कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘खेलाडी उत्पादनमा ध्यान दिऔं’

रमेशकुमार पौडेल

चितवन — नेपाली क्रिकेटले वान–डे अन्तर्राष्ट्रियको मान्यता पाइरहँदा पूर्व राष्ट्रिय कप्तान राजु खड्का खुसी नहुने कुरै भएन । तर यो खुसी टिकाइराख्न देशले नयाँनयाँ खेलाडी उत्पादनका लागि तत्काल योजना बनाउनुपर्ने उनी सुझाउँछन् ।

‘खेलाडी उत्पादनमा ध्यान दिऔं’

‘नभए चार वर्षपछि यो मान्यता खोसियो भने अहिलेको खुसीको अर्थ नै रहँदैन,’ नारायणगढमा शनिबार आयोजित एक कार्यक्रममा पत्रकारसँग पूर्वकप्तान खड्काले भने । जिम्बाबेमा विश्वकप छनोट खेलिरहेको नेपाली टोली वान–डे अन्तर्राष्ट्रिय मान्यता बोकेर फर्कंदै छ । नेपाली क्रिकेटका लागि यो ऐतिहासिक घटना भएको खड्काले बताउँछन् ।


‘तर पूरै देशभरमा जम्माजम्मी राम्रो क्रिकेट खेल्ने ७०–८० खेलाडी होलान् । वान–डे मान्यता पाएपछि राम्रोभन्दा राम्रो खेल्दै जानुपर्छ । यति क्रिकेटरको भरमा कसरी राम्रो खेल्ने ?,’ पूर्वकप्तान खड्काले प्रश्न गरे ।


नेपालले कम्तीमा ७ सयभन्दा बढी खेलाडी आउँदो केही वर्षभित्रै तयार गर्नुपर्ने चुनौती थपिएको उनले बताए । भैरहवाका खड्का केही वर्षयता चितवनमा बस्दै आएका छन् । क्रिकेटसँगको उनको लगाव कायमै छ । उनले सञ्चालन गरेको एकेडेमीमा सहभागी सन्दीप लामिछाने अहिले देशकै चर्चित र सफल खेलाडी भएका छन् । उनले छिट्टै इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दै छन् । उमेर समूहका राष्ट्रिय खेलाडी सुशील कँडेल, दीपेश श्रेष्ठ र किशोर महतो पनि उनकै प्रशिक्षणमा हुर्केका खेलाडी हुन् । ‘व्यक्ति वा जिल्ला संघले मात्रै धेरै गर्न सक्दैन । अहिले जिल्लामा एकाध खेलाडीहरू निस्केका छन् । यसरी हुँदैन । धेरै खेलाडी आफ्नो खेल क्षमता देखाउने अवसर नपाएर बसेका छन् । घरेलु क्रिकेट नहुँदा यस्तो भएको हो,’ खड्काले गुनासो गरे ।


नयाँ खेलाडी उत्पादन हुन नसक्दा र पुराना खेलाडीलाई नै खेलाइरहनुपर्दा टिमले लगातार सन्तोषजनक प्रदर्शन गर्न नसक्ने उनको ठम्याइ छ । ‘अहिले पनि हाम्रो राष्ट्रिय टिममा आशा गर्नलायक ५–७ जना मात्रै खेलाडी छन् । ब्याटिङमा कप्तान पारस खड्का जमेनन् भने ज्ञानेन्द्र मल्ल सम्हालिएनन् भने टिमले जित्ला भन्न सकिन्न,’ खड्काले भने । सन् १९९८ देखि २००२ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हालेका खड्काले ईपीएल, डीपीएलजस्तै कलेज क्रिकेट पनि भइरहनुपर्ने बताए ।


‘ईपीएल, डीपीएल पनि मनोरञ्जन क्रिकेटका रूपमा खेलिनुभएन । त्यसलाई नयाँनयाँ खेलाडी उत्पादन गर्ने थलोका रूपमा विकास गर्नुपर्छ । यसले राम्रा प्रतिभा जन्माउन मद्दत पुग्छ,’ खड्काले भने ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?