उत्पादन हुन थाल्यो सिटामोल

फातिमा बानु

काठमाडौँ — सरकारी स्वामित्वको कम्पनी औषधि लिमिटेडले सिटामोल उत्पादन सुरू गरेको छ । तीन दिन परीक्षण उत्पादन गरेपछि सोमबारबाट कम्पनीले व्यावसायिक सिटामोल उत्पादन थालेको हो ।

उत्पादन हुन थाल्यो सिटामोल

फागुनभरि उत्पादन मात्रै गर्ने र चैतबाट सिटामोल बजारमा वितरण गर्ने लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए । ‘बनाउँदै बजार लाँदै गर्दा सबै वितरकलाई दिन पुग्दैन, एकमुष्ठ उत्पादन गरेर सबै वितरककहाँ औषधि पुर्‍याउने हो,’ उनले भने ।

कम्पनीबाट एकपटकमा ८० हजार सिटामोल उत्पादन हुन्छ । परीक्षण उत्पादन पनि ८० हजार सिटामोल निकालिएको थियो, जुन बजारमा जानेछैन । एक ब्याचमा भने तीन लाख २० हजार सिटामोल निकाल्ने लक्ष्य लिएको छ । लक्ष्यअनुरूप ट्याब्लेट निकाल्न एक साता लाग्ने सुवेदीले बताए । ‘१० लाख सिटामोल ट्याब्लेट निस्केपछि बजारमा पठाउने हो, भ्याइनभ्याइ छ,’ उनले भने । सिटामोलको बजारमूल्य एक रुपैयाँ तोकिएको छ । सिटामोल उत्पादनकै लागि भनेर कम्पनीले ५० लाख रुपैयाँको उपकरण भित्र्याएको छ ।

उपकरण जडानका लागि कम्पनीले भारतबाट इन्जिनियर झिकाएर काम थालनी गरेको छ । औषधि बन्नका लागि आवश्यक कच्चा पदार्थ भने भारत, स्विजरल्यान्ड, चीन र जर्मनीबाट झिकाइने कम्पनीको उत्पादन प्रमुख विजयश्रीरत्न वज्राचार्यले बताए । सिटामोलबाहेक कम्पनीले बजारमा धेरै खपत हुने एन्टिबायोटिक औषधिसमेत उत्पादन गर्ने लक्ष्य लिएको छ । ‘सरकारले बजेट दिने हो भने जति थरी ट्याब्लेट पनि निकाल्न सकिन्छ, धेरै माग हुने आइरन चक्की र जुकाको औषधिलाई जोड दिएका छौँ,’ डा.सुवेदीले भने ।

औषधि उत्पादनका लागि भनेरै भत्किएको पुरानो भवनसमेत पुनर्निर्माण गरिएको छ । पुरानो कारखाना भवन रङरोगन र झ्यालढोका मर्मतसम्भार गरेर व्यवस्थित पारिएको छ । कारखाना पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप बनेको छ । कम्पनी ६ वर्ष बन्द भएपछि वैशाखदेखि फेरि सञ्चालनमा आएको हो । त्यतिबेलादेखि जीवनजल र ग्लिसिरिन उत्पादनलाई निरन्तरता दिइरहेको छ । कम्पनीले डेढ करोड लगानीमा एकपटकमा ६० प्याकेट जीवनजल उत्पादन गर्न सक्ने नयाँ उपकरणसमेत जडान गरिसकेको छ ।

औषधि उत्पादनका लागि कम्पनीलाई अर्थ मन्त्रालयले १४ करोड ६५ लाख रुपैयाँ बजेट निकासा गरेको छ । मन्त्रालयले पहिलो चरणमा ६ करोड ४८ लाख रुपैयाँ दिए पनि बाँकी रकम नआएको कम्पनी सञ्चालक समिति सचिव टीकाराम अर्यालले बताए । विगतमा कम्पनीबाट १ सय २० प्रकारका औषधि उत्पादन हुन्थ्यो । विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन मापदण्ड पूरा गर्न नसकेकाले २०६७ सालमा औषधि उत्पादन बन्द गरिएको थियो ।

मापदण्ड व्यवस्थापनका लागि अहिले कम्पनीले गुणस्तर नियन्त्रण शाखा खोलेर अनुसन्धान कार्य अघि बढाइरहेको छ ।

‘अब सरकारले नि:शुल्क दिने रूपमा औषधिका लागि निजी उद्योगमा भर पर्नुपर्दैन, हामी सिटामोलमा आत्मनिर्भर हुन्छौँ,’ सुवेदीले भने । देश सिटामोलमा आत्मनिर्भर नहुँदा बर्सेनि १३ करोड ट्याब्लेट बाहिरबाट आयात हुने स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । कम्पनीले बर्सेनि आठ करोड सिटामोलका ट्याब्लेट उत्पादन गर्ने लक्ष्य लिएको छ । देशभर भने बर्सेनि १५ करोड सिटामोलको माग छ ।

प्रकाशित : फाल्गुन १५, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?