कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एकै वर्षमा बने ९ झोलुंगे पुल 

खोला तर्ने क्रममा बर्सेनि २ देखि ५ जनाको बगाएर मृत्यु हुने गरेको थियो 
प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा एकै वर्षमा ९ झोलुंगे पुल निर्माण भएका छन । निर्माण भएका झोलुंगे पुलमध्ये ३ वटाले तुइन विस्थापित गरेका छन् । 

मकवानपुर गढी गाउँँपालिका अन्तर्गत पर्ने सामरी खोलामा निर्माण गरेको पुलले तुइन विस्थपित गरेको छ भने भीमफेदी गाउँँपालिकाअन्तर्गत त्रिखण्डे मन्दिरनजिक निर्माण भएको झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई तुइनको सहारामा खोला पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । ‘जिल्लामा गत आर्थिक वर्षमा ९ झोलुंगे पुल निर्माण भए पनि ३ वटामात्रा तुइन विस्थापित भएका छन्,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिम्लसेनाले भने, ‘जिल्लामा अन्य झोलुंगे पुल निर्माण गरी पूर्णरूपमा तुइन विस्थापित गर्ने कार्य बाँकी नै छ ।’ मकवानपुरमा क्षेत्रगत कार्यक्रम अन्तर्गत स्विस सरकारको सहयोगमा जिल्लाको ग्रामीण भेगमा आर्थिक वर्ष ०७३/०७४ मा ७ झोलुंगे पुल निर्माण भइसकेका छन् भने केन्द्रीय बजेटमा तुइन विस्थापित गर्न २ झोलुंगे पुल निर्माण भएका छन् ।

‘बेतेघारी र गोपीराङ बस्तीको बीचमा पर्ने मनहरी खोलामा पुल निर्माण भएपछि विद्यार्थीहरू नियमित पढन आउने गरेका छन्,’

बेतेघारीस्थित देवी प्राथमिक विद्यालयका शिक्षक कर्ण चेपाङले भने, ‘झोलुंगे पुलको निर्माणले गर्दा गोपीराङका विद्यार्थीलाई स्कुल आउन सहज भएको छ ।’ गोपीराङमा चेपाङ समुदायको मात्र बसोबास छ । पुलको अभावले गर्दा वर्षायाममा मनहरी खोला तर्ने क्रममा बर्सेनि गोपीराङका २ देखि ५ जनाको खोलाले बगाएर मृत्यु हुने गरेको थियो ।

यसैगरी, कैलाश गाउँँपालिकाको च्याखेटारमा पनि ३२ लाखमा पुल निर्माण भएको छ । पुलबाट एक सय ८० घरधुरी लाभान्वित भएका छन । अर्को पनि कैलाश गाउँपालिकाअन्तर्गत साविकको नामटार गाविस गर्दोवामा निर्माण गरिएको छ । पुलबाट ३ सय ५० घरधुरी लाभान्वित भएका छन् । राक्सिराङ गाउँपालिकाअन्तर्गत पर्ने साविकको खैराङ गाविसमा २ वटा पुल निर्माण भएका छन् । यसैगरी थाहा नगरपालिकाअन्तर्गत पर्ने साविकको आग्रा गाविसको घट्टेखोलामा ३२ लाखको लागतमा झोलुंगे पुल निर्माण गरिएको छ । ‘तोकिएको समयमानै पुलहरू निर्माण गरियो,’ राडो नेपालका इन्जिनियर चन्द्र योञ्जनले भने, ‘पुल निर्माण गर्न स्थानीयबासीहरूले मन खोलेर सहयोग गरेकाले समयमा नै पुलको काम सम्पन्न भएको हो ।’

करिब ६ करोडको लागतमा निर्माण गरिएका ९ वटा झोलुंगे पुलबाट करिब २ हजार १ सय ३० घरधुरी लाभान्वित भएका छन् । जोखिम मोलेर तुइनबाट ओहोरदोहोर गर्ने ३ सय २० घरधुरीका बासिन्दाले पनि झोलुंगे पुलबाट ओहोरदोहोर गर्न थालेका छन् ।

मकवानपुरका विभिन्न खोलामा रहेका १० वटा तुइनमध्ये गत आवमा ३ वटा विस्थापित भएका छन् । अझै ७ वटा तुइन विस्थापित गर्न बाँकी रहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमतीमा ३ वटा तुइन छन् । आमभञ्ज्याङ, निवुवाटार, कुलेखानी र भार्तामा गरी ७ वटा तुइनमार्फत १५ हजार मानिसहरु जोखिमयुक्त यात्रा गर्न बाध्य थिए ।

जिल्लामा हालसम्म ७५ वटा झोलुंगेपुल निर्माण भइसकेका छन् । झोलुंगे पुल २०१९ सालमा

अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?