कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कृषिमा विषादीको प्रयोग घट्दै

हेटौंडा — मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै आएको विषादीको प्रयोग मकवानपुरमा क्रमश: घट्दै गएको छ ।

कृषिमा विषादीको प्रयोग घट्दै

तरकारी उत्पादनका लागि चर्चित मकवानपुरका दामन, पालुङ, चित्लाङ, बज्रवराही हाडीखोला लगायतका तरकारी उत्पादक कृषकले जैविक विषादी प्रयोग गर्न थालेकाले रासायनिक मल र विषादी प्रयोगमा कमी आएको हो ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका अन्तर्गत पर्ने दामन, पालुङ, बज्रवराही, टिस्टुङ र इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी, मार्खु, फाखेल तथा सिस्नेरीमा उत्पादन गरिएका तरकारीमा विषादीको अत्यधिक प्रयोग भएको र ती तरकारी मानव स्वास्थ्यको निम्ति प्रयोग गर्न हानिकारक हुने जानकारी पाएपछि कृषकहरू सचेत भएका हुन् ।

काठमाडौंस्थित तरकारी बजार कालीमाटीमा राखिएको विषादी मापनयन्त्रले मकवानपुरका कृषकले उत्पादन गरेका तरकारी उपभोग गर्न उपयुक्त नभएको देखाएपछि यस क्षेत्रमा उत्पादित तरकारीले केही समय बजार पाउन पनि सकेन । उक्त घटनाबाट पाठ सिकेर मकवानपुरका तरकारी उत्पादक कृषकले तरकारीमा रासायनिक विषादी प्रयोग गर्न कटौती गरेका हुन् । ‘यहाँका कृषकले रसायनिक विषादी प्रयोग घटाएका छन् ।’ भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका कृषि विकास महाशाखा प्रमुख निर्मल गदालले भने, ‘रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक विषादीको प्रयोगका बारेमा जानकारी दिने गरेकाले पनि कृषकले रासायनिक विषादी प्रयोग गर्न छाडेका हुन् ।’

मकवानपुरका हाँडीखोला, आमभञ्ज्याङ तथा दामन, पालुङ, आग्रा गाविसलगायत क्षेत्रका कृषकहरूले जैविक विषादी प्रयोग गर्न थालेका छन् । कृषि विकास कार्यालय मकवानपुरले अघिल्लो वर्ष जैविक विषादी प्रयोग गर्न कृषकहरूलाई सैद्धान्तिक ज्ञान दिनुको साथै जैविक विषादी बनाउन १ हजारभन्दा बढी ड्रम उपलब्ध गराएको थियो । विभिन्न गाउँका अगुवा कृषकले आफंैले जैविक विषादी उत्पादन गरेर विषादी प्रयोग गर्ने गरेका छन् । तरकारी वा खाद्य बालीमा रासायनिक विषादी प्रयोग गर्नुपरे कृषि प्राविधिकसँग सल्लाह लिने गरेका छन् । विगतमा विशेषगरी तरकारी उत्पादक कृषकहरूले देखासिकी र आफू खुसीमा विषादी प्रयोग गर्ने गरेका थिए ।

‘छिमेकीले तरकारीमा विषादी हालेपछि आफूले पनि हाल्ने गरेका थियौं,’ थाहा नगरपालिका १० का धनबहादुर गमालले भने, ‘अहिले प्राविधिकसँग सल्लाह लिएर मात्र रासायनिक विषादी प्रयोग गर्ने गरेका छौँ ।’ गतवर्ष अत्यधिक विषादीको प्रयोगको कारणले कालीमाटी बजारका थोक व्यापारीले यहाँ उत्पादित तरकारी खरिद नगरेपछि यस क्षेत्रका कृषकहरूले तरकारी खोलामा फालिदिने र बारीमा नै कुहियाउने गरेका थिए ।

तरकारी उत्पादन नै आम्दानीको मुख्य स्रोत रहेको मकवानपुरका उत्तरी क्षेत्रका बासिन्दाले अहिले २० देखि ३० प्रतिशत रासयानिक विषादीको प्रयोगमा कटौती गरेका छन् । थाहा नगरपालिकाका कृषि संयोजक सञ्जय तिवारीले भने, ‘विगतमा सेवा केन्द्रले गरेको रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक विषादी बनाउने तरिका तथा फाइदाबारे व्यापक रूपमा तालिम सञ्चालन गरेपछि रासायनिक विषादीको प्रयोग कम भइरहेको छ ।’

कृषकहरू तरकारी र खाद्य बालीमा प्रयोग गरेको विषादीको असर आफूहरूलाई पनि परेको महसुस गर्न थालेका छन । ‘रासायनिक विषादी हालेको तरकारी उपभोग गर्दा आफूहरूलाई पनि विभिन्न किसिमको रोग लागेको र असुरक्षित ढंगले तरकारी तथा खाद्य बालीमा विषादी हाल्दा त्यसको पनि आफ्नो स्वास्थ्यमा असर परेको उनीहरूले महसुस गर्न थालेका छन्,’ मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख गदालले भने, ‘तरकारी र खाद्य बालीमा प्रयोग गर्ने विषादीले आमउपभोक्ताभन्दा बढी सम्बन्धित कृषकहरू दोहोरो जोखिममा छन् ।’

प्रकाशित : चैत्र ८, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?