१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जन्मनुअगावै अपांगता

फातिमा बानु

काठमाडौँ — आम शिशु जस्तो जन्मेको पल उनी रोएनन् । जन्मेकै दिनदेखि निमोनियाँले समात्यो । हुर्कंदै जाँदा टाउको सानो देखियो, अनुहार चेप्टो भएर असामान्य भयो, एकहोरो हुन थाले ।

उनी हुन् काठमाडौंका २२ वर्षीय एक युवा । उनको यस्तो समस्यालाई डाक्टरले डाउन सिन्ड्रोम (बौद्धिक अपांगता) अवस्था पहिचान गरेका छन् । सानैदेखि उपचार थाले पनि अवस्थामा कुनै सुधार नआएको उनकी आमाले बताइन् । ‘एकछिन छोड्यो भने कताकता हराउँछ, पढ्न जान्दैन, आफ्नो कामै छोडेर यसलाई हेर्नुपर्छ,’ उनले भनिन् । चिकित्सकका अनुसार उनको यस्तो समस्या गर्भदेखिकै हो । जसलाई मेडिकल भाषामा ‘बर्न डिफेक्ट’ भनिन्छ ।


नेपालजस्तो विकासोन्मुख मुलुकमा यसलाई गम्भीर बाल स्वास्थ्य समस्या मानिएको छ । जहाँ ‘बर्न डिफेक्ट’ शिशु मृत्युदरका अनेका कारणमध्ये एक हो । ‘वर्न डिफेक्ट’ का कारण शिशु जन्मदै डाउन सिन्ड्रोम, अटिजम, आँखाको दृष्टि च्यातिने (रेटिना), मुटुरोग, थालेसिमिया, बहिरोपन जस्ता समस्या लिएर जन्मन्छन् । परिवार स्वास्थ्य महाशाखाका उपनिर्देशक डा. चूडामणि भण्डारी भन्छन्, ‘आमाको गर्भदेखि नै स्वास्थ्यलाई ख्याल नराख्दा यस्तो हुन्छ, जसले देशमा अपांगता भएका व्यक्तिको संख्या वृद्धि गराएको छ ।’ समयमै पहिचान गरी उपचार थाल्ने हो भने जन्मदै भएका अपांगतामा सुधार हुने र उनीहरूलाई गुणस्तरीय जीवनयापन गराउन सकिने उनले बताए ।


विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर बर्सेनि ८० लाखको हाराहारीमा यस्ता शिशु जन्मन्छन् । जन्मिएका मध्ये ३० लाख शिशुको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । जन्मदै अपांगता भएका ९० प्रतिशत शिशु आर्थिक रूपले कमजोर परिवारमा जन्मिने गरेका छन् । ७ प्रतिशत शिशु मृत्युदर यसैका कारण हुने गरेको छ । पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु हुनुमा १३ प्रतिशत ‘बर्न डिफेक्ट’ लाई कारण मानिएको छ ।


नेपालमा भने बर्सेनि ४४ हजारको हाराहारीमा जन्मदै अपांगता भएका शिशु जन्मने संगठनको तथ्यांक छ । अस्पतालहरूका अनुसार यस्ता शिशु गर्भमा बसेको नौ महिनाअगावै जन्मने गरेका छन् । विशेष गरेर मधुमेह, उच्च रक्तचाप जस्ता कडा रोगी र कुपोषित महिलाबाट यस्ता शिशु जन्मन्छन् । जसको मुख्य कारण अस्वस्थ जीवनशैली हो । स्त्रीरोग विशेषज्ञ डा. गेहनाथ बरालका अनुसार गर्भवती अवस्थामा पोषणयुक्त खानेकुरा खान नपाउनु, नातेदारभित्र विवाह गर्नु, गर्भवतीले आयोडिन, फोलिक एसिड, आइरनजस्ता अत्यावश्यक औषधि सेवन नगर्नु र गर्भवती अवस्थामा सुर्तीजन्य पदार्थको सेवन गर्नुले शिशुको गर्भमा पूर्ण विकास हुन सक्दैन र अपांगता हुन पुग्दछ । ‘यसबारे चेतना छैन, गाउँगाउँका स्वास्थ्यचौकीमा गर्भवतीका लागि चाहिने औषधि र खोपको पहुँच छैन,’ उनी भन्छन्, ‘जन्मिसकेपछि पनि यस्ता शिशुको उपचार हुन पाएको छैन, व्यापक प्रचारप्रसारको आवश्यकता छ ।’


गर्भवती महिलाले सेवन गर्नैपर्ने औषधि फोलिक एसिडको पहुँच बढाउन सकिएमा मात्रै यस्ता समस्या घट्न सक्ने बालस्वास्थ्य महाशाखाका निर्देशक डा. विकाश लामिछाने बताउँछन् । विशेष तालिमप्राप्त स्वास्थ्यकर्मीले भने शिशु जन्मिनासाथ हेरेरै ‘बर्न डिफेक्ट’ पत्ता लागाउन सक्छन् । डा. लामिछाने भन्छन्, ‘यसका लागि धेरै प्रसूति हुने १६ अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिँदै छौं, तालिमले मात्रै हुँदैन, सबै अस्पतालमा बर्न डिफेक्ट परीक्षण हुने ल्याब चाहिन्छ, जुन छैन ।’


संगठनले सन् २०१४ देखि २०१७ मा नेपालका १४ अस्पताललाई लिएर एक सर्वेक्षण गरेको थियो । चार वर्षको अवधिमा १४ अस्पतालबाट एक लाख ९४ हजार चार सय ३८ शिशु जन्मेका थिए । जसमध्ये दुई हजार सात सय ५१ शिशु मृत अवस्थामा जन्मेका थिए । तीमध्ये सात सय ५६ शिशुमा ‘बर्न डिफेक्ट’ पहिचान गरिएको थियो र सात सय २४ शिशुको ‘बर्न डिफेक्ट’ कै कारण मृत्यु भएको हो । सात मुलुकका विशेष अस्पताललाई लिएर गरिएको उक्त सर्वेक्षणअनुसार प्रतिदस हजार नवजात शिशुमध्ये ८४ मा ‘बर्न डिफेक्ट’ देखिएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?