१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बलात्कारको लगत्तै बलात्कार

एक व्यक्ति समातिएको ४ दिनमै अर्का पक्राउ
लीला श्रेष्ठ

भक्तपुर — इँटाभट्टाको झ्याउली (छाप्रो) मा बस्ने सुस्त:मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परे । त्यसको चार दिनपछि उनै बालिकालाई बलात्कार गरेको अभियोगमा अर्का व्यक्ति पक्राउ परेका छन् । दुवै व्यक्तिलाई पक्राउ गरेको प्रहरी कार्यालय भन्छ– ‘इँटाभट्टामा बालिका असुरक्षित हुने घटना बढेका छन् ।’ 

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित अग्नि इँटाभट्टामा काम गर्ने आमा र भाइ–बहिनीले ती बालिकालाई दिउँसो एक्लै छाप्रोमा छाड्थे । फागुन १४ गते दिउँसो साढे २ बजे इँटा बोकेर थाकेकी उनकी बहिनी पानी खान छाप्रामा छिरिन् । त्यहाँ दिदीलाई देखिनन् ।


आफ्नो शरीरको समेत ख्याल राख्न नसक्ने दिदीलाई नदेखेपछि उनले वरिपरि खोजिन् । त्यही क्रममा पल्लो छाप्रामा दाङ राजपुर गाउँपालिका १ कटबिराका वसन्त नेपालीले बलात्कार गरिरहेको देखिन्् । उनी आत्तिइन् । हल्लाखल्ला गरिन् । इँटाभट्टामा कार्यरत मजदुरहरूको सहयोगमा महानगरीय प्रहरी वृत्त थिमिले वसन्तलाई पक्राउ गर्‍यो । प्रहरीका अनुसार उनीमाथि कानुनी प्रक्रिया सुरु गरिएको छ ।


थिमि वृत्तका प्रमुख डीएसपी प्रज्वल महर्जनका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य

परीक्षणपछि आमाको जिम्मा लगाई छाप्रामै पठाइयो । फेरि उनलाई छाप्रामै छाडेर सबैजना काममा गए । फागुन १८ गते बिहान १० बजे कोही नभएको अवस्थामा सल्यान कालिमाटी रामपुर गाउँपालिका २ सेतीखोला घर भई सोही इँटाभट्टामा कार्यरत ४२ वर्षीय लालबहादुर विकले भित्रै गएर बलात्कार गरिरहेको छिमेकीले देखे । त्यही आधारमा लालबहादुरलाई थिमि वृत्तले पक्राउ गरेको छ । उनीमाथि पनि कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छ । दुवै घटनाको चिकित्सकीय रिपोर्ट भने आएको छैन ।


दुई महिनायता ती बालिकाका आमा, भाइ र बहिनी इँटा बोक्ने काम गर्दै आएका छन् । दस वर्षअघि वैदेशिक रोजगारमा गएका बुबा बेपत्ता छन् । ‘कमजोर अवस्था सुधार्न १० वर्षअघि विदेश गएका श्रीमान् अझै फर्केका छैनन्,’ उनकी आमाले भनिन्, ‘यही सन्तानका लागि इँटा बोक्न बाध्य भएँ, अहिले यो हालत भयो ।’


सल्यान घर भएकी उनले सुस्त:मनस्थितिकी छोरीलाई स्याहार गर्ने कोही नभएकाले सँगै ल्याएकी हुन् । ‘७/७ कक्षा पढ्दै गरेका छोराछोरीलाई पनि पढाइ छुटाएर मजदुरी गराउनुपर्‍यो’, उनले भनिन् ।


वसन्तलाई प्रहरीले पक्राउ गरेपछि उनका आफन्तले उजुरी फिर्ता लिन धम्की दिइरहेको उनले जानकारी दिइन् । ‘बिहान/साँझ झगडा गर्न आउँछन्, मिल्नुपर्‍यो भन्दै धम्की दिन्छन्,’ उनले भनिन् । सुस्त:मनस्थितिकी बालिका आफूमाथि भएको अपराध बोध गर्न सक्दिनन् । ‘हाम्रो पक्षमा बोल्ने कोही छैन, आफन्तहरू पनि कोही छैनन्,’ आमाले भनिन्, ‘जसले बदमासी गर्‍यो, उसैले धम्की दिइरहेको छ ।’


प्रहरीले भने सहयोगीबिना शरीरको ख्याल गर्न नसक्ने सुस्त:मनस्थितिकी बालिकालाई कुनै संघसंस्थाले संरक्षण गर्न अस्वीकार गरिरहेको बतायो । सातामा दुईपल्ट बलात्कृत बालिकाको सुरक्षामै चुनौती रहेको डीएसपी महर्जनले बताए । ‘उनको संरक्षणका लागि महिला तथा बालबालिका कार्यालय भक्तपुरमा पत्राचार गरेका छौं,’ उनले भने, ‘अभिभावकै जिम्मा लगाउँदा फेरि घटना हुने डर छ । प्रहरी कार्यालयमा राख्ने व्यवस्था पनि छैन ।’


महिला तथा बालबालिका कार्यालय भक्तपुरका प्रमुख नीलाकुमारी घिमिरेका अनुसार ती बालिका सहयोगीबिना बस्न नसक्ने भएकाले कुनै संघसंस्थामा संरक्षण गर्न नसकिएको हो । ‘एबीसी नेपाल’ नामक संस्थामा पुर्‍याएर पनि राख्न सक्ने अवस्था नभएपछि फिर्ता गर्न बाध्य भएको उनले बताइन् ।

प्रकाशित : फाल्गुन २१, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?