भेटियो मत्स्येश्वर महादेवको भग्नावशेष

लीला श्रेष्ठ

भक्तपुर — सूर्यविनायक–७ गुन्डु मन्थलीस्थित प्राचीन मत्स्येश्वर महादेव मन्दिर भग्नावशेष अवस्थामा फेला परेको छ । 

भेटियो मत्स्येश्वर महादेवको भग्नावशेष

मत्स्येश्वर महादेवको मूल देवता शिवलिंग पूजा गरिरहेकै अवस्थामा फेला परेको इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए । स्थानीय राज कार्कीको सहयोगमा ख्वप: कलेज संस्कृति विषयमा स्नातक दोस्रो तथा तेस्रो वर्षका विद्यार्थीको सक्रियतामा हालसम्म कुनै प्रचारप्रसारमा नआएको प्राचीन मत्स्येश्वर महादेवको भग्नावशेष मन्दिरसँगै शिवलिंग फेला परेको उनी बताउँछन् ।


श्रेष्ठका अनुसार उक्त शिवलिंग षडोष आसनमाथि मध्यभागमा अवस्थित छ । शिवलिंग मानवनिर्मित नभएर स्वयम्भू लिंग स्वरूपमा छ । स्थानीयले सोही शिवलिंगलाई महादेवका रूपमा दर्शन गर्ने प्रचलन छ । शिवलिंग पोखरीको बीच भागमा छ । चारपाटे पोखरी आकारको भए पनि अहिले पोखरी सुकेको अवस्थामा छ । यहाँ कुनै गुम्बजशैलीको ढुंगे मन्दिर भएको समेत इतिहासविद् श्रेष्ठ बताउँछन् । अहिले गुम्बज शैलीको मन्दिरको भग्नावशेष मात्र बाँकी छ ।


गुम्बजशैलीको ढुंगे मन्दिरले सुशोभित मन्दिरको मुख्य देवता स्वयम्भू शिवलिंग नै भएको उनी बताउँछन् । शिवलिंग अवस्थित पोखरीको चारैतिर आकृतिविहीन प्रस्तर देवमूर्ति अवस्थित पाइएको छ । पोखरीको उत्तरपूर्वमा सुकेको कुवा र ढुंगेधाराको टुटो देख्न सकिन्छ । शिवलिंगसँगैको पाखामा देवीथान छ । शिवलिंगको दक्षिणतर्फ बूढीगंगा छ । त्यसको दक्षिणतर्फ महादेव खोला छ । महादेव खोलाको शिरमा अनन्तलिंगेश्वर महादेव मन्दिर अवस्थित छ ।


मत्स्येश्वर महादेवको दक्षिणपूर्वमा केदारनाथको शिरभाग डोलेश्वर महादेव, पश्चिममा सुवर्णेश्वर महादेव, उत्तरमा लिखानारायण र सूर्यविनायक गणेश मन्दिर रहेको उनले बताए । स्थानीयले भने मत्स्येश्वर महादेवलाई मसानेश्वर महादेवको नाम लिने गरेको पाइएको श्रेष्ठले बताए । अध्ययनबाट अनन्तलिंगेश्वर, डोलेश्वर, सुवर्णेश्वर जत्तिकै ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं प्राचीन पाइएको उनी बताउँछन् । ‘यो शिवलिंग प्राचीन हो भन्ने स्वयम्भू लिंग स्वरूपले प्रस्ट पार्छ’, उनले भने ।


उनले थपे, ‘शिवलिंगसँगै नेपाल संवत् ८ सय ३५ मा लेखिएको शिलालेख फेला परेको छ ।’ शिलालेखमा भक्तपुर तेखायोटोलका एक भक्तले पाटी सत्तल बनाइदिएको उल्लेख छ । शिलालेखमा उल्लेख भएअनुसार गुम्बजशैलीको ढुंगेमन्दिरको नाम मत्स्येश्वर महादेव हो । त्यस शिलालेखलाई आधार मान्ने हो भने उक्त मन्दिरको नाम मसानेश्वर नभएको समेत श्रेष्ठ बताउँछन् । पोखरीको माझमा शिवलिंग फेला परेकाले पनि मत्स्येश्वर नाम अथ्र्याउन सकिने उनले बताए ।


शिलालेखमा उल्लेख भएअनुसार मत्स्येश्वर महादेव थप प्रस्ट भएको र डोलेश्वर, अनन्तलिंगेश्वर, सर्वर्णेश्वर, आशापुरेश्वर र विकटेश्वर (साँगा) जस्तै लिच्छविकालदेखि नै

मत्स्येश्वर महादेव नामले दर्शन तथा पुजन गर्ने संस्कृति लोकप्रिय हुँदै आएको उनले बताए ।

मत्स्येश्वर महादेव रहेको स्थलमा प्राचीन हंसगृहद्रङ्ग नामको सहरी बस्ती थियो भन्ने अनन्तलिंगेश्वर मन्दिरमा लिच्छवि राजा नरेन्द्रदेवले लेखेको शिलालेखमा उल्लेख छ ।


यहाँ प्राचीन बस्ती थियो भन्ने तथ्य मत्स्येश्वर महादेव रहेको मन्थली गाउँका स्थानीय दिनेश कार्कीको घरको जग खन्ने क्रममा फेला परेका श्री मानांक र पशुपति नामका लिच्छविकालीन तामाका मुद्राबाट पनि स्पष्ट हुन्छ । यी मानांक मुद्रा हालसम्म भेटिएका मुद्रामध्ये नेपालको पहिलो राष्ट्रिय मुद्रा हो । त्यसैगरी पशुपति मुद्रा अंशु बर्माको पालादेखि प्रचलनमा आएको प्रमाण भेटिएको श्रेष्ठले बताए । पशुपति मुद्रा पनि अनेक प्रकारका हुन्छन् । त्यसमध्ये सानाठूला तीन प्रकारका पशुपति मुद्रा पत्ता लागेको हो ।


पूजा गरिरहेकै अवस्थामा भेटिएका मत्स्येश्वर महादेव मन्दिर संरक्षणको अभावमा लोप अवस्थामा पुगेको छ । भग्नावशेष अवस्थामा रहेको मत्स्येश्वर स्थानीय बासिन्दा, नगरपालिका र पुरातत्त्व विभागको समन्वयमा फेरि ठडिन सक्ने उनको आशा छ । प्राचीन सभ्यताको महत्त्व बोकेको ऐतिहासिक, पुरातात्त्विक मत्स्येश्वर महादेव मन्दिरले आफ्नै मौलिक स्वरूप पाए धार्मिक चहलपहल बढ्ने र सूर्यविनायक नगरपालिकाकै ऐतिहासिक महत्त्व बढ्ने

उनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?