कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अपांगता भएकालाई झनै सास्ती

शिल्पा कर्ण

काठमाडौँ — भीम सेजुवालका दुई खुट्टा काम नलाग्ने भए । मुगुका उनी राजधानी बस्न थालेको २० वर्ष नाघिसक्यो । भारतमा गाडी चलाउने काम गर्दैगर्दा दुर्घटनामा परे ।

अपांगता भएकालाई झनै सास्ती

उमेरले ३० छुँदाको उक्त घटनाले उनलाई ह्वीलचियरमा सीमित गरिदियो । काठमाडौंमा बसुञ्जेल उपचार पनि गरे, सक्ने काममा हात चलाएर कमाए पनि । अहिले खगेन्द्र नवजीवन केन्द्र नारायणटारमा बसिरहेका छन् । ह्वीलचियर प्रयोगकर्ता भए पनि उनी कसैको सहारामा हिँडडुल गर्न नपरोस् भन्ने चाहन्छन्, आत्मनिर्भर हुन चाहन्छन् ।

यहाँको सडक र फुटपाथको स्थितिले गर्दा उनलाई कसैको सहयोग नभई हुन्न । सेजुवाल भन्छन्, ‘गेटबाहिर निस्कनु गाह्रो काम हो । सडकको अवस्थाले गर्दा ह्वीलचियर बिग्रेको बिग्य्रै गर्छ ।’ खुट्टामा समस्या भएकाले चलाउने चारपांग्रे स्कुटर चालकलाई पनि सुख छैन । खगेन्द्र नवजीवन केन्द्र प्रमुख सूर्यकुमारी गुरुङले स्कुटर कोल्टे पर्ने, खाल्डोमा पछारिने बताइन् । हिँडडुल गर्न मात्र होइन, सवारी साधनमा चढ्नु पनि गाह्रै हो, ह्वीलचियर प्रयोगकर्ताका लागि ।

ट्याक्सीमा चढे मात्र हो, नत्र कहीँ पुग्नुपरे सार्वजनिक सवारी साधनले उनीहरूलाई चढाउन मान्दैन । हवीलचियर प्रयोगकर्ता चढ्ने गरी ढोका होचो पनि हुन्न । ‘ट्याक्सीमा पनि मान्दैनन्,’ सेजुवालले भने, ‘कीर्तिपुरसम्म जाने आउने गर्दा २५ सय लियो । जबकि हवीलचियर प्रयोगकर्ताको लामो समय एउटै आसनमा बसिरहँदा रगत जम्ने, घाउ हुने भएकाले समय समयमा अस्पताल पुगिरहनुपर्ने हुन्छ । सडकमा निस्किँदाको दृष्टिविहीनको समस्या पनि उस्तै छ ।

भद्रकालीबाट भृकुटीमण्डप जाने सडकमा आकाशे पुलनिरको टकटायल दृष्टिविहीनलाई सहयोग गर्नेभन्दा सास्ती दिने किसिमको छ । त्यहाँ बिछ्याइएको टकटायलले स्टिकको सहारामा हिँड्नेलाई एकातिर फुटपाथमै रहेको बिजुलीको खम्बातिर पुर्‍याउँछ, सँगसँगै त्यसलाई छलेर जान पनि निर्देशित गर्छ ।

यहीँनेर ठोक्किन पुगे दृष्टिविहीन सञ्चारकर्मी वासुदेव अधिकारी । दरबारमार्गमा पनि यस्तै गलत मार्गनिर्देश गर्ने गरी टायल बिछ्याइएको छ, जहाँ मार्ग पछ्याउँदै गए खम्बामा ठोक्किन्छ । ‘बागबजारबाट पुरानो बसपार्क जाने बाटोमा पर्ने फलामे आकाशे पुलको उचाइ निकै कम छ,’ नेपाल अपांग महिला संघकी सदस्य सरिता लामिछानेले भनिन्, ‘हामीजस्ता दृष्टिविहीनले पहिलोपल्ट त्यो बाटो हिँड्यो भने पुलमा टाउको ठोक्किन्छ ।’ उनको भनाइ छ, दृष्टिविहीनको समस्या समाधानका लागि टकटायल बिछ्याउनु प्रशंसनीय छ, तर व्यवस्थित नभएकाले सास्ती हुन्छ । टकटायल कतै उप्किएका छन्, कतै फुटेका छन् ।

कतै त्यहीँ इँटा, निर्माण सामग्री र फुटपाथ पसलेको नाङ्ले व्यापार चलिरहेको देखिन्छ । करोडौं खर्चेर एसियन डेभलपमेन्ट बैंकको सहयोगमा नेपाल सरकारले बिछ्याएको टकटायल औपचारिकता पूरा गर्न मात्र बनाइएको देखिन्छ । दृष्टिविहीन र हवीलचियर प्रयोगकर्ता मात्र होइन, सर्वसाधारणसमेत सडक र फुटपाथको अवस्थाले आजित छन् । मान्छे हिँड्न बनाइएको फुटपाथ पार्किङ र व्यापारिक थलो बन्न थालेपछि पैदलयात्री समस्यामा परेका हुन् ।

फुटपाथ ‘अतिक्रमण’ हुनुको अर्को कारण हो अव्यवस्थित पार्किङ । नगर प्रहरीले दिनभरि केही व्यस्त इलाकामा फुटपाथ पसले हटाउने, सामान जफत गर्ने, जरिवाना तिराउने काम गरे पनि बेलुका अवस्था उही हुन्छ । महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीले आफूसहित झन्डै २ सय प्रहरी दिनभरि खटिने गरेको बताए । महानगरले सामानको प्रकृति र परिमाण हेरीहेरी जरिवाना गर्छ । तर पनि स्थितिमा खासै सुधार आएको देखिन्न ।

नायब उपरीक्षक जोशीले भने, ‘किन्नेमा पनि सवारी साधनबाट नओर्ली सामान किन्न पाऊँ भन्ने इच्छा देखिन्छ । सुन्धारा वरपरका क्षेत्रमा जथाभावी पार्किङ हुन्छ जबकि नजिकैका तीन वटै मलको सशुल्क पार्किङ स्थल खाली हुन्छ ।’ महानगरपालिकाका अनुसार भवन निर्माणको नक्सा पास गराउँदा आवास वा संस्थागत कुन प्रयोजनका लागि हो भनी खुलाउनुपर्ने हुन्छ । आवास प्रयोजनका लागि भनी भुइँतलामा सटर हालेर भाडामा दिने क्रम बढ्दो छ ।

यस्तो गरे कुनै कारबाही हुन्छ कि हुन्न त ? महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य भन्छन्, यस्तो गर्न नहुने हो, तर भइरहेको छ । आवासीय प्रयोजनको संरचना निर्माणमा पनि पार्किङ र खुला ठाउँ हेर्ने गरिन्छ । संस्थागत प्रयोजनका लागि निर्माण गर्दा पार्किङ स्पेस झनै बढी राख्नुपर्छ । ‘सर्तअनुसार नै संरचनाको प्रयोग भए/नभएको नगर प्रहरीले अनुगमन गर्न सुरु गरेका छन् । यसको तथ्यांक संकलनका क्रममा छौं,’ सूचना अधिकारी आचार्यले भने ।

ग्राउन्ड फ्लोरमा पार्किङ बनाउनेलाई माथि एक तला थप्न पाउने सुविधा महानगरले दिएको छ । न्युरोड, पाकोतिरका व्यापारी एकाबिहानै आएर नि:शुल्क पार्किङ छुट्याइएको स्थानमा सवारी साधन पार्क गर्ने गर्छन् ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?