नुवाकोटकी डा. स्वेता थापाको विमान दुर्घटनामा ज्यान गयो

कृष्ण थापा

नुवाकोट — सोमबार काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा विदुनगरपालिका-८ थुम्का २३ वर्षीया डा. स्वेता थापाको निधन भएको छ । उनको शव शिक्षण अस्पतालमा राखिएको छ । उनी सोमबार एक महिना छुट्टीमा घर आउँदै गरेको बुवा गजेन्द्र थापाले बताए ।

नुवाकोटकी डा. स्वेता थापाको विमान दुर्घटनामा ज्यान गयो

उनी बंगलादेशको ढाकामा चिकित्सकको अध्ययन सकेर घर फकिंदै थिइन् । उनी एकमात्र सन्तान थिइन् । ‘छोरी एमबीबीस सकेर इन्ट्रर्न गर्न बाँकी थियो,’ बुवा गजेन्द्रले भने,’यस्तो दु:खद् घटना भो ।’


सेन्टजेभियर्स स्कुल अध्ययन गरेकी थापाले प्लस टु जावलाखेलबाट गरेकी थिइन् । उनको शव लिन शिक्षण अस्पताल पुगेका बुवाले आफ्नी छोरीको शव पाउन सकेका छैनन् । ‘पोस्टमार्टम गर्न बढीमा तीन दिन लाग्छ भनेको छ,’ उनले भने, ‘शव क्षतविच्छद हेर्न नसकिने स्थिति छ । कसैको डिएनए परीक्षण गर्नुपर्ने भएकोले समय लाग्छ भनेका छन् ।’


छोरी स्वेता मिहिनेती अध्ययनशील र रुचीअनुसार चिकित्सक अध्ययन गर्न पठाएको पारिवारिक स्रोतले जनाएको छ । डाक्टर बनेर दिनदुखीहरु र देशको सेवा गर्ने सपना अधुरै रहेको उनको परिवारले जनाएको छ । उनले १३ वर्षको उमेरमा एसएलसी पास गरेकी थिइन् ।


उनको निधनले छिमेकीहरु र उनका बुवाका साथीहरु समेत स्तब्ध भएका छन् । ‘नसोचेको घटना भयो,’ बुवा गजेन्द्रसँग त्रिभुवनत्रिशूली उमाविमा सँगै पढेका हरिकृष्ण श्रेष्ठले भने, ‘उनको असामयिक निधनले मर्माहत भएँ ।’


प्रकाशित : फाल्गुन २९, २०७४ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?