कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नगर सफा, नदी फोहोर

भक्तपुरको परिचय हो– हनुमन्ते नदी । अनि समृद्ध इतिहास पनि । अहिले ढलमा परिणत भएको हनुमन्तेलाई फेरि पुरानो स्वरुपमै फर्काउने प्रयास सुरु भएको छ । यसका लागि सरसफाइ अभियान पनि थालिएको छ । यो आफैंमा उत्तिकै चुनौतीपूर्ण पनि छ ।
करिब साढे २३ किलोमिटर दूरी ओगटेको हनुमन्ते नदी विभिन्न कालखण्डका सांस्कृतिक सम्पदाले भरिपूर्ण छ ।
हनुमन्तेलाई ढलमन्ते बनाउने प्रमुख कारक नगरको ढल तथा औद्योगिक फोहोर

भक्तपुर — इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले करिब चार दशकअघि हनुमन्ते नदीबाटै पौडी खेल्न सिके । पानी सफा थियो ।

नगर सफा, नदी फोहोर

‘हनुमन्तेमै असला माछा माथ्र्यौं,’ उनले स्मरण गरे, ‘मेरो पुस्ताले पौडी खेल्न हनुमन्तेमा सिकेका हुन् ।’ उत्तिखेर नदी सफा थियो, नगर भने फोहोर । स्थानीयले निश्चित स्थानमा फोहोर थुपार्थे । दिसा–पिसाबका लागि मला: जान्थे । मला: बिहान/बेलुका खुल्ला शौच गर्ने ठाउँ थियो । नगरमा ढलको व्यवस्था नै थिएन ।

पछि भक्तपुरमा जर्मन प्रोजेक्टले काम गर्न थाल्यो । नगरपालिकाका पर्यटन तथा वातावरण समिति संयोजक एवं ८ नम्बर वडाध्यक्ष रवीन्द्र ज्याख्वोका अनुसार नगरमा प्रोजेक्टले दुई चरणमा काम गरेको थियो । पहिलो चरण २०२७–०३१ मा साना सम्पदा संरक्षण र ढल निकासको काम भयो । दोस्रो चरण २०३२–०४४/४५ मा ‘भक्तपुर विकास परियोजना’ शीर्षकमा घर/घरमा शौचालय बने । परियोजनाअन्तर्गत नै पाटी, पौवा, सत्तल, बाटो मर्मत लगायतका काम भए ।

खानेपानी र ढलको पाइप बिच्छयाइयो । माथिल्लो भेगको ढल भक्तपुर–७ खंचास्थित २ उपचार पोखरीमा खसाल्न थालेको उनले बताए । उपचार पोखरीमा प्रशोधन गरेपछि मात्र हनुमन्तेमा सफा पानी पठाउने प्रक्रिया थालियो । पश्चिम भेगबाट बग्ने ढल भक्तपुर–१ सल्लाघारी स्थित ४ उपचार पोखरीमा प्रशोधन गरेर हनुमन्तेमा पानी पठाउन थालेको ज्याख्वो बताउँछन् । परियोजनाले निर्माण थालेको प्रक्रिया २ देखि ३ वर्षबाट टिक्न सकेन ।

परियोजनाले उपचार पोखरीको प्राविधिक व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई दिन सकेन । ‘ढलको लेभलभन्दा उपचार पोखरी माथि पर्‍यो,’ उनले भने, ‘प्राविधिक समस्याका कारण उपचार पोखरीको प्रयोग गर्न सकेनन् ।’ पोखरीमा जम्मा भएको ढल प्रशोधन भएपछि मात्र नदीमा पठाउनुपर्ने थियो । त्यो हुन सकेन । नगरबाट निस्किएको ढल सिधै खोलामा पुर्‍याइयो । नगरबाट निस्किएको ढल सिधै हनुमन्ते बग्न थाल्यो । ‘नगर सफा हुँदै गयो, नदी फोहोर भयो,’ श्रेष्ठले भने ।

ढलमा परिणत हनुमन्ते
भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका अधिकांश क्षेत्रको ढल हनुमन्तेमा बग्छ । मध्यपुर थिमि प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार २०४८ बाट नगरको ढल हनुमन्तेमा मिसाउन थालेको हो । दुई नयाँ नगरपालिका सूर्यविनायक र चाँगुनारायणले ढल व्यवस्थापनको खाका तयार पार्न भ्याएको छैन । साविक गाविसले पनि दुई नगरपालिकाको सिको गर्दै बस्तीबाट निस्किएको फोहोर खोला किनारामै फाल्न थालेपछि नदी र खोला दुर्गन्धित भएको उनी बताउँछन् ।

जिल्लाको चार नगरपालिका भएर बग्ने हनुमन्ते खोलाको पहिचान फोहोरमा परिणत भएको छ । धार्मिक, ऐतिहासिक महत्त्वको हनुमन्तेमा नाक थुनेर हिँड्नुपर्छ । फोहोरको डङ्गुर छ । यत्तिखेर हनुमन्ते बगेको छैन, ढल मात्र बगेको स्थानीय बताउँछन् । ‘विदेशी प्रोजेक्ट आयो भन्दैमा दीर्घकालीन योजना नै नबनाएर काम भएको थियो,’ भक्तपुर नगरपालिका–१ दूधपाटीका पूर्ण सुवालले भने, ‘परिणाम हनुमन्ते ढलमन्तेमा परिणत भयो ।’

चाँगुनारायण नगरपालिका महादेव पोखरी महाभारत पर्व हनुमन्तेको उद्गम स्थल हो । समागम स्थल भने काठमाडौं–मध्यपुर थिमि जोडिएको मनोहरामा हो । करिब साढे २३ किलोमिटर दूरी ओगटेको हनुमन्ते नदी विभिन्न कालखण्डका सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको छ । शैव–बौद्ध सम्पदाले भरिएको हनुमन्तेमा वाल्मीकिको मूर्ति पनि छ । वाल्मीकिको मूर्तिले हनुमन्तेको महत्त्व बढाएको इतिहासविद् श्रेष्ठ बताउँछन् । हनुमन्ते किनारमा भेटिने सम्पदाको आधारमा भक्तपुरको बस्ती किराँत कालतिरै समृद्ध भइसकेको प्रतीत हुने श्रेष्ठले बताए ।

सूर्यविनायक नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेश खड्काका अनुसार हनुमन्ते नदीमा १ सय २७ वर्गकिलोमिटर सिँचाइ प्रणाली रहेका छन् । त्यसमध्ये मनसुनमा करिब १ लाख १ हजार ७ सय १५ रोपनी सिँचाइ हुन्छ भने, सुक्खा मौसममा ४४ हजार ५० रोपनी सिँचाइ हनुमन्तेबाट हुँदै आएको छ । जिल्लामा सञ्चालित ६२ इँटाभट्टामध्ये २१ भट्टाले इनार, बोरिङमार्फत पानी निकाली प्रयोग गर्ने गरेका छन् । यस्तै ४१ भट्टाले प्रत्यक्ष हनुमन्तेको सहायक खोलाको पानी प्रयोग गर्दै आएका छन् । खड्काका अनुसार ६२ इँटाभट्टालाई वार्षिक २० करोड लिटर पानी आवश्यक पर्छ । जसमध्ये भट्टाले १ करोड ४२ लाख ६ हजार ५ सय लिटर पानी हनुमन्ते र सहायक नदी उपभोग गर्दै आएका छन् ।

हनुमन्तेको माथिल्लो भेगमा मिसिने सहायक नदीको पानी घरेलु र सिँचाइका लागि प्रयोग हुँदै आएको छ । वीरा, भद्रा र तमसाको संगम भएर पश्चिमतर्फ बगेको हनुमन्तेका सहायक नदी मंगलतीर्थ, हनुमानघाट, महेश्वरीघाट, चुपिङघाट, खासाङखुसुङ लगायत हुन् ।

कसरी सफा हुन सक्छ ?
महादेव पोखरीदेखि सुरु हुने हनुमन्ते खोला भक्तपुर च्याम्हासिंहस्थित ब्रम्हायणीबाट दुर्गन्धित सुरु भएको छ । ब्रम्हायणी हुँदै मनोहरासम्मको करिब साढे १० किलोमिटर नदी सफाइ चुनौती रहेको छ ।

हनुमन्तेलाई ढलमन्ते बनाउने प्रमुख कारक नगरको ढल तथा औद्योगिक फोहोर भएको सरोकारवाला बताउँछन् । पछिल्लो तीन सातादेखि सूर्यविनायक नगरप्रमुख वासुदेव थापाको संयोजकत्वमा चार नगरको उपप्रमुख उपसंयोजक, प्रतिनिधि–प्रदेशसभा सदस्य, नगरप्रमुख, जनप्रतिनिधि सल्लाहकार रहने गरेर हनुमन्ते सफाइ अभियान थालिएको छ ।

जानकार हनुमन्ते नदीमा फालिएको ठोस पदार्थ प्लास्टिकजन्य फोहोर निकालेर मात्र अभियान सफल नहुने तर्क राख्छन् । ‘सफाइ अभियानसँगै नदी किनारमा वृक्षरोपण गर्न आवश्यक छ,’ त्रिचन्द्र/ख्वप: कलेजका वातावरण विज्ञानका उप–प्राध्यापक कमलराज गोसाईंले भने, ‘वृक्षरोपणसँगै उपचार पोखरीको आधुनिकीकरण तथा थप उपचार पोखरी निर्माण गर्नुपर्छ ।’ प्लास्टिकजन्य फोहोरको व्यवस्थापन तथा उपचार पोखरीमा फोहोर प्रशोधन गर्न सके हनुमन्ते सफा हुने उनले बताए ।

नदी सफा हुन नसक्नुमा उपचार पोखरी नै कारक रहेको ज्याख्वोले बताए । हनुमन्ते सफाइ तथा बस्तीको ढल व्यवस्थापनका लागि निर्माणाधीन हनुमन्ते करिडोरले सिधै नदीमा मिसिएको ढललाई सम्बोधन गर्ने सूर्यविनायक नगर उप–प्रमुख जुना बस्नेतले बताइन् । ‘सफाइ अभियानको सातौं साता नदीमा भएको फोहोर संकलन गरी सक्छौं,’ उनले भनिन्, ‘कुहिने र नकुहिने फोहोर संकलन गरिसकेपछि कुहिनेलाई मल बनाउने र नकुहिनेलाई टेकु पठाउँछौं ।’

सातौं सातापछि वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर वडास्तरमै फोहोर व्यवस्थापन गर्ने उनले बताइन् । अभियानको सय सातासम्ममा हनुमन्ते करिडोर निर्माण भइसक्नेसमेत उनी बताउँछिन् । नगरबाट निस्केको फोहोर तथा ढललाई नगरभित्रै व्यवस्थापन गर्ने लक्ष्य अनुरूप नगरपालिकाले सफाइलाई जनचेतनामूलक अभियान सुरुवात गरेको पनि जनाएको छ । ढलकै कारण नदी दुर्गन्धित र फोहोर भएकाले ढल व्यवस्थापनका लागि करिडोरसँगै प्रशोधन केन्द्र निर्माण गर्ने बस्नेतले बताइन् ।

प्रकाशित : चैत्र ३, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?