३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

धरहरा छेउ नक्सा पासबारे प्रश्न

दामोदर न्यौपाने

काठमाडौँ — धरहराको दक्षिणतिरको बाटोको छेउको खाली ठाउँमा रातारात जग खनेर व्यावसायिक भवन बनाउन सुरु भयो । यसबारे स्थानीयवासीलाई पत्तो भएन । उनीहरूले यही क्षेत्रमा पर्ने ११ नम्बर वडाका अध्यक्ष हीरालाल महर्जनलाई फोन गरे ।

धरहरा छेउ नक्सा पासबारे प्रश्न

महर्जनले पनि आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘मलाई पनि थाहा थिएन,’ वडाअध्यक्ष महर्जनले भने, ‘स्थानीयवासीले जानकारी गराएपछि मैले खोजबिन गरें । नक्सा पास भएको रहेछ । दुई महिना पहिला नक्सा पास भएछ, मैले थाहै पाइनँ ।’


धरहराको दक्षिणतिर सडकको छेउकै खाली जग्गामा भीम मुक्तेश्वर गुठीको नाममा नक्सा पास भएको छ । स्रोतका अनुसार गुठी संस्थानले महिनाको २ लाख ७७ हजार भाडा दिने गरी एक निजी व्यापारी संस्था अमात्य इन्टरप्राइजेजलाई दिएको स्थानीयवासी रामेश्वर चिबाले जानकारी दिए । उनका अनुसार सँधियारलाई दुईतले भवन भनेर सूचना दिइएको थियो । भवन बनाउने बेलामा भने तीनतले भनेर सूचना टाँसिएको उनले जानकारी दिए ।

‘यहाँ तीनतले भवन बनाइयो भने धरहराको हालत के होला ?’ उनले भने, ‘यसलाई हामी कुनै हालतमा बन्न दिने छैनौं । यो नरोकिएसम्म हामी आन्दोलनमा उत्रिरहन्छौं । यो कुनै संस्थाको विरुद्ध आन्दोलन होइन, सम्पदा जोगाउनुपर्छ भन्ने हाम्रो अभियान हो ।’ धरहरा क्षेत्रको यो खाली ठाउँमा कहिले कसले कहिले कसले दाबी गर्दै पहिलादेखि नै मिच्न खोजेको महर्जनले बताए । उनी २०४९ सालमा पनि यहींको वडा अध्यक्ष चुनिएका थिए । त्यतिबेला पनि ‘मेरो जग्गा हो, टहरा बनाउँछु’ भन्दै आएको उनले बताए ।


‘त्यति बेला मैले नै रोकेको हुँ,’ वडा अध्यक्ष महर्जनले भने, ‘अहिले म नै वडा अध्यक्ष भएको बेलामा यहाँको नक्सा पास गरिएछ । कसरी पास गरियो ? म बुझ्ने क्रममा छु ।’ वडा नं. २२ का अध्यक्ष चीनकाजी महर्जनका अनुसार पहिला यो ठाउँमा सत्तल थियो । गुठी संस्थानको स्थापना भएपछि यहाँको सत्तल र त्यसको नाममा भएको गुठी पनि गुठी संस्थानको स्वामित्वमा गयो । गुठी संस्थानको स्वामित्वमा गएपछि यसको दाबी गर्दै मुद्दा परेको थियो र लामो समय चल्यो ।


अध्यक्ष महर्जनले महानगरले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गरेकाले जसले गलत तरिकाले नक्सा बनायो उसलाई दण्ड दिइने प्रतिक्रिया दिए । धरहरा क्षेत्रमा दुई वडा पर्छन् । बाटोपारि भवन बनिरहेको यो जग्गा ११ नम्बर वडामा पर्छ भने धरहरा चाहिँ २२ नम्बर वडामा पर्छ । २२ नम्बरका अध्यक्ष चीनकाजीले आफूले धरहरा बचाउनुपर्छ भनेर १५ वर्षसम्म मुद्दा गरेकाले यो क्षेत्र जोगाउनु आफ्नो दायित्व भएको बताए । गुठी संस्थानको ९ आना जग्गामा कम्प्लेक्स बनाउन लागिएको हो ।


महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यहाँ कुनै हालतमा व्यापारिक भवन बनाउन नदिने प्रतिबद्धता जनाइन् । ‘मैले आज मात्रै थाहा पाएँ,’ खड्गीले भनिन्, ‘कर्मचारीले पनि थाहा नपाएर नक्सा पास गरिदिए जस्तो छ । म न्यायको पक्षमा उभिन चाहन्छु । सम्पदा ध्वस्त बनाउन म लाग्दिनँ । हामी बच्चा हुँदादेखि नै खालि भएको ठाउँ हो यो । यो ठाउँ खाली नै राख्ने प्रतिबद्धता जाहेर गर्छु । यसबारे म अब भोलिदेखि नै खोजतलास गर्छु । ढुक्क हुनुहोस्, यहाँ केही बन्दैन ।’

प्रकाशित : फाल्गुन २२, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?