कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्याप्त औषधि, तलबको समस्या

काठमाडौँ — जिल्लाका नगरपालिकाले नगरमा पर्याप्त औषधि रहेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयबाट ससर्त बजेट गए पनि कतै–कतै तलबमा समस्या भएको देखिएको छ ।

पर्याप्त औषधि, तलबको समस्या

सरकारी स्वास्थ्य संस्था पनि स्थानीय तहअन्तर्गत आएपछि देशका विभिन्न स्थानमा औषधि अभाव भइरहेको खबरमाझ काठमाडौंमा भने त्यस्तो स्थिति नरहेको नगरको भनाइ छ । माघ अन्तिमतिर तारकेश्वर नगरपालिकाले सात लाख रुपैयाँको औषधि खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।


नगरपालिकाअन्तर्गत ९ प्राथमिक स्वास्थ्य केन्द्र, ६ स्वास्थ्य चौकी र ५ नगर सहरी स्वास्थ्य केन्द्र छन् । स्वास्थ्य शाखाका प्रमुख अरूण गिरीले यसअघि पनि जनस्वास्थ्य कार्यालयले ५ लाख रुपैयाँ बराबरको औषधि पठाएको बताए । ‘वर्षमा १२ लाख रुपैयाँ स्वास्थ्य शाखालाई औषधि खरिद गर्न दिइएको छ । शाखामा कार्यरत कर्मचारीलाई पारिश्रमिक अभाव छ,’ गिरीले भने, ‘डेढ करोड ६० लाख रुपैयाँ जति बजेट पुग्दैन ।’ दक्षिणकाली नगरपालिकामा पनि यस्तै समस्या छ ।


स्वास्थ्य शाखाका अनुसार औषधि पर्याप्त भए पनि अन्तर्गतका ४४ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । स्वास्थ्य शाखा संयोजक बालकुमार ओझाले औषधि खरिदका लागि साढे तीन लाख रुपैयाँ आएको बताए । ‘एक करोड ७५ लाख रुपैयाँ तलब दिनुपर्नेमा जम्मा ३० लाख ३५ हजार रुपैयाँ आएको छ,’ ओझाले भने, ‘त्यसैले नयाँ कार्यक्रम सञ्चालन गर्न सकेका छैनौं ।’ नगरअन्तर्गत ९ स्वास्थ्य संस्था छन् । तारकेश्वरले वडा नं. २ र ३ मा सहरी स्वास्थ्य केन्द्रको सुरुवात गरिसकेको छ ।


अब वडा नं. ७ मा पनि स्थापना गर्ने तयारी रहेको स्वास्थ्य शाखा संयोजक ओझाले बताए । ज्येष्ठ नागरिकलाई स्वास्थ्य शिविर सञ्चालन, नि:शुल्क परीक्षण तथा औषधि वितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ । वडा नं. १ मा ज्येष्ठ नागरिकका लागि घरदैलो कार्यक्रम चलिरहेको छ । स्वास्थ्य संस्थाले सेवा दिने समय पनि बढाइएको गिरीको भनाइ छ । कीर्तिपुरमा साढे ११ लाख औषधि खरिदका लागि आएकामा ७ लाख ७० हजारको औषधि खरिद गरिसकिएको स्वास्थ्य शाखाको भनाइ छ ।


शाखाका संयोजक धनबहादुर थापाका अनुसार स्थायी र करारका गरी ७५ जना स्वास्थ्य कर्मचारीलाई तलबको समस्या भइरहेको छ । उनले भने, ‘महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरे पनि थप कार्यक्रम बजेट अभावले थालिएको छैन, त्यो रकमले कर्मचारीलाई तलब खुवाउँदै छौं ।’ दोस्रो किस्ता निकासा भएपछि मात्र थप कार्यक्रम गरिने उनले बताएका छन् । नगरमा दुई सहरी स्वास्थ्य केन्द्र स्थापना भइसकेका छन् भने वडा नं. ६ मा स्थापना गर्ने तयारी छ ।


स्वास्थ्यका लागि कुल २ करोड ९९ लाख ३५ हजार रुपैयाँ बजेट आएको नगरपालिकाले जनाएको छ । नगरअन्तर्गत १० स्वास्थ्य संस्था छन् । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले जनस्वास्थ्य कार्यालय काठमाडौंमार्फत औषधिका लागि ९ लाख रुपैयाँ प्राप्त भएको बताए । ‘अनुदान रकमको आधाबाट औषधि किनिसक्यौं । अहिले फेरि किनिरहनुपर्ने आवश्यकता छैन,’ थापाले भने । उक्त नगरमा ६ सामुदायिक स्वास्थ्य संस्था छन् ।


शंखरापुर नगरपालिकाले पनि नगरका सात स्वास्थ्य चौकीमा औषधि पर्याप्त रहेको बताएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले भने, ‘अहिलेसम्म औषधि जनस्वास्थ्यबाटै आएको छ । कतिपय आवश्यक नगरपालिकाले नै व्यवस्था गर्‍यो ।’ पहिले जनस्वास्थ्य कार्यालयमार्फत सबै सरकारी तथा सम्झौता भएका सामुदायिक स्वास्थ्य संस्थामा सरकारले दिने नि:शुल्क औषधि पठाइने गरिन्थ्यो । अहिले ती कार्य नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले गर्ने गरेको छ ।


जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जिल्लामा औषधि अभाव नभएको बताए । उनले भने, ‘पहिले जनस्वास्थ्य मार्फत एक करोड रुपैयाँ बराबरको नि:शुल्क औषधि किन्ने गरिन्थ्यो । अहिले त्यो रकम स्थानीय तहलाई दिइएको छ ।’


काठमाडौं महानगरपालिकालाई औषधि खरिद शीर्षकमा २० लाख रुपैयाँ ससर्त अनुदान दिइएको छ । ससर्त अनुदानमा स्वास्थ्य कर्मचारीको तलबमा भने कतै–कतै अपुग भइरहेको गुनासो आइरहेको छ । ‘दक्षिणकाली नगरपालिकामा दुई महिनाका लागि पनि तलब नपुग्ने स्थिति छ,’ श्रेष्ठले भने ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?