कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गाउँ आउँदैनन् जनप्रतिनिधि

प्रशान्त माली

ललितपुर — घुसेलका रामबहादुर थिङलाई बसाइँ सर्न सिफारिस लिनुपर्ने थियो । जनप्रतिनिघि कार्यालयमा नबस्दा आधा घण्टामा सकिने कामका लागि उनी दुई दिन बिताएर राजधानी आउनुपर्‍यो ।

‘सहरमा वडाध्यक्षलाई खोज्न अर्को झन्झट छ,’ उनले भने, ‘नि:शुल्क हुने कामका लागि दुई हजार रुपैयाँ खर्चिनुपर्‍यो ।’ वाग्मती गाउँपालिका–१ का घुसेलका वडाध्यक्ष जगतबहादुर लो हुन् । उनी पेसाले निर्माण व्यवसायी हुन् । सेवाग्राहीले वडाध्यक्ष लोलाई गाउँमा भेट्न मुस्किल छ ।


प्राय: उनी सहरमै बस्छन् । उनी सहरमा बस्ने गरेको आरोप छ । घुसेलकै बालकृष्ण घिमिरेले पनि सिफारिस लिन सहर धाउन बाध्य भए । ‘सामान्य कामका लागि पनि वडाध्यक्ष खोज्दै सदरमुकाम धाउनुपर्छ,’ उनले भने, ‘एकै दिनमा गाउँ फर्कन नसक्दा बास बस्न आफन्तको घर खोज्दै हिंड्नुपर्छ ।’ उनले सचिव कार्यालयमा नबस्दा बढी मर्कामा परेको बताए । थिङ र घिमिरेको भनाइ जिल्लाका भौगोलिक विकट दक्षिण दुर्गम पहाडी गाउँका अन्य सेवाग्राहीको समस्यासँग मिल्दोजुल्दो छ ।


दक्षिणका स्थानीयवासी जनप्रतिनिघि नहुँदा सचिव खोज्दै सहर धाउन बाध्य थिए । स्थानीयले चुनेका जनप्रतिनिधिले पनि कर्मचारीले जस्तै झोलामा कार्यालयको लेटर प्याड र छाप लिएर सहरमै बस्छन् । अहिले दक्षिणका स्थानीवासी सामान्य सिफारिस तथा जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ताजस्ता कामका लागि पनि वडाध्यक्ष खोल्दै सदरमुकाम आउन बाध्य भएका छन् । ‘काम परे जनप्रतिनिघिलाई फोन गरेर समय मिलाउनुपर्छ,’ भट्टेडाँडाका टंक लामाले भने, ‘त्यसपछि वडाध्यक्ष खोज्दै सहर धाउनुपर्छ ।’


वाग्मती गाउँपालिका–३ भट्टेडाँडाका वडाध्यक्ष विष्णप्रसाद तिमल्सिना चापागाउँमा बस्छन् । उनी पनि मुस्किलले साताको दुई पटक मात्रै वडामा पुग्ने गरेको आरोप छ । ‘वडा कार्यालयको छाप र लेटर प्याड झोलामा बोकेका हुन्छन्,’ लामाले भने, ‘हामीलाई समस्या पर्दा जनप्रतिनिघिलाई गुहार्ने हो । जनप्रतिनिघि नै गाउँमा बस्दैन भने कसलाई गुनासो सुनाउने ।’ उनले नगरमा बस्ने वडाध्यक्षलाई सम्बन्धित गाउँपालिकाका प्रमुखले गाउँ पठाउन पहल गर्नुपर्ने बताए ।


‘गाउँपालिकाका प्रमुखले कार्यालयमा नआउने वडाध्यक्षलाई कारबाही गर्नुको सट्टा उल्टो संरक्षण दिएर राखिएका छन्,’ उनले भने । यी तीन प्रतिनिघि पात्र मात्र हुन् । उनीहरूजस्तै दक्षिण दुर्गम पहाडी भेग गिम्दी, नल्लुका सेवाग्राही पनि सामान्य सिफारिस लिनसमेत सहर धाउन बाध्य छन् । वडाध्यक्षको कार्यभार सम्हालेको ७ महिना बढी बितिसक्यो । बैठक र कार्यक्रम हुँदाबाहेक वडाध्यक्षलाई स्थानीय बासिन्दाले गाउँमा देख्न पाएका छैनन् ।


सेवाग्राहीको केही काम परेमा वडाध्यक्षले सहरमै बोलाउने गरेको आरोप छ । ‘जनप्रतिनिघि सुविधाभोगी भएका छन्,’ दक्षिणका स्थानीयवासी जोगबहादुर घिमिरले भने, ‘जनताको सेवा मरिमेटेर गर्छु भन्ने वडाअध्यक्ष अहिले भेट्नसमेत गाह्रो परेको छ ।’ वडाध्यक्ष सहरमा कोही विद्यालय सञ्चालन गरेर बसेका छन् । कोही ठेकेदार छन् । वाग्मती गाउँपालिका–७ गिम्दीका वडाध्यक्ष नवराज सञ्जेल साताको तीन दिन सोमबार, मंगलबार र बुधबार मात्र वडा कार्यालय आउने गरेका छन् ।


सञ्जेललाई चक्रपथ चापागाउँ दोबाटोस्थित रेडियन्ट स्कुलको व्यवस्थापन, पठनपाठनमा भ्याइनभ्याई छ । कोन्ज्योसोम गाउँपालिकाका–४ नल्लुका वडाध्यक्ष तीर्थबहादुर घलान पनि कमै मात्रामा कार्यालयमा पुग्ने गरेको आरोप छ । भट्टेडाँडाका वडाध्यक्ष तिमल्सिनाले दिनहुँ कार्यालयमा बस्नलाई तलब खाएर बस्ने कर्मचारीजस्तो नभएको बताए । ‘जता आवश्यक रह्यो, त्यतै बस्छाैं,’ उनले भने, ‘जता बसे पनि सेवाग्राहीको काम रोकेको छैन ।’


गिम्दीका वडाध्यक्ष सञ्जेलले जता बसे पनि आफ्नो जिम्मेवारी पूरा गरेको बताए । ‘जनतालाई कसरी सेवा गर्नुपर्छ भन्ने थाहा छ,’ उनले भने, ‘मेरो व्यवसाय पाटनमा छ । परिवार पाल्न व्यवसाय पनि गर्नुपर्छ ।’ घुसेल वडाध्यक्ष लोले जनतालाई अप्ठरो परेको बेला राति १२ बजे पनि काममा जाने गरेको बताए । ‘जनताका कामसँगै आफ्नो काम पनि गर्नुपर्‍यो । भ्रष्टाचार गर्नु भएन,’ उनले भने । उनले सीडीओ र मालपोत गाउँमै व्यवस्था भएपछि बल्ल सम्पूर्ण सेवा गाउँबाटै दिन सक्ने बताए ।


कोन्ज्योसोम गाउँपालिका–४ नल्लुका वडाध्यक्ष तीर्थबहादुर घलानले जनप्रतिनिघि गाउँ नजाने गरेको भन्ने हल्ला मात्र भएको दाबी गरे । ‘म अहिले पनि वडा कार्यालयमै छु,’ उनले भने, ‘सधैं कार्यालयमा बसिरहन हामीले लोकसेवा पास गरेर आएका हैनाैं ।’ गाउँमा नजाउने जनप्रतिघि मात्र होइन । गोटिखेलमा रहेको कृषि सेवा, पशु सेवा, हुलाक कार्यालय र एकीकृत सेवा कार्यालयमा पनि कर्मचारी जाने गरेका छैनन् ।

प्रकाशित : फाल्गुन २०, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?