घडियाल बचाउन स्थानीयको साथ

कान्तिपुर संवाददाता

चितवन — प्रजनन् केन्द्रमा हुर्केका घडियाल गोहीलाई चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक बासस्थल नदी र खोलामा छाड्न लागेको ३७ वर्ष भयो । तर यो पटक खोलामा निकुञ्ज प्रशासनले एउटा नयाँ प्रयोग गर्‍यो ।

घडियाल बचाउन स्थानीयको साथ

घडियाल जस्तै नदी र खोलासँग निकट सम्बन्ध भएका बोटे माझीकै हातबाट निकुञ्ज प्रशासनले गोहीलाई खोलामा छाडेको छ ।

बिहीबार चितवन निकुञ्जको मुख्यालय नजिक कसरा राप्ती नदी किनारमा घडियाल छाडिएको हो । पहिले पहिले यस्तो कामका लागि निकुञ्ज अधिकारी, सेना र सरकारी कार्यालयका प्रमुख वा प्रतिनिधि भेला हुन्थे । स्थानीय बासिन्दाको प्रतिनधिका रूपमा गोही छाडा मध्यवर्तीका पदाधिकारी पनि आएकै हुन्थे ।

प्रजनन् केन्द्रमा हुर्केका गोहीलाई नदी वा खोलामा छाड्नुअघि नम्बर लगाउने गरिन्छ । कसराबाट राप्ती नदीमा छाड्ने ४९६ नम्बरको गोही राखेको बाकस भुँइमा झारेपछि स्थानीय सुमित्रा र सुकमायाले गोहीलाई खोलाको पानीमा छाडे । त्यसलगत्तै अन्य स्थानीयले पनि गोही खोलामा छाडेका थिए । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रका प्रमुख वेदबहादुर खडकाका अनुसार स्थानीयले १० वटा गोही पानीमा छाडेका छन् ।

‘गोही नदीमा बस्ने र बोटे माझी समुदाय पनि नदी र खोलामा आश्रित भएकाले उनीहरूलाई गोहीको महत्त्व बुझाएर संरक्षणमा सहयोग गर्नका लागि यसो गरेका हौं,’ सहायक संरक्षण अधिकृत

खड्काले भने ।

बोटे माझीले माछा मार्नुका साथै नदीमा प्रदूषण निकै बढेका कारणले पनि माछा कम हुँदै गएका छन् । ‘नदी सफा राख्न छुट्टै अभियान चलाउनुपर्छ । तर कम भएको माछा जथाभावी मार्दा पनि गोहीलाई असर गर्छ भन्ने जानकारी उनीहरूलाई दियौं,’ खड्काले भने । अघिल्लो वर्ष जालमा बेरिएका कारण एउटा भाले घडियाल गोही मरेपछि बर्दियाबाट ल्याउनुपरेको थियो । यस्ता सामान्य कुरामा सावधानी अपनाए गोहीलाई राम्रो हुने कुरा उनीहरूलाई भनेको खड्काले बताए । ‘उनीहरूको भाषामा सम्झाउन बोटे समुदायका एकजना व्यक्तिलाई नै ल्याएका थियौं,’ खड्काले भने ।

प्राकृतिक बासस्थलमा गोहीले अण्डा कोरल्न र बच्चा हुर्काउन गाह्रो हुँदै गएपछि सन् १९७८ मा प्रजनन् केन्द्र खुलेको हो । नदी र खोलाबाट गोहीको अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा राख्ने गरिन्छ । सन् १९८१ बाट प्रजनन् केन्द्रमा हुर्केका गोहीहरू नदीहरूमा लगेर छाड्न सुरु भएको हो । गत वर्षसम्म एक हजार २ सय ४६ वटा घडियाल गोही नदी र खोलामा छाडिएको छ । तर दुई वर्षअघि सन् २०१६ मा गणना गर्दा चितवनको नारायणी, राप्ती र अन्य खोलामा १ सय ६६ वटा र बर्दियाको बबई र कर्णाली नदीमा ३२ वटा गरेर १सय९८ वटा घडियाल गोही भेटिएका थिए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?