१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुषित पानी पिउँदै सदरमुकामबासी 

कान्तिपुर संवाददाता

दोलखा — भीमेश्वर नगरवासीले वर्षाैँदेखि दूषित पानी पिइरहेको अध्ययनले देखाएको छ ।

दुषित पानी पिउँदै सदरमुकामबासी 

नगरभित्र पानी वितरण गर्ने निकायको लापरबाहीले दूषित पानीका कारण बिरामीको संख्या पनि बढिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा जिल्ला सदरमुकाम चरिकोट र आसपासमै वितरित पानीमा दिसायुक्त विषादी भेटिएको हो ।


गतबर्ष अधिकांश मुहानको पानीमा दिसाका किटाणु भेटिएका थिए भने यस वर्ष पनि केही मुहानबाट त्यस्तो दूषित पानी आपूर्ति भइरहेको परीक्षणले देखाएको छ । चरिकोट अस्पतालका प्रमुख डा. विनोद दंगालले जचाँउन आएकामध्ये ५० प्रतिशतमा दूषित खानेपानीको असरले बिरामी परेको पाइएको बताएका छन् ।


भर्खरै जिल्ला स्वास्थ्य कार्यालयले चरिकोट बजार, ओडारे, खोर्थली पाखाटोलको उपल्लो र तल्ला मुहानहरु परीक्षण गरेको थियो । त्यसमध्ये खोर्थलीको तल्लो र माथिल्लो मुहानहरु बढी दूषित भेटिएका छन् । सदरमुकाम चरिकोटमा आयोजित जिल्लास्तरीय खानेपानी गुणस्तरीय निगरानीसम्बन्धी कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बर थोकरले कतिपय पानीका मुहानहरुबाट दिसा मिसिएको पानी आइरहेकाले पिउन अयोग्य भएको दाबी गरे ।


अध्ययन प्रतिवदेनअनुसार खोर्थली माथिल्लो मुहानमा इकोलाई जीवाणु ४ देखिएको छ । उक्त पानीमा कोलिफर्म अर्थात् दिसा मिसिएको मात्रा १३ भेटिएको छ । उक्त मात्रा ८ देखि १० सम्म भए पिउन योग्य हुन्छ । तर १३ सम्म देखिएको पानी पनि नगरवासीले पिइरहेको उनले बताए । खोर्थली तल्लो मुहानमा इकोलाई २ र कोलिफर्म ९ भेटिएको छ । दुवै मुहानहरुको पानी शृद्धीकरण नगरी पिउन अयोग्य भनिएको छ ।


गतवर्षसम्म दिसा मिसिएको भेटिए पनि यस वर्षको परीक्षणमा चरिकोट बजार खानेपानीको मुहान र ओडारे मुहानको पानी भने पिउन योग्य पाइएको छ । गतवर्षसम्म उक्त मुहानबाट दूषित पानी आएको भेटिएपछि सुधारको सुझाव दिइएको थियो । गएको भदौ महिनामा पानी परीक्षण गर्दा उक्त योजनाको मुहान सबैभन्दा बढी कोलिफर्म देखिएको थियो ।


शुद्धीकरणको उपाय निकालेपछि पानीमा कुनै समस्या नभएको चरिकोट खानेपानी योजनाका अध्यक्ष बद्री श्रेष्ठले दाबी गरे । उक्त योजनाले १२ सय घरमा पानी आपूर्ति गर्छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?