कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छाला अभावमा जलेका बिरामी

काठमाडौँ — पुसमा सिमराकी ५७ वर्षीया एक महिला आगो ताप्ने क्रममा जलिन् । जलेर उनको ढाड, कम्मर र खुट्टा घाइते भयो । जिल्ला अस्पतालबाट रिफर भएर कीर्तिपुर अस्पताल भर्ना भएकी उनको चार दिन उपचार रोकियो ।

छाला अभावमा जलेका बिरामी

शरीरको ४५ प्रतिशत छाला जलेर कामै नलाग्ने भएको थियो । छाला प्रत्यारोपण गर्नुपर्ने भयो, छाला न अस्पतालमा थियो न किन्न सक्ने आर्थिक अवस्था नै थियो उनको । केही सीप नलागेपछि उनलाई आफ्नै छोराले छाला दिए, त्यसपछि आमाछोरा दुवै अस्पताल भर्ना ।


हाल उनी फलोअप उपचारका लागि कीर्तिपुर अस्पताल धाइरहेकी छन् । उनी जस्तै नेपालमा बर्सेनि ५६ हजार व्यक्ति जलेर सिकिस्त बिरामी हुन्छन् । त्यसमध्ये २१ सयले उपचार अभावमा ज्यानै गुमाउँछन् । बाँचेका पनि अंगभंग भएका छन् । आगोले पोलेर गहिरो घाउ भएकालाई शल्यक्रिया गरी जलेको छाला निकालेर नयाँ छाला राख्नुपर्ने हुन्छ । न्यून बिरामीले मात्रै छाला पाउने गरेको कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विशेषज्ञ डा. शंकरमान राई बताउँछन् ।


भन्छन्, ‘कतिपय बिरामी आफ्नै छाला निकालेर घाउ पुर्छन्, ३० प्रतिशतभन्दा बढी जलेकालाई आफ्नै छालाले पुग्दैन, अरूले दिनुपर्छ ।’ जिउँदो व्यक्तिले छालादान गर्दा बिरामीका नजिकका आफन्तले मात्रै दिन मिल्छ । मृत शरीरबाट पनि छाला लिन सकिन्छ । छाला दान गर्नेको संख्या एकदमै न्यून छ । यसबारे चेतना नपुग्दा छाला दान हुन सकेको छैन । मृत शरीरको छाला प्रत्यारोपण गरी जलेका बिरामी बचाउन सकिन्छ ।


एउटा मृत व्यक्तिको छालाबाट ८० प्रतिशतभन्दा धेरै जलेका दुईवटा जीवन बचाउन सकिने डा. राई बताउँछन् । मृत शरीरको छाला विशेष प्रयोगशालामा राखेर पाँच वर्षसम्म टिकाउन सकिने अस्पतालको प्लास्टिक सर्जरी विभागका प्रमुख हेमन्तध्वज जोशीले बताए । यसका लागि कीर्तिपुर अस्पताल ‘स्किन’ बैंकको व्यवस्था छ, जुन अन्य सरकारी अस्पतालमा छैन । छालादान गर्दा रक्तस्रावसमेत नहुनेगरी माथिल्लो तहमात्रै निकालिने हुँदा यसले कुनै कुरूपता निम्त्याउँदैन ।


डा. राई भन्छन्, ‘सबैले यसबारे बुझेका छैनन्, दान गर्न मान्दैनन् ।’ विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड १० लाख जना व्यक्ति आगोले जल्ने गरेका छन् । जसमध्ये ३ लाख २० हजारले उपचार अभावकै कारण ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?