१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सटर भाडामा अनियमितता

कतिपय व्यवसायीले बहाल कर पनि तिरेका छैनन् 
प्रशान्त माली

ललितपुर — लगनखेलस्थित नमुना मच्छिन्द्र विद्यालयको सटर भाडामा दिँदा अनियमितता भएको भेटिएको छ । विद्यालयले बिनासम्झौता आफ्नो उत्तरपट्टि भवनको भुइँतलाको नौ सटर व्यापारीसँगको मिलेमतोमा भाडामा लगाएको हो । विद्यालय र व्यापारीबीच २०६९ मा भएको सम्झौता २०७४ जेठ मसान्तमा सकिएको थियो । सम्झौता अवधि सकिएको आठ महिना बढी बितिसक्यो । तर पनि २०६९ मा भाडामा पाउने व्यापारीले नै पसल कबल सञ्चालन गर्दै आइरहेका छन् ।

सटर भाडामा अनियमितता

नमुना मच्छिन्द्र विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले भाडामा दिइएको भवन पुनर्निर्माण गर्नुपर्ने भएकाले सम्झौता नगरी सञ्चालन गर्न दिएको दाबी गरे । ‘भूकम्पमा चर्केको भवन पुनर्निर्माण गर्ने क्रममा व्यापारीहरूले वर्षांैसम्म खाली गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसैले व्यापारीहरूले सम्झौता गर्न मानेनन् ।’ उनले यस विषयमा कसैको कसैसँग बीच बाटोबाट लेनदेन नभएको बताए । ‘पहिला सम्झौता भएको रकममा १० प्रतिशत वृद्धि हुने गरी भाडा उठाएका छौं,’ उनले भने ।

करार ऐन, २०५६ अनुसार कुनै पनि सरकारी भवन बिनासम्झौता भाडामा लगाउन मिल्दैन । तर नमुना माविका सञ्चालक समितिको समेत मिलेमतोमा भाडामा लगाइएको आरोप छ । नमुना मावि विद्यालय सञ्चालक समितिका अध्यक्ष महेश थापाले सञ्चालक समितिमाथि लगाएको आरोप गलत भएको दाबी गरे । ‘आर्थिक मामिला हामीले हेर्ने होइन्,’ उनले भने, ‘भूकम्पले क्षति पुर्‍याएकाले सो भवनको टेन्डर गर्न पनि मिलेन ।’ पहिलाकै व्यापारीलाई अवधि सकेपछि भाडा दिन विद्यालय सञ्चालक समितिले केही निर्णय पनि गरेको छैन ।

रातो स्टिकर लगाएकाले निर्णय गरेर दिन मिल्ने दाबी समितिका अध्यक्ष थापाको छ । ‘भाडामा राख्नै नहुने हो, खाली गर्‍यो भने अलि अलि आउने आम्दानी पनि घट्ने भयो,’ उनले भने । ललितपुरको मुख्य व्यापारिक केन्द्रमा चलनचल्ती भाडा मूल्य एउटा पसल सटरको कम्तीमा ५० हजार रुपैयाँभन्दा बढी छ । लगनखेल मानसिक अस्पतालको पूर्वपट्टिको भवनको भुइँतलाका व्यापारीहरूले एउटा सटरको मासिक भाडा ८० हजार रुपैयाँसम्म तिर्छन् । तर, नमुनाले व्यापारीहरूलाई अत्यन्त कम मूल्यमा भाडामा लगाएको छ ।

विद्यालयका अनुसार ललितपुरको मुख्य व्यापारिक केन्द्रको एउटा सटरको मूल्य ८ हजार २ सय ९८ रुपैयाँदेखि १७ हजार ८८ रुपैयाँ मात्र छ । विद्यालय स्रोतका अनुसार उक्त नौवटा सटरबाट विद्यालयले अवैध रूपमा मासिक दुई लाख रुपैयाँभन्दा बढी भाडा उठाउँछ र भागबण्डा गरी लिने गरेको आरोप छ । समितिका अध्यक्ष थापाले भाडा रकमका बारेमा आफूलाई जानकारी नभएको दाबी गरे । ‘म भ्याउदिनँ पनि,’ उनले भने, ‘आफ्नो पालामा सम्झौता भएको पनि होइन ।’ अहिले भाडामा बस्ने खुमलटारका शुभराज जोशी, सानेपाका जुद्धराज जोशी, थपाहिटीका नवीन नेवा:, गुइट टोलका पूर्णबहादुर महर्जन र कृष्ण महर्जन, सौगलका संगीता नकर्मी, सुवहाल टोलका बुद्धिमान महर्जन, छ्याबहालका किरण महर्जन र हरिबहादुर महर्जन छन् ।

ललितपुर महानगरपालिकाका अधिकारीहरूका अनुसार कतिपय व्यवसायीले बहाल कर पनि तिरेका छैनन् । विद्यालय (प्रथम पक्ष) र व्यवसायी (दोस्रो पक्ष) बीच भएको सम्झौताअनुसार सरकारलाई बहाल कर दोस्रो पक्षले बुझाउनुपर्छ ।

बुझाएको रसिद प्रथम पक्षलाई दिनुपर्नेछ । दोस्रो पक्षले बुझाउनुपर्ने कर नबुझाई बाँकी राखेमा २५ प्रतिशत ब्याजसहित धरौटी रकमबाट कट्टा गरी पसलबाट हटाइने उल्लेख छ । त्यस्तै दोस्रो पक्ष आफूले नै पसल राख्नुपर्ने व्यवस्था पनि छ । सर्त उल्लंघन गरी कुनै प्रकारले असम्बन्धित व्यक्तिलाई पसल राख्न दिएमा करार भंग भएको मानिने सम्झौतामा छ । तर, दोस्रो पक्षले पनि अन्य व्यवसायीलाई भाडामा लगाएको आरोप छ । तर पनि न विद्यालयका प्रधानाध्यापकले केही बोले न विद्यालय सञ्चालक समितिले नै । विद्यालयको आम्दानी न्यून हुँदा सञ्चालक समितिले खेलकुद शिक्षक राख्न सकेको छैन ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?