यातायातमा घटेन बिचौलिया

प्रशान्त माली

काठमाडौँ — सादा पोसाकका सुरक्षकर्मीसहितको अख्तियारको टोली साताअघि यातायात कार्यालय वाग्मती एकान्तकुनामा पुगेको थियो । उनीहरू कार्यालयका कर्मचारीले लाइसेन्स बनाउन सेवाग्राहीसँग विभिन्न बहाना बनाई घूस मागेको भन्ने उजुरीबारे बुझ्न परिचय लुकाएर गएका थिए । 

टोलीले बुझ्दै जाँदा सवारी चालक अनुमति पत्र नयाँ दर्ता शाखाका नासु लेखनाथ भुसाललाई ३२ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लियो । भुसाललाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फबाट पक्राउ गरिएको थियो ।


यसअघि सादा पोसाकमा गएको प्रहरी टोलीले कार्यालयमा भेटिएका बिचौलियासँग सवारी अनुमति पत्र बनाइदिन अनुरोध गर्‍यो । बिचौलियाले पनि ग्राहक ठानेर लाइसेन्स बनाइदिने भन्दै १५ हजार रुपैयाँ लाग्ने बताए । लगत्तै पक्राउ परेका ती बिचौलियाले बयानमा सवारी प्रशिक्षण दिने, अनुमतिपत्र मिलाइदिने र सवारी दर्ता किताबको नवीकरण गर्ने गरेको स्विकारे । यी दुई घटना यातायात कार्यालयमा चलखेल कति हुन्छ भन्ने उदाहरण हुन् ।


कार्यालयका नासु भुसाल फागुन १५ मा पक्राउपछि कार्यालयको स्थिति केही दिन सामान्य बन्यो । लगत्तै दलालको चलखेल उस्तै रह्यो । चलखेल अत्यधिक भएपछि अख्तियारका टोलीले मंगलबार एकान्तकुना कार्यालयका शाखा अधिकृत शिवप्रसाद सुवेदी र कम्प्युटर अपरेटर अर्जुनप्रसाद आचार्यलाई पक्राउ गर्‍यो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले पक्राउ परेका तीनै जनालाई थुनामा राखेर बयान लिइरहेको बताए । ‘अहिले अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘त्यसपछि प्रमाणसहित अभियोग पत्रसहित विशेष अदालतमा मुद्दा दायर गरिनेछ ।’ यातायात विभागका प्रवक्ता तुलसीराम अर्यालले कान्तिपुरसित भने, ‘कार्यालयमा हामी सुशासन चाहन्छौं ।’


उनले कर्मचारीले घूस मागेमा र काममा ढिलाइ गरेमा सेवाग्राही चुप लागेर बस्नु नहुने बताए । ‘घूस लिने मात्र होइन, दिने पनि अपराधी हो,’ उनले भने । कार्यालयमा पटकपटक महानगरीय प्रहरी वृत्त सातदोबाटोले छड्के चेकजाँच गर्ने गरेका छन् । प्रहरीले बिचौलियाले कार्यालयअघि राखेको फोटोकपी मेसिन, दर्ता फारमलगायत सामान बरामद गर्ने गरेका छन् ।


महानगरपालिकाका नगर प्रहरी बल प्रमुख प्रहरी नायब उपरीक्षक कदमलाल महर्जनले समिति कर्मचारीका कारणले नियमित निगरानी गर्न सकेको बताए । ‘दैनिक लगनखेल, मंगलबजार खटाउनुपर्छ,’ उनले भने, ‘यातायातमा एक पटक खटाउँदा पाँच/छ जना प्रहरी आवश्यक पर्छ ।’

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?