कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गाउँपालिकाको ८० प्रतिशत बजेट कृषिमा

कृषि क्षेत्रको विकास–बिना समग्र विकास सम्भव नभएकाले बढी बजेट छुट्याइएको हो । – गाउँपालिका अध्यक्ष
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको दुर्गम गाउँपालिकाले कृषि क्षेत्रका लागि करिब ८० प्रतिशत बजेट विनियोजित गरेको छ । जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्रको विकास गर्न १ करोड ७७ लाख रकम विनियोजन गरेको हो ।

गाउँपालिका क्षेत्रबाट गाँजा खेती विस्थापित गरी तरकारीलगायत अन्य नगदे बाली लगाउन कृषकलाई उत्प्रेरित गर्न उक्त बजेट विनियोजित गरेको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए ।


कृषि क्षेत्रको विकास नभई गाउँपालिकाका विकास सम्भव नभएकाले कृषिमा सबैभन्दा बढी बजेट छुट्याएको उनले बताए ।


कृषि प्राविधिक अमरकान्त झाका अनुसार कैलाशमा प्रधानमन्त्री ब्लक कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । तरकारीको पकेटको लागि गोगने र नामटारको साविकको ९ र १० मा रहेको छ । चालू आर्थिक वर्षमा अदुवाको पकेट कार्यक्रमको लागि कालिकाटार र भार्तामा कार्यक्रम राखिएको छ । गाउँपालिकामा सिँचाइ अभावका कारण उत्पादनमा निकै कमी आउने भएकाले कृषकलाई आत्मनिर्भर बनाउन र कृषि क्षेत्रको आम्दानी बढाउन ६८ लाख सिँचाइको व्यवस्था गर्न विनियोजन गरिएको कृषि प्राविधिक झाले बताए । गाउँपालिकाले सिँचाइ कार्यक्रम ३४ वटा कृषक समूहमार्फत सञ्चालन गरिनेछ ।


गाउँपालिकाले ९ वटा कृषि उपज संकलन केन्द्र निर्माणका लागि १९ लाख ५० हजार बजेट छुट्याएको छ । किसानलाई कृषि पकेट क्षेत्र अनुगमन तथा भ्रमणका लागि ४ लाख रुपैयाँ बजेट छुट्याएको छ । कृषि प्रसार कार्यक्रमका लागि १७ लाख, बाली विकासअन्तर्गत बीउ वितरण कार्यक्रमका लागि ३ लाख र बहुउद्देश्यीय आधुनिक नर्सरीका लागि १० लाख विनियोजन गरिएको छ । नमुना च्याउ स्थापना कार्यक्रमका लागि १ लाख, घरसहितको च्याउ प्रदर्शनी गर्न १० परिवारका लागि १ लाख ५० हजार, सामूहिक माछापालनका लागि १ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।


त्यसैगरी, पशु विकास कार्यक्रमका लागि ५० लाख बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले बताए पशु विकास कार्यक्रमका लागि विपन्न परिवार बाख्रा पैँचो कार्यक्रममा १२ लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ । मकवानपुरमा रहेको १० वटै स्थानीय तहको तुलनामा सबैभन्दा धेरै कृषिमा बजेट कैलाश गाउँपालिकाले छुट्याएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले बताए ।


‘गाउँपालिका कृषिको उच्चतम् सम्भावना भएकाले व्यावसायिक कृषिमा स्थानीयलाई रूपान्तरण गर्न जरुरी छ,’ उनले भने । कृषि क्षेत्रमा विनियोजित गरेको रकम ठिक ढंगले कार्यान्वयन गर्न सकेमा उक्त क्षेत्रको गाँजा खेती सधंैका निम्ति विस्थापित हुने कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लामा रहेका कृषि सेवाकेन्द्रहरू स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ । प्रत्येक स्थानीय तहमा एक जना कृषि संयोजक छन् ।


गाँजा प्रभावित क्षेत्रमा च्याउ खेती
कैलाश गाउँपालिका ३ को अम्बाटारमा अहिले च्याउ खेती मौलाएको छ । गत वर्षसम्म उक्त बस्तीका सवै जमिनमा गाँजा खेती गरिन्थ्यो ।


गाँजा खेती विस्थापित गर्न गाउँपालिकाले च्याउ खेती गर्न रकमसँगै प्राविधिक ज्ञानसमेत उपलब्ध गराएपछि अम्वाटारमा सामूहिक रूपमा च्याउ खेती फस्टाएको हो । गाउँका १० कृषक मिलेर सामुहिक रुपमा १० प्लास्टिकका टनेलहरू बनाएर च्याउ खेती गरेको कृषि प्राविधिक अमरकान्त झाले बताए । उत्पादित च्याउ स्थानीय बजारमा प्रतिकेजी २ सय रुपैयामा बिक्री हुने गरेको कृषक सूर्यबहादुर तितुङले ताए । गाउँपालिकाले च्याउ खेती गर्न अनुदान रकम र तालिम पनि दिएकाले गाउँका कृषकहरू च्याउ खेतीतर्फ आकर्षित भएका हुन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?