१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एक गाग्री पानी लिन दुई घण्टा

मकवानपुरका पूर्वी क्षेत्रमा पानीको चरम अभाव

हेटौंडा — मकवानपुरको पूर्वी क्षेत्रका बासिन्दालाई बिहान उठेदेखि सुत्ने बेलासम्म पानीकै पिरलो छ । पानी लिन बिहान ५ बजे गाग्री बोकेर हिँडेका स्थानीय महिला २ घण्टापछि एक गाग्री पनि लिएर फर्किन्छन् ।

बकैया गाउँपालिका १ दोभानकी ललिता थिङलाई चिन्ता नै पानीको छ । ‘पानीको समस्याले नै बसाइँ सर्नुपर्ने भइसक्यो,’ ललिताले भनिन्, ‘एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्छ ।’ उनको सात जनाको परिवार छ । गाई र बाख्रा पनि पालेकी छन् ।

पानीको अभावले गर्दा उनी गाई र बाख्रा दुवै बिक्री गर्ने सुरुमा छिन् । पानीको समस्या धियालको दोभानमा मात्र होइन, धियालको चाँदे कालापानी लगायत क्षेत्रमा पनि समस्या छ । नांगिँदै गएको चुरे क्षेत्र त्यसमा पनि भूकम्पले गर्दा झन् कैयाैं पानीका मुहान सुकेका छन् । धियालका ७० वर्षीय दिलबहादुर वाइबाले विगतको अनुभव र अहिलेको पीडा सुनाउँदै भने, ‘धियालमा पहिला पनि पानीको समस्या थियो, यत्तिको थिएन, भूकम्प गएपछि झन मुहान सुकेर पानी हाहाकारै छ ।’ जंगलछेउमा रहेका सासाना कुवाबाट कचौराले पानी उभाएर गाग्री भर्ने गरेका छन् । ‘एउटा कुवाबाट बढीमा ५/७ गाग्री पानी आउँछ,’ धियाल कालापानीकी चन्द्रमाया भोम्जनले भनिन्, ‘कुवामा बिहान ढिला पुग्यो भने पानी नै पाइँदैन, खाली गाग्री लिएर फर्किनुपर्छ ।’

बकैया गाउँपालिका १ र २ वडामा साविकको धियाल गाविस पर्छ । उक्त गाउँमा आधा दर्जन स्कुल छन् । पानीको अभावले गर्दा स्कुलका चर्पीहरू दुर्गन्धित छन् । धियाल मात्र होइन, बाग्मती गाउँपालिकाको राईगाउँमा पनि पानी अभाव छ । उक्त गाउँमा रहेको स्कुलमा पानीको अभावले गर्दा शौचालय बन्द गरिएको छ । स्कुलका शिक्षक र विद्यार्थी दिसापिसाब गर्न नजिकको जंगलमा जाने गरेका छन् । ‘बाग्मती गाउँपालिका १ र २ मा पर्ने राईगाउँमा पानी समस्या अत्यन्त चर्को छ,’ गाउँपालिकाका वडासचिव एवं स्थानीयवासी शुक्रबहादुर राईले भने, ‘राईगाउँभरि पानीको समस्या छ ।’

यसैगरी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले नगरवासीलाई पानी वितरण गरिरहेको छ । विगत चार वर्षदेखि व्यवस्थापन बोर्डले खानेपानीको जिम्मेवारी पाएपछि पानी वितरणमा सुधार आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले प्रतिदिन १ करोड २३ लाख २९ हजार लिटर पानी नगरवासीलाई वितरण गरिरहेको बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए ।

बोर्डले बिहान र बेलुका गरेर सरदर ५ घण्टा पानी उपलब्ध गराउने गरेको छ । १३ हजार ८ सय ३४ धाराबाट १ लाख ५ हजार बासिन्दाले पानी पिउने गरेका छन् ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?