्राविधिकका छलफल भइसकेको छ । प्राविधिकहरूका अनुसार ४ तलेसम्मको भवन निर्माण गर्न सकिनेछ । भुईंतलामा पर्यटक आकर्षित गर्न काष्ठकला, संग्रहालय, प्रशिक्षण केन्द्र, क्याफे, रेस्टुरेन्टका रूपमा विकास गर्न पनि बनाइनेछ ।


पहिलो तलामा गेस्टहाउस, होमस्टे, सर्भिस अपार्टमेन्टका रूपमा विकास गरिनेछ । त्यसभन्दा माथिल्ला तलाहरूमा घरधनी बस्न सक्ने प्रकृतिका घरका नमुना तयार पार्न पनि सकिनेछ साथै सार्वजनिक संरचना निर्माण गर्दा अन्तरक्रिया क्षेत्र, पार्किङ र बालबालिकाको खेलकुद स्थल छुट्याउनुपर्ने गरी मापदण्ड तयार पार्न सकिने मेयर श्रेष्ठ बताउँछन् । आधुनिक शैलीमा घरको पुनर्निर्माण ललितपुरका नेवार बस्तीमा मात्र नभएर भक्तपुर, काठमाडौं र कीर्तिपुरमा समेत धमाधम हुन थालेका छन् ।

प्रकाशित : फाल्गुन १५, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?