दुर्घटनामा दुईको मृत्यु

११ जना घाइते
कान्तिपुर संवाददाता

चितवन — पृथ्वी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा सोमबार राति भएका दुर्घटनामा दुईको मृत्यु र ११ जना घाइते भएका छन् । 

दुर्घटनामा दुईको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा धादिङ थाक्रेका २३ वर्षीय सरोज सुवेदी रहेका छन् ।

धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नम्बरको कार अनियन्त्रित भएर पल्टेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले बताए । कार पल्टँदा घाइते भएका चारै जनालाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा एक जनाको बाटोमा नै मृत्यु भएको उनले बताए । घाइते अन्य तीन जनामा धादिङ धुनीबेंसीका २४ वर्षीय शरद रोक्का, बेनीघाटका २१ वर्षीय महेश श्रेष्ठ र जुँगेखोलाका २४ वर्षीय अनुप सिंह रहेको चितवन प्रहरीको भनाइ छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा सोमबार राति नै भएको अर्को दुर्घटनामा १ जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ पाँचकिलोमा केए०१एएच २५९६ नम्बरको ग्यास बोक्ने खाली बुलेट मुग्लिनबाट नारायणगढतर्फ आउँदै गर्दा सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा स्टेरिङमा च्यापिएर बुलेट चालकको मृत्यु भएको छ । उनको सनाखत भएको छैन । उनी भारतीय नागरिक हुन सक्ने चितवन प्रहरीको अनुमान छ । शव भरतपुर अस्पतालमा राखिएको छ ।

त्यसैगरी जन्ती बोकेको ट्रयाक्टर पल्टँदा आठजना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । पूर्व–पश्चिम राजमार्गको रत्ननगर सौराहा चोकमा जन्ती बोकेको ना४त ६२३६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टेको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?