३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘होलीमा जथाभावी रंग प्रयोग नगरौं’

फातिमा बानु

काठमाडौँ — अघिल्लो वर्षको होलीमा ललितपुरका एक युवाले दिनभरि रंग र पानीसँग खेले । पछि उनले अनुहारभरि लागेको होलीको रंग पखाल्न खोजे । पानीले रंग नपखालिएपछि उनले भाँडा माझ्ने साबुनले अनुहार धोए ।

साबुनपानीले पनि रंग नगएपछि छाला बेस्सरी माड्दा माथिल्लो छाला नै खुइलिएको उनले सुनाए । ‘धेरै पोलेको थियो, हस्पिटल नै जानुपर्‍यो,’ उनले भने । गलत साबुनको प्रयोग गरेर जबरजस्ती रंग पखाल्न खोज्दा १५ दिन उनको छालामा संक्रमण भएको थियो ।


वर्ष दिनमा मनाइने होली भन्दैमा अत्यधिक रंग प्रयोग गर्न नहुने छाला रोग विशेषज्ञले सुझाएका छन् । छाला रोग विशेषज्ञ डा. राजनबाबु ताज्या भन्छन्, ‘सकेसम्म रंग मुखभित्र पार्नु हुँदैन, आँखा र नाकलाई पनि बचाउनुपर्छ, संवेदनशील अगंमा रगंले नकारात्मक असर पार्छ ।’ बजारमा बेचिने रंगमा अत्यधिक रसायनयुक्त पदार्थ प्रयोग गरिने हुँदा सतर्कता अपनाउनुपर्ने ताज्या बताउँछन् । केमिकलयुक्त रंग र घामका विकिरण एक–आपसमा मिसिँदा यसले छालामा एकखाले एलर्जी पैदा गर्छ ।


रंग दलेर धेरै बेर घाममा पनि नबस्न उनी सुझाउँछन् । भन्छन्, ‘रंग लगाइहाले पनि अघिपछि भन्दा बाक्लो पारेर अनुहारमा सनस्क्रिन क्रिम लगाउनुपर्छ, कपाल जोगाउन नरिवलको तेल लगाउन सकिन्छ,’ उनले भने । होली मनाउने भन्दै रमाइलोका लागि चिच्चाउने, कराउने गरिन्छ । यसले शरीरमा ‘डिहाड्रेसन’ गराउने हुँदा पानी खाइरहनुपर्ने विशेषज्ञ सुझाउँछन् । त्यस्तै एकैपटकमा रगं फाल्ने नाममा जबरजस्ती अनुहार घोट्ने, कडा साबुन प्रयोग गर्न नहुने उनीहरू बताउँछन् ।


‘यसले अनुहारमा घाउ बनाउँछ, संदेनशील छाला छ भने त सधैंका लागि अनुहार नै बिगर्ने पनि हुन सक्छ,’ डा. ताज्याले भने । रंग प्रयोग गर्दा छाला चिलाउने, पोल्ने अथवा आँखा दुख्ने, रातो हुने समस्या देखिएमा सक्दो चाँडो विशेषज्ञ डाक्टरकहाँ पुग्नुपर्ने उनले बताए । ‘रंगमा प्रयोग गरिने आईसीडी नामको केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पैदा गर्छ । छाला बिगार्छ,’ छाला रोग विशेषज्ञ डा. ललन खतिवडाले बताए ।


केमिलयुक्त रगंले कसैलाई लगाएको ठाउँमा मात्र असर गर्छ भने कसैलाई शरीरभरि डाबर आउने, श्वास फेर्न अप्ठ्यारो हुने समस्या हुनसक्छ । कसैलाई भने बेहोस हुने र स्मरणशक्ति कम हुने समस्या पनि आउन सक्ने उनले बताए । रंगमा शुद्ध पानीबाहेक डिजेल, तेल मिसाउनु हुँदैन । ‘यसले छाला र ओठ सुन्निने हुन सक्छ, आँखा पिरो हुने, नाक पोल्ने बनाउँछ,’ उनले भने । रंग लागे समयमै पखालिहाल्नुपर्ने उनले सुझाए ।

प्रकाशित : फाल्गुन १६, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?