कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अधिकांश स्थानीय तह भाडाका घरमा

कान्तिपुर संवाददाता

भीमफेदी — मकवानपुरका अधिकांश गाउँपालिका र वडा कार्यालय विद्यालय, सामुदायिक भवन र भाडाका घरमा सञ्चालन भइरहेका छन् । 

अधिकांश स्थानीय तह भाडाका घरमा

जिल्लामा रहेका ८ गाउँपालिकामध्ये ५ वटाको आफ्नो भवन छैनन् । त्यस्ता गाउँपालिकाले भाडाका घर, विद्यालय वा सामुदायिक भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् । मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउँपालिकाको केन्द्र झुरझुरेमा राखिएको छ । ‘झुरेझुरेमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष सर्केश घलानले भने, ‘गाउँपालिकाको कार्यालय भवन निर्माण गर्ने तयारीमा जुटिरहेको छौँ, भवनको अभावमा व्यवस्थित कार्यालय सञ्चालन गर्न सकिएको छैन ।’


मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा साविकको गाविसको भवन पनि थिएन । सुरुमा भूकम्पले चिरैचिरा बनाएको कृषि विकास कार्यालय सेवा केन्द्रको भवनमा गाउँपालिकाको कार्यालय राखिएको थियो । उक्त भवन अत्यन्त सानो भएकाले गाउँपालिकाका प्रमुख र उपप्रमुख बस्ने कार्यकक्षको अभाव रहेको थियो । केही समयपछि कालिकाटारमा नेपाली सेनाले सामुदायिक भवन निर्माण गरेको थियो । त्यही भवनमा प्रमुख र उपप्रमुखको कार्यकक्ष राखिएको छ । कार्यकक्ष अस्तव्यस्त छ । गर्मीमा छाना तातेर भित्र बस्न सकिन्न । भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न घर नै छैन ।


कैलाश मात्र होइन, राक्सिराङ गाउँपालिकाको हालत पनि त्यस्तै छ । राक्सिराङको चैनपुरमा राखिएको केन्द्र विद्यालयको छात्रावासमा छ । ‘छात्रावासको निर्माण गरेर गाउँपालिकाको कार्यालय उक्त भवनमा राखेका छाँै,’ गापाको अध्यक्ष राजकुमार मल्लले भने, ‘गाउँपालिकाको भवन निर्माण गर्न बजेट छुट्याएका थियाँै, प्राविधिकको अभावले भवन निर्माण गर्न सकिएन ।’ यसैगरी, भीमफेदी गाउँपालिकाले पनि घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । गाउँपालिकाले भवन निर्माण नगरिसकेकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौँ,’ गापा अध्यक्ष हिदम लामाले भने । सुगम क्षेत्रमा रहेको मनहरी गाउँपालिकाले पनि रजैयामा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । इन्द्रसरोवर, मकवानपुर गढी र बकैया गाउँपालिकाले साविकको गाविसको जीर्ण र सानो भवनबाट कार्यालय सञ्चालन गरिरहेका छन् ।

‘साविकको गाविस कार्यालय भवन सानो र जीर्ण छन्,’ मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईँले भने, ‘गढीको साविकको गाविस भवनबाट जेनतेन गरेर कार्यालयको काम गरिरहेका छाँै, आफ्नै भवन आवश्यक छ ।’ मकवानपुरका ८ गाउँपालिकामा ७१ वडा छन् । तीमध्ये ५० वडाको आफ्नो भवन छैन । सबैभन्दा सानो र थोरै वडा भएको इन्द्रसरोवर गाउँपालिकाको एउटा मात्र वडाको आफ्नो भवन छैन । उक्त वडाको कार्यालय सामुदायिक भवनमा राखेर सञ्चालन गरिएको छ ।

जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले सबैभन्दा ठूलो बकैया गाउँपालिकामा १२ वडा छनन् ।

विगतमा गाविस कार्यालयको भवन सशस्त्र द्वन्द्वको अवस्थामा क्षतिग्रस्त बनाएकाले अहिले अधिकांश वडा कार्यालय भाडामा घर लिएर सञ्चालन गर्नुपरेको हो । वडा कार्यालय निर्माण गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।

‘भौतिक पूर्वाधारको अभावले गर्दा दैनिक काम गर्न नै समस्या भएको’ राक्सिराङ गाउँपालिका प्रमुख र मल्लले भने, ‘केन्द्रमा कार्यालय सञ्चालन गर्न भवनको नै अभाव छ ।’ पूर्वाधारहरूको अभावले गर्दा मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा समस्या जिल्लाको दुर्गम क्षेत्रका कैलाश र राक्सिराङ गाउँपालिकामा रहेको छ । निर्वाचित जनप्रतिनिधिलाई मात्र होइन, केन्द्रका कर्मचारीहरूलाई पनि समस्या भएको छ ।

केन्द्रको आफ्नो भवन छैन । गाउँमा कार्यालय सञ्चालन गर्न हुने भवन पनि भेटिँदैन । बस्नका लागि भाडामा घर पनि पाइँदैन । टाढा टाढाबाट गाउँपालिकाको केन्द्रमा सेवा लिन आएका सेवाग्राहीहरूलाई खान र बस्न पनि समस्या छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?