कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकादेशको कथा भयो सोह्रखुट्टे

दामोदर न्यौपाने

काठमाडौँ — पूर्वीय सभ्यतामा पाटीपौवा, मठमन्दिर निर्माण गर्नुलाई धर्मकर्म र सामाजिक सेवाका रूपमा समेत लिइन्थ्यो, अझै पनि लिइन्छ । सोह्रखुट्टे पाटीचाहिँ संस्कृति, धर्मकर्मसँग मात्रै सम्बन्धित छैन ।

एकादेशको कथा भयो सोह्रखुट्टे

यही पाटी हो जहाँ थुप्रै भरिया बास बसेका हुन्थे । काम गरेर लखतरान भएका किसान थकाइ मारिरहेका हुन्थे । कोही बेला राज्यलाई तिर्नुपर्ने कर तिर्नसमेत करदाताको भीड लाग्थ्यो । यसको परिचय यति मात्रै थिएन, खोतल्दै जाँदा योसँग इतिहास पनि जोडिएको छ ।

जुन अहिले नामेट पारिएको छ । झन्डै एक सय वर्षअघि खिचिएको तस्बिर र अहिलेको तस्बिरमा आकाश–जमिनको फरक छ । सन् १९३८ मा खिचिएको तस्बिरमा वल्लो छेउमा ४, पल्लो छेउमा चार र बीचमा एक लाइनमा चार, अर्काे लाइनमा चार गरी १६ वटा खुट्टा टेकेर उभिएको एउटा पाटी देखिन्छ । एकतले छ यो । छानोचाहिँ भिँःगटीको छ । ये जंगलको बीचमा देखिन्छ । यही पाटीको नामबाटै बजारको नामै रह्यो, सोह्रखुट्टे । जंगल मासिएर बस्ती बसेको धेरै भइसक्यो ।

अब जंगलमात्रै मासिएन, सोह्रखुट्टेसमेत एकादेशको कथा भइसक्यो । सडक विस्तार गर्ने क्रममा राति सरकारले डोजर लगाइदियो । यही ठाउँमा अहिले पकनाजोलतिर जाने बाटो बनेको छ । बाटो बनेसँगै झन्डै दुई सय चौध वर्ष पुरानो सत्तल मासिएको छ । ‘हामीले थाहै पाएनौं,’ यहींका स्थानीयवासीसमेत रहेका कला संस्कृति र सम्पदाका अध्येता एकराम सिंह भन्छन्, ‘रातारात डोजर लगाइयो ।’ वि.सं. १८६४ मा बनेको हो यो पाटी । नयाँ बजारमा पाइएको शिलालेखमा यसको निर्माण कपरदार भोटु पाण्डेले बनाएको इतिहासकार बताउँछन् ।

यो सम्पदासँग नेपाल–तिब्बत युद्धको कथासमेत जोडिएको छ । बहादुर शाहको नायबीकालमा वि.सं. १८४५ मा भएको थियो, नेपाल–तिब्बत युद्ध । नेपाली सेनाले कुती र केरुङ गरेर दुईतिरबाट तिब्बतमा आक्रमण गरेका थिए । कुतीतर्फबाट नेपाली फौजको नेतृत्व दामोदर पाँडेले गरेका थिए । यो फौजले कुती आफ्नो अधीनमा लियो । केरुङ तर्फबाट चाहिँ नेपाली फौजको नेतृत्व अमरसिंह थापाले गरेका थिए ।

यो फौजले पनि केरुङ कब्जा गर्‍यो । नेपाली सेनाको विजय हुँदै गएपछि चिनियाँ सेनापतिले युद्धविराम गर्न र नेपालसँग सम्झौता गर्न सल्लाह दिए । त्यही सल्लाहबमोजिम केरुङ सन्धि भयो । यो सन्धिअनुसार नेपाललाई तिब्बतले वार्षिक ५० हजार १ रुपैयाँ बुझाउनुपर्ने भयो । तिब्बततर्फबाट दलाइ लामाका प्रतिनिधि दुनर सेल, हुन थोन, डुप फुनछोपलगायतले हस्ताक्षर गरेका थिए । तिब्बतले यो सन्धि उल्लंघन गर्‍यो । दिनुपर्ने रकम दिएन ।

केरुङ सन्धिको धारामा पुनर्विचार गर्न तिब्बत सरकाले एउटा टोली कुती पठायो । नेपालका तर्फबाट दामोदर पाँडे, बम शाह, शर्मापा लामालगायत कुती गएका थिए । तिब्बतले नेपाललाई बुझाउनुपर्ने रकममध्ये २५ हजार रुपैयाँ मात्रै लिएर आएको थियो । तर नेपालले मानेन । यही क्रममा तिब्बतले नेपाली प्रतिनिधिमण्डलमाथि आक्रमण प्रयास गर्‍यो ।

वार्ताबाट समस्या समाधान नहुने भएपछि बहादुर शाहले युद्धको तयारी गरे । केरुङ सन्धि भएको तीन वर्षपछि फेरि युद्ध सुरु भयो । युद्ध गर्न बहादुर शाहले चार हजार नेपाली सेना कुतीतिर पठाए । तिब्बतले दुई वर्षको दिनुपर्ने रकम नदिएपछि नेपाली सेनाले तासीहुम्पो मठमा लुट मच्चाए । सुनचाँदी हात पारे । मठका नायबीको जिम्मेवारी पाएका डुग्पा टुलुक भागेर चीन गए । तिब्बतमा नेपाली सेनाको विजयको समाचार सुनेर चीनले तिब्बतमा आफ्नो

फौज पठाइदियो ।

चिनियाँ फौजले नेपाली सेनालाई लखेट्यो । नेपाली सेना भागेर रसुवातिर आए । रसुवाको स्याप्रु, धुन्चे बजारसमेत चिनियाँ सेनाले कब्जामा लियो । नेपाली सेना वेत्रावती वारिपट्टि किल्ला बनाएर बसे । चिनियाँ सेना नुवाकोट प्रवेश गर्न चाहन्थे । वेत्रावती तर्न लागेका चिनियाँ सेनामाथि नेपाली सेनाले आक्रमण गर्‍यो । ढुंगामुढा गर्‍यो । नेपालीको गुरिल्ला शैलीको युद्धले गर्दा चिनियाँ सेना वेत्रावती तर्न सकेन । चिनियाँ सेनालाई खानेकुराको संकट पर्न थालेकाले चीन पनि सन्धि गर्न चाहन्थ्यो ।

त्यही भएर १९४९ सालमा नेपाल–तिब्बत–चीनबीच सम्झौता भयो । यसलाई वेत्रावती सन्धि भनिन्छ । यही युद्धमा चिनियाँ सेनाले समातिएकामध्ये थिए भोटु पाँडे । दरबारका शक्तिशाली भोटु नेपाल–तिब्बत युद्धका क्रममा तिब्बती फौजबाट पक्राउ परेका थिए । पक्राउ परेर उनलाई बन्दी बनाइयो । यस अवस्थाबाट मुक्ति पाउन उनले नरदेवीको आराधना गरेका थिए ।

मुक्त भएपछि उनी एकैदिनमा उपत्यका आइपुगे । त्यसपछि उनले नरदेवीलाई खुसी पार्न मठमन्दिर, पाटीपौवा स्थापना गरे । यस्ता संरचना बनाएपछि उनको ख्याति बढ्यो । युद्धबाट बाँच्न सफल भएपछि भोटु कीर्ति राख्ने अभियानमा लागेका थिए । यही अभियानअन्तर्गत पकनाजोल क्षेत्रलाई आफ्नो कीर्ति राख्ने क्षेत्रका रूपमा विकास गर्न अघि सरे । ‘यति लामो इतिहास जोडिएको सम्पदा नामेट भयो,’ सिंह गुनासो गर्छन् ।

पकनाजोलमा नयाँ बजार बसाइदिने र सोह्रखुट्टेमा पाटी संस्कृतिको विकास गराइदिए उनले । उनले बालाजु उद्यान, पुल्चोक र भक्तपुरलगायतमा स्मारक बनाए । उनले सोह्रखुट्टेसँगै नागपोखरी पनि बनाएका थिए । उनले बनाएको पोखरीको एक भागमा अहिले लेखनाथ साहित्य सदन छ । एक भागमा सोह्रखुट्टे हुँदै स्वयम्भू जाने सडक बनेको छ । पाटीसँगै झन्डै चार सयजना अट्ने सत्तल पनि बनाएका थिए । अहिलेजस्तो बस्ने होटल, लज नभएको बेलामा उत्तरतिरबाट सहर पस्नका लागि आश्रयस्थल थियो, त्यो ।

उनले ढुंगेधारा पनि निर्माण गर्न लगाएका थिए । सिंहका अनुसार यो ठाउँ सहर प्रवेश गर्ने नाका हो । यसलाई लामो समयसम्म कर उठाउने ठाउँका रूपमा समेत प्रयोग गरिन्थ्यो । कर तिर्न चारैतिरका मान्छे आउँथे । सोह्रखुट्टेको सांस्कृतिक रूपमा पनि महत्त्व भएको उनी बताउँछन् । ‘चार दिशाका मान्छे आउने र तिनका दुई–दुईवटा खुट्टा जनाउन सोह्रखुट्टा बनाइएको हो,’ उनी भन्छन्, ‘यसको सांस्कृतिक अर्थ पनि छ ।’ सहर प्रवेश गर्ने नाकामा अरू ठाउँमा पनि सोह्रखुट्टे पाटी बनाइएका छन् ।

चापागाउँ, थानकोट, पनौतीलगायत सहरमा अझै पनि सोह्रखुट्टे पाटी छन् । तीसको दशकसम्म यहाँको स्वरूपै बेग्लै थियो । यहाँदेखि लाजिम्पाटसम्म सल्लै सल्लाका रूख थिए । बीच–बीचमा चौर पनि थिए । ‘यो ठाउँलाई सल्लाघारी भनिन्थ्यो,’ सिंह भन्छन्, ‘हेर्दाहेर्दै सल्लाघारी मासियो । चौर मासिए । अहिले लाजिम्पाटमा सल्लाघारी छ । यहाँको सल्लाघारी त्यहाँसम्म जोडिएको थियो ।’ यसलाई कान्तिपुर राज्यको सामरिक महत्त्वको क्षेत्रका रूपमा समेत लिइन्थ्यो ।

यहाँ जंगल भएकाले जंगलबाट परसम्म देखिने तर बाहिरबाट चाहिँ जंगलभित्र के छ भनेर नदेखिने क्षेत्र थियो यो । ५० वर्षीय सिंहले देख्दादेख्दै यो क्षेत्र मासिंदै गयो । सरस्वती क्याम्पस बनेको ठाउँमा पहिला चौर थियो । क्याम्पसले चौरमा पर्खाल लगायो । वि.सं. २०१६ पुस १० गते स्थापना भएको थियो, सरस्वती क्याम्पस । क्याम्पस खुल्दा पनि यहाँ खाली ठाउँ नै प्रशस्त भएको सिंह बताउँछन् ।

‘बीसको दशकसम्म यहाँ खालि थियो, उनी भन्छन्, ‘यो फोहोर फाल्ने ठाउँ थियो । त्यही ठाउँमा क्याम्पस बन्यो । हामीले पूजा गर्ने गरेको मन्दिर अब कम्पाउन्डभित्र पर्‍यो । क्याम्पसले मन्दिर पनि कहिले कता सारिदियो । कहिले कता ।’ यही ठाउँमा १५ परिवारले पूजा गर्ने कुलदेवताको मन्दिर थियो । त्यो पनि क्याम्पसभित्रै पर्‍यो । अहिले देवालीको बेला क्याम्पसले खोलिदिन्छ ।

सिठी:नख, घोडेजात्रालगायतको समयमा यहाँ सबैजसो देवाली गर्न जम्मा हुन्छन् । यहाँ असन टेउडका बासिन्दाको कुलदेवता रहेका छन् । ‘हाम्रो कुलदेवता पूजा गर्ने ठाउँसमेत मासिदिएका छन्,’ उनी भन्छन्, ‘हाम्रो कुल कहाँबाट आएको हो भनेर देखाउने ठाउँ हो यो । त्यही ठाउँ हेर्दाहेर्दै मिचियो । अब कसलाई भन्नु, के गर्नुभएको छ ।’ दुलही भित्र्याउँदा पनि दर्शन गराउनुपर्ने ठाउँ हो यो । यहाँ ढुंगाको कलश छ । ‘त्यो कलशमा बुहारीलाई पूजा गराउन लैजानुपर्छ,’ उनी भन्छन् ।

उनले थपे, ‘यो ठाउँ पनि क्याम्पसले भित्रै पारिदियो । क्याम्पस वरिपरि बनेका अरू घर पनि सार्वजनिक स्थल हुन् । यी स्थलमा हामी देवाली गथ्र्याैं । अनि सार्वजनिक ठाउँमा जम्मा भएर भोज खान्थ्यौं । पुस्तौंदेखि भोज खाने गरिएको सार्वजनिक चौरसमेत व्यक्तिका नाममा दर्ता गरिए । व्यक्तिका नाममा पनि विस्तारै दर्ता भए । सिंहका अनुसार पहिला यहाँ सुकुम्बासीले कब्जा गरे । सुरुमा साना टहरा बनाए । विस्तारै भवन बन्दै गए । त्यही ठाउँमा भवन थपिंदै थपिंदै गए । सरकारी कार्यालय बने । खासमा चौर पनि सम्पदा हुन्, ती सबै मासिए ।’

यति महत्त्वपूर्ण प्राचीन स्मारक मासिए । यसमा दोष कसको ? अधिवक्ता दीपकविक्रम मिश्रका अनुसार यसको दोषी मन्त्रिपरिषद्, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, पुरातत्त्व विभाग, उपत्यका विकास प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, गुठी संस्थान, काठमाडौं महानगरपालिका, महानगर वडा कार्यालय, महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेलगायत हुन् । यी निकायलाई विपक्षी बनाएर उनले सर्वाेच्च अदालतमा उत्प्रेषण परमादेश प्रतिषेधलगायतको आदेश पुर्जी जारी गर्न माग गर्दै रिटसमेत दर्ता गराएका छन् । अदालतले यो निवेदनको सुनुवाइ भने गरेको छैन ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?