२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

दोषारोपण गर्दै प्रहरी र जनप्रतिनिधि

माटो तथा बालुवा उत्खनन
शिल्पा कर्ण

काठमाडौँ — गोकर्णेश्वर नगरपालिका हुँदै साँखु जाने सडक बन्न नसकेकाले लामो समयदेखि धुलाम्य छ । सडकका धेरै स्थानमा बालुवा, माटो र गिट्टी थुपारिएको देख्न सकिन्छ । तर मुख्य बाटो छाडेर भित्र जाँदासम्म खेतैखेत भएका क्षेत्र छन् । त्यहाँ तरकारी र खाद्यान्न बाली रोपिएको देख्न सकिन्छ ।

दोषारोपण गर्दै प्रहरी र जनप्रतिनिधि

अहिले ती क्षेत्र नासिएर माटो र बालुवा उत्खनन तथा प्लटिङ कार्यमा प्रयोग हुने क्रम बढ्दो छ । भूकम्पपीडितको घर निर्माण भइरहेको समयमा माटो र बालुवा आवश्यक छ ।


यही बहानामा माटो उत्खनन तथा बिक्री झनै फस्टाएको छ । ‘जनप्रतिनिधि आउनुअघि मिलेमतो जस्तै थियो । राजनीतिक दलको संरक्षण पनि पाएका थिए,’ कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले नै भने, ‘पहिलाभन्दा केही कम त भएको हो तर रोकिएको चाहिँ छैन ।’ कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाकामा विभिन्न क्षेत्रबाट माटो, बालुवा उत्खनन कार्य खुलेआम् चलिरहँदा पनि स्थानीय तहको भूमिका मूकदर्शकमै सीमित छ । त्यहाँ राति माटो ओसारपासार हुने गरेको स्थानीय बताउँछन् ।


कागेश्वरी मनहरा वडा नं. १ को कार्यालयबाट अगाडिको डाँडा विस्तारै नांगिँदै गएको प्रस्ट देखिन्छ । वडा कार्यालय अगाडिकै बाटोबाट ट्रिपरमा माटो, बालुवा उत्खनन गरी ल्याइन्छ र छेवैको सडकबाट लगिने गरेको स्थानीय बताउँछन् । नजिकैको खोलामा वासिङ गरी बालुवा बेचिन्छ, तर सरोकारवाला निकाय आँखा चिम्लेर बसेका छन् । माटो उत्खननका लागि प्रयोग भइरहेको जग्गा व्यक्तिगतका साथै गुठीको समेत प्रयोग भइरहेको छ ।

सुवेदी गाउँका युवाले भने, ‘मेयर र वडाध्यक्ष आएपछि ओसार्ने काम घटेको हो । तर राति सार्वजनिक जग्गाको माटो ओसारिन्छ । त्यसमा यहाँका मन्दिर र गुठीका जग्गा पनि छन् ।’

स्थानीय यसबारे जानकार भए पनि बोल्न भने हिच्किचाइरहेका छन् । ‘त्यो डाँडामा माथि पनि बस्ती छ तल फेदमा पनि घर छ । बीचको भागको माटोचाहिँ खनेर बिक्री गरिरहेका छन्,’ ती युवाले थपे । यसले जैविक विविधतामा समेत असर परेको उनको अनुभव छ ।


नजिकै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज छ, त्यसको बफर जोनमा पर्छन् कागेश्वरी र शंखरापुरका केही क्षेत्र । तर आरक्षित क्षेत्र नजिकैको माटोसमेत लैजाँदा निकुञ्ज मौन छ । साबिकको गागलफेदी गाविसको २, ३, ७, ८ र ९ आंशिक रूपमा बफर जोनमा पर्छ । ‘मध्यवर्ती क्षेत्र नजिकै पनि उत्खनन हुनु ठूलो समस्या हो । हामी यो रोक्नुपर्छ भनी सम्बन्धित निकायमा गइरहेका छौं,’ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका महासचिव श्यामकुमार वाइवाले भने, ‘यसले निकुञ्ज वरिपरिका बस्तीमा खतरा छ ।’


घडेरी खार्ने निहुँमा वडाबाटै स्वीकृति लिई उद्देश्यविपरीत माटो उत्खनन भइरहेको वाइवाले बताए । प्रहरी प्रशासन, निकुञ्ज प्रशासन र राजनीतिक दल मौन बस्दा वातावरणको ख्याल नगरेर माटो, बालुवा उत्खनन हुनुले प्राकृतिक प्रकोप निम्त्याउने खतरा छ । यसले भू–क्षय र पहिरो आउने पक्काझैं छ । वर्षामा यसको खतराबारे स्थानीय सबै जानकार भए पनि पहुँचवाला र ठूलाठालु नै संलग्न भएकाले डरले कसैले बोल्न सक्ने स्थिति छैन ।


केही दिनअघि दुई स्थानीय गागलफेदीस्थित कागेश्वरी मनोहरा नगरपालिकाको १ नं. वडा कार्यालयमा गुनासो लिएर गए । उल्टै ‘मान्छे समातेर ल्याउनुस्, हामी कारबाही गर्छौं’ भन्ने आशयको जवाफ पाएको वडा कार्यालय नजिकका एक बासिन्दाले बताए । त्यहाँको सातघट्टे खोला र ठूलो खोलाको पानीमा माटो मिसिएर आउने हुँदा गाईबस्तुलाई खुवाउन र अन्य प्रयोजनका लागि समेत पानी काम नलाग्ने उनीहरूको गुनासो थियो ।


‘कागेश्वरी मनोहरा मन्दिर हुँदै बग्ने खोलामा बालुवा वासिङ गर्ने भएकाले सिमेन्ट मिसिएको जस्तो पानी बग्छ,’ स्थानीयले भने, ‘खोल्साको पानीले सिँचाइ गर्दा उल्टै खेतको माटो समात्छ । केही काम छैन त्यो धमिलो माटो र बालुवा मिसिएको पानीको ।’ त्यस विषयमा १ नं. वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेललाई सोध्दा सीधा जवाफ दिए, ‘त्यस्तो भएको भए प्रहरीमा जानुस् ।’ उनले प्रहरीलाई आफूले सम्पर्क गर्दागर्दा ‘थाकिसकेको’ भन्दै आफ्नो बचाउ गरे । प्रहरीले चासो नदिने गरेको र समयमा नआउने गरेको उनको भनाइ छ ।


जग्गा सम्याउने र घडेरी खार्ने अनुमति दिए पनि नगरपालिकाले माटो बिक्री वितरणको अनुमति नदिएको गजुरेलले बताए । त्यस्ता कार्य अझै अनधिकृत रहेको र यस विषयमा नगरपालिकाले कार्यविधि तयार गरी अनुमति दिने तयारी गरिरहेको उनले जानकारी दिए । उता प्रहरीले जनप्रतिनिधि आएदेखि जिम्मेवारीको टुंगो नभइसकेको र उल्टै जनप्रतिनिधिबाटै त्यस्ता व्यक्तिको संरक्षण भइरहको आरोप लगाएको छ ।


साँखु प्रहरी प्रभागका प्रहरी निरीक्षक प्रकाश बुढाथोकीले भने, ‘जनप्रतिनिधि आउनुअघि हामीले त्यस्ता अनधिकृत ओसारपसार गर्नेलाई पक्राउ गरी साबिकको जिल्ला विकास समितिमा बुझाउँथ्यौं । अहिले कतिले नगरपालिकाको स्वीकृति भन्छन्, पहिले जस्तो हामीलाई पक्राउ गर्ने अधिकार पनि छैन ।’ फोन गर्नेबित्तिकै आफूहरू पुग्ने गरेको तर त्यस अवधिमा माटो उत्खनन गर्नेहरू भाग्ने र यन्त्र तथा सवारीहरू लुकाउने गरेको उनले बताए ।


कतिपय घटनामा नगरपालिकाबाटै स्वीकृति लिएको पत्र देखाउने गरेकाले पनि दुविधा हुने गरेको प्रहरीको भनाइ छ । त्यस क्षेत्रको भौगोलिक विकटता त्यस्ता अपराधी छुट्नुको अर्को कारण हो । ‘एउटा मात्र गाडी छ, कम्तीमा पनि आधा, एक घण्टा लाग्ने बाटा छन्,’ बुढाथोकीले भने । उनले केही महिनाअघिको घटना उदाहरण दिँदै अवैध माटो उत्खनन गरिरहेको आरोपमा पूर्वसांसदसमेत रहिसकेका एक कांग्रेस नेतालाई पक्राउ गर्न जनप्रतिनिधिबाटै दबाब आएको बताए ।


‘पक्राउ गरेर ल्याउँदा त सुइँको दिने ती निर्वाचित प्रतिनिधिले नै तुरुन्तै नेतालाई छुटाउन आए,’ बुढाथोकीले थपे, ‘भोलिपल्ट हामीले ल्याएको डोजर पनि तिनैले लिएर गए ।’ आफूहरूलाई दोष दिनुको साट्टो जनप्रतिनिधिले अगाडि आएर यस्ता कार्यको विरोध गर्नुपर्ने उनको भनाइ छ । उनीहरूकै ‘सहयोग’ र भोट पाएर आएकाले त्यस्ताको विरोध गर्नुभन्दा पनि जनप्रतिनिधिबाट मौन समर्थन भइरहेको उनी बताउँछन् । शंखरापुर नगरपालिकामा पनि स्थिति खासै फरक छैन ।


शाली नदी र अन्य खोल्साबाट समेत बालुवा निकाल्ने क्रम जारी छ । केही दिनअघि नगरपालिका अनुगमन गर्न गएको जिल्ला समन्वय समिति, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले दुई स्थानमा मापदण्ड मिची बालुवा प्रशोधन गरिरहेको भेटे । जिल्ला समन्वय अधिकारी गोपालकुमार अधिकारीले शंखरापुर वडा नं. ६ मा दुई वासिङ उद्योगले बढी खनेको र मापदण्ड मिचेको देखिएको बताए । ‘उद्योग सञ्चालनको अनुमति घरेलुले दिन्छ । अनुगमन प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गर्ने भएकाले पनि अनुगमन प्रभावकारी हुन सकेको छैन,’ अधिकारीले भने ।


शंखरापुर नगरपालिकाले कात्तिकमा अवैध बालुवा र माटो ओसारपसार भइरहेकाले सबैलाई प्रक्रियामा आउन सूचना जारी गरेको थियो । तर पनि धेरैजसो सम्पर्कमा नआएको नगरपालिकाका एक अधिकारीले बताए । मेयर सुवर्ण श्रेष्ठले अनुमति दिने कार्यविधि दोस्रो नगरसभाबाट पारित भइसकेको र अहिले त्यस्ता कार्य निकै घटेको बताए । उनले भने, ‘३/४ वटा माटो, बालुवा खानीले स्वीकृति पाइसके । बाँकी केही अझै प्रक्रियामा आइसकेका छैनन् ।’


नगरपालिकाले सबैतिर अनुगमन गर्न नसकेकाले अनियन्त्रित रूपमा बालुवा र माटो उत्खनन भइरहेको श्रेष्ठले स्वीकारे । जथाभावी यस्ता कार्य भइरहेको, तर नगरपालिकाले यस्ता अनधिकृत कार्यप्रति सहनशीलता नअपनाउने उनको भनाइ छ । शंखरापुरको बालुवा, माटो उत्खनन गर्न अनुमति दिने कार्यविधिमा हरियाली कायम गर्नुपर्ने, बालुवा, माटो छोपेर ल्याउनुपर्ने, सञ्चालकले जीर्ण बाटो निर्माण गरिदिनुपर्ने, धूलो नउडोस् भनी समय–समयमा पानी छर्कने व्यवस्था गर्नुपर्ने उल्लेख छ । व्यक्तिगत जग्गामा उत्खनन भए जग्गाधनीको मञ्जुरीनामा पेस गर्नुपर्नेलगायत कुरा कार्यविधिमा छन् ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?